६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

अत्यधिक गर्मीका कारण मानिसहरु ढल्दै , एकजनाको मृत्यु



झापा , असोज ६ । अत्यधिक गर्मीका कारण पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । केही दिनदेखि बढिरहेको गर्मीका कारण मानिसहरु ढल्न थालेका छन् । चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत फेला परेकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बिर्तामोड ६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य विरामी भएकी मागिहिड्ने ती महिला एक्कासि ढलेपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले ती महिलाले मादक पदार्थ सेवन गरेकोसमेत भेटिएको जानकारी दिए । पाँचथर माइत भएकी प्रेमबहादुर जोगीकी कान्छी श्रीमती राधिका श्रीमानले छोडेपछि ६ वर्षीया छोरीसंग मागेर गुजारा गर्ने गरेकी थिइन् ।

त्यस्तै कनकाईको कोटीहोम क्षेत्रमा एकजना वृद्धा आज अत्यधिक गर्मीका कारण ढलेकी छन् । कोटीहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखेको र सुरुङ्गा स्वास्थ्य केन्द्रमा लैजान लागिएको स्थानीयले बताएका छन् । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती वृद्धाको पहिचान खुलिसकेको छैन ।

प्रकाशित मिति : ६ आश्विन २०८१, आइतबार  ६ : ३१ बजे