२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

झापा इनर्जी लिमिटेडले ११ महिनामा ९ करोड २७ लाख रुपैयाँ कमायो



बिर्तामोड । झापा इनर्जी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
आज (शुक्रबार) विर्तामोडमा सम्पन्न सभामा अध्यक्ष लालप्रसाद साँवाले कम्पनीको पछिल्लो प्रगति, आर्थिक अवस्था, र आगामी कार्ययोजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा उल्लेख भए अनुसार झापा इनर्जी लिमिटेडले झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा १० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण गरेर नेपाल विद्युत प्राधिकरणलाई सफलतापूर्वक विद्युत आपूर्ति गरिरहेको छ । यो आयोजना २०७९ सालमा निर्माण थालनी भई २०८० माघ १० गते व्यावसायिक उत्पादनमा आएको हो । २०८० माघदेखि मंसिरसम्मको अवधिमा आयोजना मार्फत १ करोड २७ लाख ४ हजार ३११  युनिट विद्युत उत्पादन गरी करिब ९ करोड २७ लाख ४१ हजार ४७० रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी अध्यक्षले दिए ।

यस आयोजना निर्माणका लागि झापा इनर्जीले ५९.९९ करोड रुपैयाँ सहवित्तीय कर्जा माछापुच्छ्रे बैंक, हिमालयन बैंक, र सिभिल बैंकको सहकार्यमा लिएको थियो । कम्पनीले आफ्नो प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक विवरण दर्ता गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा, विदेशमा कार्यरत नेपालीहरू, सामूहिक लगानी कोष, र सर्वसाधारणलाई प्राथमिक शेयर उपलब्ध गराउने योजना रहेको कम्पनीका सञ्चालक प्रवन्धक सुवास भट्टराईले जानकारी दिए ।
कम्पनीले आयोजना निर्माणका क्रममा विभिन्न चुनौतीहरूको सामना गरेको उल्लेख ग¥यो ।

कोभिड–१९ महामारी, रूस–युक्रेन युद्धका कारण सामग्री मूल्यवृद्धि, र वित्तीय संकट जस्ता समस्याहरूका बाबजुद आयोजना सफलतापूर्वक सम्पन्न गरिएको थियो ।झापा इनर्जी लिमिटेडले आगामी दिनमा थप ऊर्जा परियोजनाहरू निर्माण गर्ने लक्ष्य राखेको कम्पनीका सचिव तथा महाप्रवन्धक सरोज श्रेष्ठले जानकारी दिए ।
झापा इनर्जी लिमिटेडको छैठौं वार्षिक साधारण सभाले कम्पनीको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदनलाई अनुमोदन गर्दै सभा समाप्त भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ४९ बजे