३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मनसुन अझै सुस्त गतिमा,कोशी प्रदेशमै बढी केन्द्रित



काठमाण्डौ / नेपालमा मनसुन भित्रिएको एक हप्ता बितिसक्दा पनि सक्रिय हुन सकेको छैन । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार मनसुन कोशी प्रदेशमै बढी केन्द्रित छ ।

मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा केही दिनदेखि वर्षा भैरहेको छ । गएरातिदेखि कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी परिरहेको छ । कोशीबाहेकका अरु ठाउँमा भइरहेको वर्षा मनसुनी वायु र स्थानीय वायुको प्रभावले भैरहेको मौसमविद मानन्धरले बताउनुभयो ।

उहाँकाअनुसार मनसुनी वायु कोशीबाट पश्चिमतिर बिस्तारै सर्ने क्रममा रहेको छ । पानी पर्न थालेपछि काठमाण्डौसहित मध्य र पूर्वी भेगको तापक्रम घट्न थालेको छ । तर मध्य तथा पश्चिम तराईमा भने अझै केही दिन अध्याधिक गर्मीको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

पश्चिम तराईका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि नै छ ।

प्रकाशित मिति : ५ असार २०८१, मंगलबार  ८ : ४७ बजे