१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

गौरीगंजका राजनैतिक धरोहर घनश्याम रिजाल रहेनन्, को थिए रिजाल ?



गौरीगंज १४, वैशाख / गौरीगंज क्षेत्रका राजनैतिक धरोहर तथा नेपाली कांग्रेसका पुराना एवं इमानदार छवी बनाएका नेता घनश्याम रिजाल रहेनन् । ७२ वर्षको उमेरमा आज उनको निधन भएको छ । लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पिडित रिजाल उपचारका क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिव शरीरलाई बेलुका ५ वजे नजिककैको गौरीया खोलाको घाटमा अन्त्येष्टि गरिएको छ ।

राजनीतिक यात्रा : इमान र निष्ठामा आधारित
पिता गोपाल प्रसाद रिजाल र माता पदमा देवी रिजालका छोरा स्व. घनश्याम रिजालको वि.सं. २०१० साल मंसिर ८ गते जन्मिएका उनी सानै उमेरदेखि राजनीतिकमा रुचिराख्ने भद्र, शालिन एवं एक सच्चा नागरिकका रुपमा छबी बनाएका थिए । वि.सं. २०२८ सालमा भारतको फुलबडिया बजारमा नेपाली कांग्रेसका नेता पूर्व प्रधानमन्त्रि स्व. गिरिजा प्रसाद कोइरालासँग सम्पर्कमा आई आफ्नो राजनैतिक जिवन प्रारम्भ गरेका थिए ।
२०३६ सालको जनमत संग्रहमा आदर्णीय नेता सिके प्रसाईसंग सम्पर्क गरी बहुदलका पक्षमा वकालत गर्ने गरेका स्व. रिजाल राजनैतिक छबीका रुपमा आफूलाई स्थापित गरिसकेका थिए । उनी २०४१ साल पौष १६ गते हाई स्कुलको विवादमा परी पंचहरुको जालझेलले चन्द्रगढी कारागारमा जेल जिवन विताएका थिए । २०४२ सालको सत्याग्रह आन्दोलनमा ९ जना साथीहरुसहित जेल भरो आन्दोलनमा सहभागी भई पुलिसको यातना खेपेका थिए । विभिन्न कालखण्डमा पुलिसको हिरासतमा परी यातना सहदै स्व. रिजाललाई प्रवासमा समेत वस्न बाध्य बनाइएको थियो । सामाजिक परिवेसमा गरिब दुःखी तथा असहायको पक्षमा जहिल्यै निडर निर्धक्क र न्यायका पक्षमा जहिल्यै उभिने स्व. रिजाल एक सच्चा देशभक्त, इमानदार एवं सालिन व्यक्तिका रुपमा चर्चित बनेका थिए ।

