२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

 ‘कुख्यात जुवाडे’को रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीको छापा 



झापा, असोज २४ / ‘कुख्यात जुवाडे’को रुपमा चिनिएका अर्जुन तुम्रुकको फार्ममा प्रहरीले छापा मारेको छ । अलकत्रा स्टोर गरेको उर्लावारी– ३ स्थित तुम्रुकको फार्ममा गएराति प्रहरीले छापा मारेको हो । सेक्युरिटी राखेर उनले आफ्नो फार्ममा जुवा खेलाउँदै गरेको गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय उर्लावारीको संयुक्त गस्ती टोलीले छापा मारेको थियो । तर, प्रहरी टोलीलाई जुवाको अखडासम्म जान सेक्युरिटीले अवरोध गरेका छन् । प्रहरी टोली आएको खबर गरी सेक्युरिटीले जुवाडेहरुलाई भगाएका छन् । प्रहरीले सेक्युरिटी इन्चार्ज प्रतिक पाण्डे र अर्का सेक्युरिटी सन्तमान लिम्वूलाई पक्राउ गरेको छ । प्रहरीले जुवाडेले छाडेको ४ वटा मोटरसाइकल र एउटा स्कुटर नियन्त्रणमा लिएको छ । प्र १ –०२–०५१ प २१८७ , को ३१ प ७१७६,प्र १–०२–०५५प ६२८२ ,को २९ प ८९१० नं को मोटरसाइकल र स्कुटी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक राकेश यादवले बताए । उनले जुवा खेल्ने र खेलाउनेको खोजी भइरहेको जानकारी दिए ।

यसअघि गत भदौ २९ गते राति मोरङको ग्रामथानमा जुवा खेल्दै गर्दा प्रहरी पुगेपछि तुम्रुक भाग्न सफल भएका थिए । त्यतिबेला ९ जना जुवाडे पक्राउ परेका थिए । प्रहरीले उनको गाडी नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  १ : २१ बजे