१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

आन्दोलन थप चर्काउँदै शिक्षक, सबै शिक्षक र कर्मचारीलाई काठमाडौँमा आउन अपिल



काठमाडौँ १५, वैशाख । आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको  नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने बताएको हो ।

अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रूर दमनको विरोधमा आफूहरूसँग उभिन हामी सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपालीलाई अपिल गरेका छन् । उनले एक विज्ञप्तिमा जारी गर्दै भनेका छन्, ‘नेपाली शिक्षक-कर्मचारीहरू अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने कुरा पुनः उद्घोष गर्दै देशभरका सबै शिक्षक-कर्मचारी साथीहरूलाई आफ्ना साथीहरू माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौँ आइ आन्दोलनमा सहभागी हुन जोडदार अपिल गर्दछौँ ।’

आइतबार शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरू पसेर ढुङ्गामुढा गरी स्थिति भड्काऊ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक-कर्मचारीमाथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको महासंघको आरोप छ । बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक तथा कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको छ । 

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ०६ बजे