प्रजातन्त्र स्थापनाकै पक्षमा २०३१ सालमा झापा कांग्रेस समिति गठन भएको थियो । सभापतिमा सि.के. प्रसाई, सचिवमा पूर्णानन्द शर्मा, सदस्यहरुमा अम्बिकाप्रसाद रिजाल, डिल्लीप्रसाद सिटौला, कृष्ण सिटौला, तुर्सा हेमरम, तुलाराम पटवारी, चक्रप्रसाद बास्तोला र डा. डी.आर. प्रधान, हेमकुमार थापा, रत्नकुमार कार्की, रत्नबहादुर थापा, मानबहादुर प्रसाई, जितबहादुर पुरी, डिल्ली सेढाई थिए ।
२०३१ सालमा गठन भएको यस समितिले दश बर्षसम्म काम गरेको देखिन्छ । यस दश बर्षभित्रमा देशमा थुप्रै राजनीतिक गतिविधिहरु, प्रजातन्त्र स्थापनाकै पक्षमा भएका थिए । यस समितिले सबैभन्दा प्रमुख कार्य जनसम्पर्क र गोप्यरुपमा पार्टी संगठनको विस्तार गरेको थियो । यसै अवधिमा जनमत संग्रहको घोषणा र चुनाव पञ्चायतको जित र कांग्रेसबाट आम चुनावको बहिष्कार आदि कामहरु भएका थिए । २०३७ सालको जनमत संग्रहको प्रचार कार्यले झापा कांग्रेसको सङ्गठनलाई एकाएक ठूलो ऊर्जा प्राप्त भएको र कांग्रेसको शक्ति अनौठो ढङ्गले बढ्न गएको थियो । जनमत संग्रहको बेला सुधिरकुमार शिवाकोटीले कुशलतापूर्वक पार्टी कार्यालय सञ्चालन गरेका थिए । २० बर्षसम्म कुण्ठित रहेको राजनीतिक गतिविधिले एकाएक निकास पाएको थियो र नयाँ पुस्ताको पनि ठूलो प्रवेश हुन पुगेको थियो ।
२०४१ साल मंसिरमा उक्त जिल्ला समिति पुनर्गठन भएको थियो । जसको सभापतिमा पूर्णानन्द शर्मा, उपसभापतिमा तुर्सा हेमरम, सचिवमा डिल्लीप्रसाद सिटौला, सहसचिवमा बालगोपाल पोखरेल, कोषाध्यक्षमा जीतबहादुर पुरी, सदस्यहरुमा घनश्याम रिजाल,चक्रप्रसाद बास्तोला, सुरेश बास्के, डा. गोपाल कोइराला, , अम्बिका रिजाल, विष्णुभक्त पोमु, रामबहादुर डाँगी, बुद्धिमान राजवंशी, चन्द्रप्रसाद अधिकारी, मेघराज चौंलागाई, दधिराम चुडाल, रामबाबु प्रसाई, डा. शंकर उप्रेती, वीरमणि ढकाल, रत्नकुमार कार्की, सूर्यप्रसाद दाहाल, सिके प्रसाई, टिकाप्रसाद प्रसाई, मेघराज चम्लागाई, भक्तबहादुर खड्का, हरि शर्मा, नरेन्द्र नेम्बाङ, कृष्णप्रसाद सिटौला, फत्तेबहादुर बुढाथोकी, कृष्ण सिटौला, हेमकुमार थापा, रत्नबहादुर थापा, तिलविक्रम नेम्बाङ र शशि शर्मा उप्रेती थिए ।

यो समिति पुनः पुर्णानन्द शर्माकै नेतृत्वमा २०४४ सालमा पुनर्गठित हुँदा सचिवमा चक्र बास्तोला, सदस्यहरुमा उत्तम सुवेदी, देवनारायण राजवंशी, सन्तोषकुमार मेनेङबो, बाबुलाल मर्डी, सूर्यनारायण ताजपुरिया, ध्रुव सेढाई, सुरेन्द्र प्रसाई, उद्दिम उप्रेती, शंकर विक्रम नेम्बाङ, पर्शुराम शर्मा भण्डारी, सोमनाथ खनाल, केदारनाथ ढकाल थपिएका थिए ।
सो समितिले आफ्नो कार्यकालमा सत्याग्रह आन्दोलनको नेतृत्व गर्नुपरेको थियो । झापामा २०४२ सालको सत्याग्रहमा कार्यकर्ताहरुलाई काठमाडौं जान प्रेरित गर्ने तथा जिल्लामा समेत आन्देलन सञ्चालन गर्ने काम गरेको थियो । सत्याग्रह आन्दोलनका सन्दर्भमा झापा जेलमा बन्दी बनाइएका ब्यक्तिहरुमा सि.के. प्रसाई, पूर्णानन्द शर्मा, डिल्लीप्रसाद सिटौला, रत्नकुमार कार्की, पर्शुराम भण्डारी, तुर्सा हेमरम, जितबहादुर पुरी, डा. शंकरप्रसाद उप्रेती, कृष्णप्रसाद मिश्र, खड्ग प्रसाई, तिलक सिटौला, सुधिर शिवाकोटी, उद्दिम उप्रेती, धर्मकला प्रसाई, दिब्या प्रसाई, दधिराम चुडाललगायत करिव साढे दुई दर्जन जेल परेका थिए ।
यस सिलसिलामा २०४५ सालमा पार्टीको जिल्ला समितिलाई पुनर्गठन गरियो । पुनर्गठित समिति जसको सभापतिमा रामबाबु प्रसाई, उपसभापतिमा कृष्णप्रसाद सिटौला, सचिव वीरमणि ढकाल, सहसचिव डा. गोपाल कोइराला र सोमनाथ खनाल, कोषाध्यक्षमा जितबहादुर पुरी, सदस्यहरुमा घनश्याम रिजाल,चक्रप्रसाद बाँस्तोला, पूर्णानन्द शर्मा, डिल्लीप्रसाद सिटौला, अम्बिकाप्रसाद रिजाल, तुर्सा हेमरम, सि।के। प्रसाई, रत्नबहादुर थापा, रामप्रसाद तिम्सिना, रामबहादुर डाँगी, सुदामाप्रसाद राजवंशी, हेमकुमार थापा, देवनारायण सिंह राजवंशी, टिकाप्रसाद प्रसाई, एकनाथ पोखरेल, सन्तोष मेनेङ्बो, बाबुलाल मर्डी, सूर्यनारायण ताजपुरिया, ध्रुव सेडाई, , डा. गोपाल कोइराला, गरुणध्वज बस्नेत, डा. गोकुलराज अमात्य, लक्ष्मीप्रसाद सेढाई, गोपालकुमार बस्नेत, लिलक सिटौला, भगिरथ घिमिरे, ढुण्डिराज घिमिरे, वीरमणि ढकाल, सुरेन्द्र प्रसाईं, तिलविक्रम नेम्बाङ, पर्शुराम शर्मा थिए ।
नेपाली कांग्रेसको आठौं कलवलगुढी महाधिवेसन देखि १३ औं महाधिवेसन सम्म स्व. रिजाल कहिले महाधिवेशन प्रतिनिधि त कहिल्यै महासमिति सदस्य भएर पार्टीको गतिविधिलाई निरन्तर चलायमान बनाएका थिए । पार्टी प्रतिको लगाव र झुकाव अनि जनताको विश्वास जितेकाले स्व. रिजाल २०४८ सालमा गौरीगंज गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी त्यसै वखत गौरीगंज माविको अध्यक्ष समेत रहेका थिए ।
किसानहरुको हकहितको लागि नेपाल सरकारसंग सम्झौता गरी गौरीगंजमा तल्लो किस्नी खोला सिंचाई आयोजनामार्फत १५०० हेक्टर जग्गामा सिंचाईका लागि उपभोक्ता समितिका अध्यक्ष बनेका थिए ।

