२९ पुस २०८१, सोमबार | Tue Jan 14 2025

२९७०० अमेरीकन डलरसहित गौरादहका मिया पक्राउ



झापा, मंसिर २७ । स्रोत नखुलेको ठूलो मात्रामा अमेरीकन डलरसहित झापा गौरादहका एक व्यक्ति पक्राउ परेका छन् ।बिहीवार दिउँसो २ बजे दमकबाट बिर्तामोडतर्फ आउँदैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार गौरादह नगरपालिका वडा न.५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया अमेरिकन डलरसहित पक्राउ परेका हुन् । मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरीकन डलर १०० दरका २९७ थान २९,७०० (बिहीवारको नेपाली दररेट १ डलरको १३५.८२ अनुसार रु.४०,३३,८५४) फेला परेको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका –३ केर्खा चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्नेक्रममा मिया सवार बसलाई पनि चेकजाँच गरेको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : ५५ बजे