२४ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025

कार्यविधिविनै दरबन्दी मिलान गरेकोमा शिक्षक महासंघ गौरीगंजको आपत्ति, निर्णय सच्चाउन माग




गौरीगंज २५, चैत / गौरीगंज गाउँपालिकाको शिक्षा शाखाले कार्यविधि विनै शिक्षक दरबन्धी मिलान गरेको भन्दै नेपाल शिक्षक महासंघ गौरीगंजले विरोध जनाएको छ । आज गौरीगंज गाउँपालिकाकी अध्यक्ष तथा शिक्षा समिति संयोजक फूलवती राजवंशीलाई ज्ञापनपत्र बुझाउदै शिक्षक महासंघ गौरीगंजले त्यसको विरोध गरेको हो ।
नेपाल शिक्षक महासंघ गौरीगंजका अध्यक्ष हरिलाल यादवको नेतृत्वमा गएको टोलीले व्यापक छलफल नै नगरि अवैज्ञानिक ढंगबाट शिक्षक दरबन्धी मिलान गरेकोमा आपत्ती जनाउँदै तत्काल निर्णय फिर्ता लिई शैक्षिक सत्र २०८२ को शिक्षक सेवा आयोगबाट आउने शिक्षकहरुको पदस्थापना हुनु अगावै सरोकारवालाहरुसँग छलफल गरी कार्यविधि बनाइ शिक्षक दरबन्धी मिलान गर्नुपर्ने माग गरे ।
हचुवाको भरमा शिक्षा समितिले गरेको निर्णय अवैज्ञानिक छ । शिक्षक महासंघलाई मान्य छैन , महासंघका अध्यक्ष हरिलाल यादवले भने – ‘सरोकारवालाहरुसंगको छलफल विना शिक्षा समितिले गरेको निर्णय महासंघलाई स्वीकार्य छैन। ’

चैत्र २१ गते गौरीगंज गाउँपालिकाको शिक्षा समितिले गाउँपालिका भित्रका प्राथमिक तहका बिद्यालयहरुको बढि भएको शिक्षक कटौती गरि शिक्षक अपुग भएको बिद्यालयहरुमा मिलान गर्ने निर्णय गरेको थियो । जस अनुसार गौरीगंज प्रा.वि.मा बढी रहेको दुई शिक्षक कटौती गरी दरबन्दी नभएका चिल्हारा प्राबि र तारा प्राबिमा मिलान गर्ने र जनता बाल बिकाश प्राबिमा बढि देखिएको एउटा राहत दरबन्दी कटौती गरी भवानी प्राबिमा मिलान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ९ : १२ बजे