१० माघ २०८२, शुक्रबार | Sat Jan 24 2026

राजावादीप्रति ओलीको आक्रोश– नयाँ भन्नेहरु सहकारी र बैंकको ठगहरु रहेछ



झापा, चैत ३० । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुप्रति तीब्र आक्रोश व्यक्त गरेका छन् । राजावादीहरुको विरुद्धमा झापाको दमकमा आज आयोजित पार्टीको जनजागरण सभालाई संबोधन गर्दै ओलीले विभिन्न बहानामा देशलाई अस्थिरतामा लैजाने तमासा गरिरहेको आरोप लगाए । राजनीति भनेको थाहै नपाएका ढुंगा हान्न जानेकाले देश चलाउँछु भनेर उधुम मच्चाएको बताउँदै उनले ड्राइभिङ चलाउन नजानेकोले राम्रोसँग गाडी चलाउँछु भनेर जनतालाई छक्याएको आरोप लगाए । ‘दुई–चार मान्छेले राजा फर्काउछौं भन्दा गाडीको हुटमा चढेर हात हल्लाउँदै हिडेको पनि देखियो ’प्रधानमन्त्री ओलीले भने , ‘यी कस्ता तत्व हुन् भन्ने कुरा चैत १५ गते काठमाडौंको तीनकुनेमा देखियो । ठुला कुरा गर्नेहरु रक्सी चोर्दै भाग्दै हिडेको,स्याउ चोर्दै हिडेको देखियो ।’

राजावादी आन्दोलनका नाममा अराजक र हिंसात्मक गतिविधि गर्नेहरूलाई प्रधानमन्त्री बनाउनुभन्दा पशुपतिका बाँदरलाई प्रधानमन्त्री बनाउँदा उपयुक्त हुने बताए ।

दमकमा बनाइएको बिजनेस कम्प्लेक्सलाई भ्यु टावर भनेर मान्छेहरुले उडाउने गरेको उनको दुखेसो थियो । नयाँ भन्नेहरुको असली अनुहार देखिएको बताउँदै उनले सहकारी ठग र बैंक ठगहरुको असली अनुहार १५ गते उदांगो भएको दावी गरे ।

दमक –७ पशुहाटस्थित खुल्ला चौरमा एमाले कोशी प्रदेश कमिटीको आयोजनामा कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा जागरण सभा भएको हो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल,कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टी केन्द्रीय उपाध्यक्ष गुरु बराल, केन्द्रीय सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु भीम आचार्य, शेरधन राई, पार्टीका नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो । एक लाख जनमास उतार्ने एमालेले दावी गरिरहँदा करिव ८ हजार जनाको उपस्थिति रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ८ : ५८ बजे