२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

देशभरी नै मनसुन सक्रिय, जनजीवन प्रभावित



१२ असार, काठमाडौं । विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ । त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ ।

त्यसैको प्रभावले विगत तीन घण्टायता कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको नियमित बुलेटिनमा सबै प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्मै वर्षाको सम्भावना औंल्याइएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : १३ असार २०८१, बुधबार  ८ : १६ बजे