२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

कमल गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास, ६ करोड १३ लाखमा निर्माण हुने



केर्खा/  स्थानीय तह पुनसंरचना भई कार्यान्वयनमा आएको ७ बर्षपछि झापाको कमल गाउँपालिकाको केन्द्र क्याम्पामा नयाँ प्रशासनिक कार्यालय भवन बनाउन शुरु गरिएको छ । सरकारले तोकेको गाउँपालिकाको केन्द्र रहेको वडा नं २ स्थित क्याम्पामा लामो समयको कसरतपछि नयाँ प्रशासनिक भवन बनाउन शुरु गरिएको हो । गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बिहिबार बैदिक विधि अनुसार सो भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।

संक्षिप्त रुपमा गरिएको शिलान्यासको अवसरमा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, प्रमुख प्रशासकिय अधिकृत केशवकुमार ढकालसहित कर्मचारीहरु, वडा नं १ का वडाध्यक्ष केदार कटुवाल, २ का वडाध्यक्ष अशोक सुब्बा, वडा नं ३ का वडाध्यक्ष अग्नी कोइरालासहित जनप्रतिनिधि, नेकपा एमालेका कमल गाउँ कमिटी अध्यक्ष हरि ढकाल, नेपाली कांग्रेसका गाउँ सभापति खगेन भण्डारी, रास्वपाका कमल अध्यक्ष केदार चापागाइँ लगायतको प्रतिनिधिमुलक उपस्थिती रहेको थियो । त्यहाँ निर्माण गरिने प्रशासनिक भवनको कूल लागत भ्याटसहित कुल ६ करोड १३ लाख ९ हजार ७ सय ४३ रुपैंया रहने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवकुमार ढकालले जानकारी दिए ।
तीन तलाको बन्ने सुविधा सम्पन्न भवन निर्माणको ठेक्का सारासृष्टि निर्माण सेवा प्रालिले पाएको छ ।
भवन निर्माण दुई वर्षभित्रमा पूरा हुने सम्झौता अनुसार निर्माण प्रकृया अघि बढेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।

अध्यक्ष राईले यसअघि प्रशासनिक कार्यालय सञ्चालन हुँदै आएको अस्थायी किसिमको भएको संरचना जीर्ण बन्दा गाउँपालिकासँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गर्न र सेवा प्रवाहमा भएको असहजतालाई मध्यनजर गर्दै प्रशासनिक भवन बनाउन थालिएको बताए ।  नयाँ भवन निर्माण सम्पन्न पछि पालिकाको दैनिक कार्यसम्पादनमा सहजता हुने अपेक्षा गरिएको छ । गाउँपालिकाको प्रशासनिक भवन बनाउने बिषयमा करिब ६ महिना अघि सर्वपक्षीय छलफल भई गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरि टेण्डर प्रकृयाबाट भवन बनाउन थालिएको हो ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  १० : १२ बजे