
झापा, चैत ३० / बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईका लागि अंगरक्षक दिपक खड्काले पटकपटक कुटाइ मात्र खाएनन् , दुर्गासंगै पक्राउ खाँदै उनी जेलनेल भोग्नसमेत तयार भएका छन् । उनले दिएको बलिदानीलाई हेर्दा उनी सच्चा वफादार हुन् । दुर्गा प्रसाईंको लागि जस्तोसुकै योगदान दिनसक्ने र साथ नछोड्ने दिपकको साँचो वफादारीको प्रमाण हो । इमानदारीताका साथ कर्तंव्य पालना गर्दै आएका दिपक दुर्गाका हरेक अपराधको भागिदार बनेका छन् । पछिल्लो पटक कमाण्डर दुर्गाले चैत १५ गते तीनकुनेमा गराएको हिंसात्मक घटनामा बराबरी भूमिका निर्वाह नगरेपनि दिपकले दुर्गाको अपराधको बराबरी हिस्सा स्वीकारेका छन् । दुर्गांसंगै उनी आज पक्राउ परेका छन् । दुवैलाई एउटै कसूरमा अदालतबाट म्याद थप गरिएको छ ।
यस पटक मात्र होइन , गत वर्ष चैत ५ गते दुर्गा प्रसाईंको सुरक्षार्थ सर्वोच्च अदालतबाट उनी हतियारसहित पक्राउ परेका थिए । केही दिन प्रहरी हिरासतमा बसेर उनी छुटेका थिए ।
दुर्गाका लागि कुर्बानी दिने को हुन् दिपक ?
झापा बुद्धशान्ति गाउँपालिका –३ स्थित बुधबारे घर भएका ५१ वर्षीय दिपक २०५२ साल जेठ महिनामा नेपाली सेनामा सैन्य दर्जामा भर्ना भएका थिए । तत्कालीन भवानी दल गुल्म हुँदै हालको भवानी दल गणमा सिपाही दर्जामा कार्यरत रहि १६ बर्ष उनले जागिर पुरा गरेका थिए । उनले २०६८ सालमा गुल्म प्रबन्ध हुद्धा दर्जामा नेपाली सेनाबाट अवकाश लिएका थिए । त्यसपछि बिगत ६ बर्षदेखि उनी बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंका निजी सुरक्षा गार्डको रुपमा कार्यरत रहेका छन् ।उनका श्रीमती र २ छोरी रहेका छन् ।

सबैले छोडेपनि उनले साथ छोडेनन्
बीएण्डसी अस्पताल खोलेपछि दुर्गासंग धेरैले संगत गरेका थिए । दुर्गाको स्वभावका कारण उनीसंग संगत गर्नेहरु धेरै दिन टिकेनन् । दुर्गाले राम्रोदेखि नराम्रो कामका लागि पनि उनका सहयोगीहरुलाई लगाएको विभिन्न घटनाले देखाएको छ । दुर्गाकै लागि अपराध गर्दा ज्यान मुद्धामा यसअघि ९ जना जेल परेका छन् । दुर्गाको संगत धेरैले छोडेपनि दिपकले चाहिँ छोडेनन् । बीएण्डसी अस्पताल र त्यसपछि राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानका लागि दुर्गालाई साथ दिँदै आएका दिपकले अब कारागारभित्र पनि साथ दिने भएका छन् । (प्रतिदिन दैनिकबाट साभार)