गौरीगंज गाउँपालिका बनाउन उहाँको ठुलो योगदान थियो
सादा जिवन, उच्च विचारका धनी आफ्नो स्द्विान्तलाई अक्षरश पालना गर्ने स्व. रिजाल गौरीगंज गाउँपालिका बनाउन उनको ठुलो योगदान रहेको छ । गौराहद नगरपालिकासंग मिलाउनु पर्छ भन्ने हल्ला चलेकै बेला उनको अडान र अडिकले गौरीगंजलाई स्थानिय जनभावना अनुरुप अलगै गाउँपालिका बनाउन सशक्त आवाज उठेको थियो । गौरीगंज ऐतिहासिक बजार भएको र गौरीगंजको अस्तित्वलाइ कसैसँग पनि बिलय गराउनु हुदैन भन्ने भावना बोकेर उनकै नेतृत्वमा स्व. उदयलाल यादव, फूलवती राजवंशी, आत्माराम राजवंशी, गंगा राजवंशी, पाण्डव झालगायत नेपाली कांग्रेसका अग्रज नेता तथा कार्यकर्ताको अठोट र अडानले २०७३ साल फागुनमा यहाँका ४ वटा गाबिस मिलाएर गौरीगञ्ज गाउँपालिकाले आफ्नो अस्तित्व जोगाउन सफल भएको थियो । काँग्रेस पार्टीकै सँगठन विस्तारमा आफ्नो सारा जीवन उत्सर्ग गर्नुभएका पुराना नेता रिजाललाइ पछिल्लो समय उहाँ २०७९ को स्थानिय तहको चुनाब ताका नेपाली काँग्रेस परित्याग गरि जनता समाजबादी पार्टीबाट अध्यक्षको उम्मेदवार बन्नु भएको थियो भने पछिल्लो समय उहाँ एमालेमा प्रवेश गर्नु भएको थियो । आज उहाँको निधनले आम गौरीगंजवासी स्तब्ध एवं शोकमा डुबेको छ । उहाँको आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्वान्जली ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : ०१ बजे