२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

स्वाबास् वडा अध्यक्ष ज्यू ! जसले गराए ५० जना भन्दा बढी बाढीपिडितको निःशुल्कमा स्वास्थ्य जाँच



गौरीगंज २२, असोज / बाढी प्रभावित स्थानमा रोगको संक्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गौरीगंज गाउँपालिका वार्ड नं. १ को कार्यालयले आज मंगलबार एक दिने निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ। गौरीगंज गाउँपालिका वार्ड नं. १ को इश्वरवस्तीलगायत आसपासका क्षेत्रका ५० जना भन्दा बढी बाढीपीडितले निःशुल्कमा स्वास्थ्य जाँच गराएका थिए ।

शिविरमा दूषित पानी तथा खाना तथा प्रदुषणका कारण हुने कमलपित्त ,जण्डिस, झाडापखाला, ज्वरो, रुघा, खोकी, बान्ता आउने, रिंगटा लाग्नेजस्ता रोग आउन नदिन बाढी प्रभावित क्षेत्रका बाढीपिडितलाई प्राथमिक स्वास्थ्य जाँच गराएको वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए । वडा अध्यक्ष राजवंशीले वार्ड नं. १को बाढी प्रभावित क्षेत्रका अन्य स्थानहरुमा पनि क्रमिकरुपमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताए । गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिक लाल राजवंशी बाढीपिडित क्षेत्रका नागरिकको स्वास्थ्य जाँचमा आफै लागेका थिए । स्वास्थ्यकर्मीसमेत रहेका वडा अध्यक्ष राजवंशीले वडा कार्यालयद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा बाढी पडितिहरुलाई स्वास्थ्य जाँच गरेका हुन् । गौरीगंज–१ इश्वरवस्तीका एकजान बाढीपिडितले स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको देखेर खुशी व्यक्त गर्दै भने – ‘स्याबास वडा अध्यक्ष ज्यु, निशुल्कमा स्वास्थ्य जाँच गर्न पाएकोमा खुशी छु । मलाई अस्तिदेखिनै विसन्चो महसुस भइरहेको थियो । चेक जाँच गरेर औषधि समेत लिन पाउँदा वडा कार्यालय परिवारलाई धन्यवाद दिन चाहान्छु ।’
बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि महाभारा स्वास्थ्य चौकीको समन्वयमा उक्त शिविर सञ्चालन गरिएको स्वास्थ्य चौकीका इन्चार्ज पिताम्बर भण्डारीले बताए ।
परीक्षण र निःशुल्क औषधि समेतको प्रबन्ध मिलाइ बाढी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने अवस्थालाई ध्यानमा राखी प्रारम्भिक अवस्थामै जनचेतनासमेत जगाउने उद्धेश्यले स्वास्थ्य शिविर आयोजना गरिएको
स्वास्थ्य इन्चार्ज भण्डारीको भनाई थियो । उक्त शिविरमा महाभारा स्वास्थ्य चौकीको टोली परिचालन गरिएको थियो भने कार्यक्रममा वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, महाभारा स्वास्थ्य चौकीका व्यवस्थापन समितिका उपाध्यक्ष गोपाल चन्द्रसिंह राजवंशी, वडा सचिव अजय साह, महाभारा स्वास्थ्य चौकीका इन्चार्ज पिताम्बर भण्डारी, कुञ्जिवारी प्रहरी चौकीका इन्चार्ज संजीव राई, पूर्व वडा सदस्य भिम राजवंशीलगायत स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।

११ र १२ असोजको भीषण वर्षापछि आएको बाढीपहिरोले गौरीगंज गाउँपालिका वार्ड नं. १ का इश्वरवस्ती डुबानमा परेको थियो भने २५ जना भन्दा बढी परिवार प्रभावित भएका थिए । कन्काई नदीमा आएको बाढीले गौरीगंज गाउँपालिका वार्ड नं. १ स्थित जनताको तटबन्ध भत्काएको छ। तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गौरीगंज गाउँपालिकाको वडा नं। १ को इश्वरवस्ती डुबानमा परेको हो । गाउँपालिकाको वडा नं। १ स्थित इश्वर वस्तीका २४ घर परिवार विस्थापित भएका थिए । डुबानमा परेका २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार  ६ : ४४ बजे