
दमक१४, बैशाख / नेपाल शिक्षक महासङ्घको आह्वानमा विगत २६ दिन देखि काठमाडौँमा जारी सडक आन्दोलनका क्रममा शिक्षकहरू माथि आज आइतवार भएको प्रहरी दमन विरुद्ध झापाको दमक स्थित गणतन्त्र चोकमा शिक्षकहरूले प्रदर्शन गरेका छन् ।
काठमाडौँमा आफ्ना आन्दोलनरत शिक्षकहरू माथि गरिएको प्रहरी दमन विरुद्ध प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका शिक्षकहरूले विरोध प्रदर्शन गरेका हुन् ।
जिल्लाको माइपश्चिमका पालिकाहरूमा कार्यरत शिक्षकहरू दमकको गणतन्त्र चोकमा भेला भएर सरकार विरुद्ध नाराबाजी गर्दै शिक्षकहरू माथि गरिएको प्रहरी दमन विरुद्ध चर्को विरोध प्रदर्शन गरेका थिए ।
झापाको माइपश्चिमका दमक, कमल गौरादह र गौरीगंज पालिकाका सयौँ शिक्षकहरू उक्त विरोध प्रदर्शनमा सहभागी भएका थिए ।
झापाको माइपश्चिमका ४ वटै पालिकाका नेपाल शिक्षक महासङ्घका अध्यक्षहरूले विरोध कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा ऐन जारी नभएसम्म निरन्तर रूपमा पालिका स्तरमा पनि आन्दोलनका कार्यक्रमहरू सुरु गर्ने घोषणा गरेका छन् ।
आज आयोजित उक्त विरोध कार्यक्रमले ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा क्षेत्र न ५ को निर्वाचन क्षेत्र स्तरीय आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ । उक्त नव गठित आन्दोलन परिचालन समितिको पहिलो विरोध कार्यक्रम स्वरूप भोलि सोमवार दिउँसो ११ः०० बजे दमक चोकमा भेला भएर विरोध सभा गर्ने जानकारी दिएको छ ।
सोही अनुसार प्रत्येक पालिकामा नियमित रूपमा निरन्तर विरोधका कार्यक्रमहरू तय गरिने आन्दोलन परिचालन समितिले जनाएको छ ।
आज भएको विरोध कार्यक्रममा उपस्थित शिक्षकहरूले काठमाडौँमा जारी शिक्षक प्रदर्शनमा सहभागी भएर फर्कने क्रममा केही दिनअघि तनहुँ जिल्लामा सबारी दुर्घटनामा परि दिगम्बत् भएका गण्डकी प्रदेश मनाङ जिल्ला नासो गाउँपालिका जन विकास आधारभूत विद्यालयका प्र।अ। मन घलेको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै १ मिनेट मौनधारण समेत गरेका थिए ।
त्यसैगरी काठमाडौँमा आज भएको प्रहरी दमनमा एक पत्रकारसहित ६३ जना शिक्षक तथा कर्मचारीहरु घाइते भएका छन् । सरकारसमक्ष घाइते शिक्षकहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गर्दै घाइते शिक्षकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
साथै काठमाडौँ आन्दोलनबाट फर्कने क्रममा झापाको माईधारामा शनिवार बिहान भएको सबारी दुर्घटनामा परि घाइते भएर उपचाररत रहेका शिक्षकहरूको स्वास्थ्यलाभको कामना समेत गरे ।