१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी समुदायलाई अपुर्णिय क्षति, सामाजिक अभियन्ता रामबहादुर राजवंशीकाे निधन


१४ चैत्र २०७७, शनिबार  

0
Shares

झापा १४, चैत /  राजवंशी समुदायले एकजना बहु प्रतिभाशाली सामाजिक अभियन्ता गुमाएको छ ।

समाजको उत्थानका लागि मरिमेट्दै आएका बाह्रदशी ५ का रामबहादुर राजवंशीको ७१ वर्षको उमेरमा बिहीबार निधन भएको हो । शिक्षण पेशाबाट अवकाशप्राप्त राजवंशीले धेरै क्षेत्रमा योगदान दिएका थिए । जातीय संस्कार संस्कृति जगेर्नाका लागि उनको नेतृत्वमा अभियान नै संचालन गरिएको थियो । उनी राजवंशी धर्म संस्कार समितिको संस्थापक अध्यक्ष हुन् । राजवंशीले जातीय मौलिक संस्कार संस्कृति जोगाउन विभिन्न कार्यक्रमहरु संचालन गरेका थिए । ‘ उहाँको नेतृत्वमा राजवंशी संस्कार संस्कृति जोगाऔं अभियान चलाइयो ’राजवंशी धर्म संस्कार समितिका अहिलेका अध्यक्ष लखनलाल राजवंशी स्मरण गर्छन्,‘उहाँँले सबैसँग सहकार्य गर्नुभएको थियो । ’ उनको निधनले राजवंशी समुदायलाई निकै क्षति पुगेको लखनलालले बताए । उनी जातीय कुलगुरुहरुको गुरु गसाई समितिमा पनि रहेका थिए ।

२०६३ सालतिर अवकास पाएका राजवंशीले अमृत मावि भागुडुब्बा , जनविकास निमावि चकचकीलगायतका विद्यालयमा शिक्षण गरेका थिए । शिक्षण पेशासँगै उनले कलाकारिता क्षेत्रमा पनि योगदान दिएका छन् । उनले धेरै राजवंशी चलचित्रहरुमा अभिनय गरेका छन् । चारित्रिक अभिनेताको रुपमा राजवंशीले विधुतार लेखा ,विश्वासघात , बगानेर फूल चलचित्रमा अभिनय गरेका छन् । कमेडियन स्वभावका उनले विभिन्न सडक नाटकसहित राजा हरिशचन्द्रजस्ता नाटकमा पनि अभिनय गरेका थिए ।

चर्चित हास्यव्यंग्य कलाकार गोकुल राजवंशीका उनी समकालीन रहेका थिए । कलाकारितासँगै उनले साहित्यिक क्षेत्रमा पनि दख्खल राखेका थिए । ‘फुटकर कविता लेखिरहनु हुन्थ्यो ’ राजवंशीका जेठा छोरा दिपेशले भने । हरेक साहित्यिक कार्यक्रममा सहभागिता जनाउने गरेका उनले साहित्यमा कलम चलाएपनि आफ्नै कृति प्रकाशन गर्न नसकेको दिपेशले बताए । राजवंशीहरुको साझा संगठन राजवंशी समाज विकास समितिको केन्द्रीय सल्लाहकार रहेका राजवंशी अन्य सामाजिक संघसंस्थामा पनि आवद्ध थिए । शिक्षण पेशामा आवद्ध रहँदा उनी नेपाल शिक्षक मंच झापाको अध्यक्ष भएका थिए । युरिक एसिड , एनिमिया , सुगर ,मिर्गौलालगायतका समस्याले ग्रसित उनी केही महिनादेखि थला परेका थिए । घर नजिकैको घाग्रा खोलामा उनको अन्त्येष्टि गरिएको छ । उनका श्रीमती बीबी राजवंशी , छोराबुहारीहरु दिपेश सुनिता ,रमेश , मोहनचन्द्र कविता तथा छोरी ज्वाइँ दिपा हेमन्त रहेका छन् । जातीय परम्परा अनुसार भोलि आइतबार राजवंशीको तीन दिनको कर्म (तीन सिनान)गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ३ : ४५ बजे