१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कांग्रेस बदल्ने केन्द्रीय सदस्यका उम्मेदवार सिटाैलाकाे याेजना






मेदनी सिटाैला

प्रिय महाधिवेशन प्रतिनिधि ज्युहरु,

हामी चौधौं महाधिवेशनको संघारमा छौ। नेपाली काङ्ग्रेसको ऐतिहासिक पृष्ठभुमि,गौरवशाली इतिहासको आलोकमा कस्तो काङ्ग्रेस बनाउने?त्यसका मानकहरु स्थापित गर्नु यो अधिबेशनका मुख्य कार्यभार र चुनौती हुन्।
हरेक अधिबेशनहरु नयाँ नयाँ मुद्दा,नारा,समस्याका चाङ लिएर आए गए तर ती मुद्दा ,नारा र समस्या का चाङमा रत्तिभर फरक र सुधार पाइएन,देखिएन।त्यसैले अब चै संकल्प गरौ ।सहि नेतृत्व चयन गर्ने प्रण गरौ।
नेपाल देश, हाम्रो माटोको सफत खाऔ।देशहित,मानवकल्याण,जनता र काङ्ग्रेसलाई शिरमा राखौ। व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर संकल्प गरौ : ‘बदलिन्छौ हामी,बदल्छौ काङ्ग्रेस ,सुधार्छौ पार्टी बनाउछौ देश ‘

कांग्रेसका सुधारका लागि हजार बुँदाको प्रस्ताव तयार पार्न सकिन्छ, योजना बनाउन सकिन्छ । तर, त्यो तबसम्म अर्थहीन हुन्छ जबसम्म हामी स्वार्थ त्याग गर्न सक्दैनौं । संस्था कुनै वस्तु होइन, संस्था भनेको व्यक्तिहरुको सामूहिक अभिव्यक्ति हो । व्यक्तिमा विकार भएपछि, राजनीतिक चरित्रमा ह्रास आएपछि, क्षुद्र स्वार्थमा लागेपछि संस्थामा निरासा छाउँछ नै । अहिले नेपाली कांग्रेसमा भएको यहि हो। तपाईंहरुले गर्नुपर्ने पहिलो काम कांग्रेसलाई लागेको रोग पहिचान गर्ने हो । रोग पहिचानमै समस्या देखिँदै आएको छ । समस्या आफूमा नदेख्ने अरुमा मात्र देख्ने प्रवृत्तिका कारण रोग पहिचानको काम जटिल बन्दै गएको छ ।

पार्टीको आजको दुरावस्था बिना कारण भएको होइन, तर यसमा कसैले जिम्मेवारी नलिएको गम्भीर अवस्था छ ।
भगवान शिवले कालकूट विष पिए झैं कसैले आजको दुरावस्थाको जिम्मेवारी लिइदिएदेखि सबै समस्याको समाधान हुन्छ भन्ने भ्रामक अवधारणा पनि व्याप्त छ । कालकूट विष पिउन भने कोही तयार छैनन् । शिवजी अचानक प्रकट हुन्छन् र कालकूट विष पिउँछन् भनेर पर्खने शैलीको काम सभापतिहरुको भेलाले नगरोस् ।
मेरो विचारमा पार्टीलाई कुनै एउटा रोगमात्र लागेको छैन, धेरैवटा रोग लागेको छ । त्यसैले उपचार पनि बहुआयामिक हुन आवश्यक छ ।

कांग्रेसको अंगअंगमा फैलिएका रोग निम्न हुन्

१) निजी स्वार्थ, सिर्फ स्वार्थ, सिर्फ स्वार्थ

२) अरुलाई आरोप लगाएर आफू चोखो देखिने प्रवृत्ति

३) आलोचना नगर्ने आरोप मात्र लगाउने । आरोपलाई नै आलोचना ठान्ने

४) बहस नगर्ने गाली मात्र गर्ने । गालीलाई नै बहस ठान्ने

५) त्याग नगर्ने, प्राप्तिका लागि मात्र मरिहत्ते गर्ने

६) देशभन्दा माथि पार्टी हो, पार्टीभन्दा माथि आफ्नो गुट हो, गुटभन्दा माथि आफ्नो उपगुट हो, उपगुटभन्दा माथि आफू हो र आफ्नो स्वार्थ नै सर्वाेपरी हो भन्ने खालको व्यवहार गर्ने

