३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीद्वारा आमरण अनशन सुरु



विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि मंगलबार अपराह्नदेखि अनशन थालेका हुन् ।

कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्यार्थीलाई दिइने छात्रवृत्ति हटाएको, महिला स्वयंसेविकाको प्रोत्साहन भत्ता रोकेको, सुकुम्वासीलाई जग्गा खरिद गर्दा दिइने बैंक ब्याज अनुदानसम्बन्धी व्यवस्था बजेटमै कटौती गरेको आदि विषयमा विरोध जनाउँदै उनले अनशन सुरु गरेको बताएका छन् ।

कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष विभिन्न ९ वटा माग राख्दै आइतबार ४८ घण्टाको अल्टिमेटम दिएका थिए । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई स्मरणपत्र पठाउँदै आफ्ना माग ४८ घण्टाभित्र पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । 

उनले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रको सञ्चालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धूलो दुधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत् राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग गरेका छन् । 

आफ्नो नेतृत्वको सरकार विघटनपछि एमाले र माओवादी सहितको सरकार बनेको र उक्त सरकारका माननीय आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तुत गरेको बजेटमा उपरोक्त जनहितकारी एवम् समाजवादी कार्यक्रमलाई निर्ममताका साथ कटौती गरिएको दाबी गरेका छन् । 

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ७ : १४ बजे