७) कांग्रेसको अतितको गौरव देख्ने तर भविष्यको सम्भावना नदेख्ने

८) कोही रिसाउँछ कि, आफ्नो कुनै स्वार्थमा असर गर्छ कि भनेर प्रष्टसँग विचार नराख्ने

९)आन्तरिक लोकतन्त्रको सर्वथा अभाव र विधि बिधानको कसैले पनि पालन नगर्ने

१०) सरकारमा बस्नु नै सबैथोक हो, प्रतिपक्षमा बस्नु भनेको समाप्त हुनु हो भन्ने ठान्नु

११) देशमा व्याप्त भ्रष्टिकरणका विरुद्ध उभिन नसक्नु, आफै भ्रष्टाचारको दलदलमा फस्नु

१२) मानव कल्याण, समाज कल्याण तथा देशको कल्याणलाई केन्द्रमा राख्न नसक्नु

१३) राष्टियताको मामिला सहित तत्कालीन परिवेशका जल्दावल्दा समस्याहरुमा समयमै प्रष्ट दृष्टिकोण राख्न नसक्नु

१४) पार्टीभित्र व्याप्त भाँडभैलो, वेथिति, खुट्टा तानातान र गालीगलौजको राजनीतिलाई नै आन्तरिक लोकतन्त्र ठान्ने भ्रम व्याप्त हुनु

१५) पार्टी भनेको सुव्यवस्थित संगठन हो तर अव्यवस्थित र लथालिंग भीडलाई नै पार्टी ठानिनु

१६) प्राइभेट लिमिटेड जस्ता गुट उपगुट तथा व्यक्ति केन्द्रीत ससाना समूहहरु पार्टीभित्र निर्णायक हुनु, तिनै समूहहरुको भागवण्डाको तराजुमा न्यायको हत्या गरिनु

१७) पद र अवसरहरु खरीद विक्री गरिनु,न्यायपुर्ण बितरण नगरिनु

१८) योग्यता क्षमता उपेक्षित तर नातागोता पुरस्कृत हुनु
१९) पूराना, त्यागी, संघर्षशील, इमानदार, निष्ठावानहरुलाई बेवास्ता गरिनु ।

महाधिवेशन प्रतिनिधि ज्युहरु

मैले इंगित गरेका यो सूचीमा अन्य धेरै रोग पहिचान गर्न र थप्न सकिन्छ । पार्टीका अंग्रप्रत्यंगमा फैलिएका रोग यिनै हुन् र यी बाहेक अन्य रोग पनि छन् भनेर पहिचान गर्न र स्वीकार गर्न तयार हुनुहुन्छ ?

पार्टीमा आजसम्म क्रियाशील रहँदा मैले अनेकौं गल्ती गरेको थिएँ, स्वार्थी बनेको थिएँ, मानव कल्याणको विराट भावनाबाट च्यूत भएर निजी स्वार्थमा लिप्त भएको थिएँ । गुट र उपगुट नै सर्वाेपरी हो, आफ्नो निजी स्वार्थ नै मुख्य हो भन्ने कुविचारबाट प्रेरित भएर कार्य गरेको थिएँ । मैले अरुलाई विभिन्न आरोप लगाएको थिएँ तर आफ्नो गल्ती चाहिँ लुकाएको थिएँ । बहसका नाममा विवाद गरेको थिएँ, आलोचनाको नाममा आरोप र गाली अँगालेको थिएँ । पार्टीको आजको दुरावस्थामा मेरो पनि हिस्सेदारी छ । यस्ता कर्म, विचार र भावनाबाट मुक्त हुने संकल्प लिएको छु । मानव कल्याण, देशको कल्याण र समाजको भलाईमा आफूलाई समर्पित गर्दै निजी स्वार्थ त्यागको संकल्प लिएको छु ।

मिल्ने भए सम्पूर्ण दोषहरु आफ्नो शिरमा लिएर कालकूट विष पिउन म तयार छु तर यसले कुनै समाधान दिदैन।

कांग्रेसको भविष्य छ तर अहिले कांग्रेसमा जागरणको भावना छैन, उत्साह छैन । उत्साह नेतृत्वले जगाउनुपर्ने हो । नेतृत्वले त्यसो गर्न सकिरहेको छैन । नेतृत्व परम्परागत शैलीमै चलिरहेको छ । पार्टीभित्र नयाँ पुस्ताको शशक्त उदय भइसकेको छ तर उनीहरु पूरानो पुस्ताको छायाँमै रमाइरहेका छन् । जनताले, कार्यकर्ताले नयाँपन खोजिरहेका छन् । पार्टीपंक्तिमा उर्जा सिर्जना गर्ने रणनीति र कार्यनीति खोजिरहेका छन् । यस्तो उर्जावान नेतृत्व कांग्रेसको अहिले केन्द्रमा देखिएकाहरुले प्रदर्शन गर्न सकिरहेका छैनन् ।

त्यसैले काङ्ग्रेसलाई यी यावत विकृति र विसङ्गती बाट मुक्त गर्दै तरुण ,विध्यार्थी र आधा आकाश ढाकेका महिला अनि सम्पुर्ण दलित ,अल्पसंख्यक ,उपेक्षित समुदायको प्रिय पार्टी बनाउन मेरो बिशेष योगदान रहने बिश्वास दिलाउदै,

यो पार्टीलाई युग सुहाउँदो ,परिबर्तित ,रुपान्तरित ,आधुनिक र बिपि कोइरालाले परिकल्पना गरेको आदर्श पार्टी बनाउन मैले आफुलाइ केन्द्रिय सदस्य पदमा उम्मेद्बारी दिने निर्णय गरेको छु।

२०४६ शालको जन आन्दोलनमा प्रहरी हिरासतमा परी अमानवीय यातना खेप्दै शुरु भएको मेरो राजनीतिक जीवन नेपाल ल क्याम्पस काठमाडौको इकाई अध्यक्ष ,स्वबियुको प्रत्यासी,नेबि संघ केन्द्रिय उपाध्यक्ष ,तरुण दल केन्द्रिय सदस्य ,महासमिति सद्स्य हुँदै झापा निर्वाचन क्षेत्र न ५ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको छु।

यो लामो र कठिन राजनीतिक यात्राको क्रममा धेरै दिग्गज नेता र साथिभाईको सम्पर्कमा रहदा, बस्दा कुनै पनि लाभका पदले आकर्षित गरेन जसरी नि पैसा कमाउनु पर्छ भन्ने कुराले त झनै छुदै छोएन। जिन्दगीको यो यात्राको क्रममा दुख ,कष्ट र अभावका अनेक घुम्ती ,उकाली ,ओराली पार गर्दै गर्दा रत्तिभर बिचलित भइन।

अन्त्यमा मैले मेरो राजनीतिक जीवन निष्ठा र इमान्दारी पुर्वक देश ,लोकतन्त्र ,जनता र पार्टी प्रति नै समर्पित रह्यो रहनेछ भन्दै गर्दा यहाहरुको मत खेर जान नदिने संकल्प पनि गर्द्छु। तपाईंको अमुल्य मत ,साथ,सहयोग र समर्थको अपेक्षा गर्दछु।तपाईंको एक मत मेरो राजनीतिक जीवन,काङ्ग्रेसको भाग्य र भविस्य सङ गासिएकोले अत्यन्तै महत्त्वपूर्ण छ ।जय नेपाल !!!

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ३८ बजे