१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सहारा नेपाल र करुणा फाउण्डेसनद्वारा गौरीगंजका कुष्टरोगी बिरामीलाई सहयोग सामाग्री प्रदान



गौरीगंज २५, जेठ / गौरीगंजका कुष्टरोगीका बिरामीहरुलाई आज शुक्रबार सहयोग सामाग्री वितरण गरिएको छ । गौरीगंज गाउँपालिकाको सहकार्यमा करुणा फाउण्डेसन र सहारा नेपालले संयूक्तरुपमा उक्त सहायता सामाग्री वितरण गरेको हो । गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले १२ जना कुष्टरोगी विरामीलाई जुत्ता र अन्य सहायोग सामाग्री वितरण गरेकी थिइन् । सहयोग सामाग्री वितरण कार्यक्रममा बोल्दै अध्यक्ष राजवंशीले कुष्टरोगी वा हातीपाइले रोग भए पनि हामी सबैले आत्मविश्वास लिएर अघि बढ्नुपर्ने बताइन् । उनले भनिन् –‘कुष्ठरोगी विरामी वा हातीपाइले विरामी होस् खुलेर आफ्नो समस्या राख्ने र अरुलाई पनि त्यसबाट बच्नका लागि हौसला दिनु पर्छ ।’

गौरीगंज गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार धेरै मानिसलाई अझै पनि हात्तीपाइले रोगविरुद्धको औषधिबारे थाहै नभएका कारण गलत धारणा व्याप्त छ। वासस्थान वरिपरि सफा राख्नुपर्ने, लामखुट्टेबाट बच्ने उपायहरू अपनाउनु पर्ने र शरीरको कुनै अङ्ग सुन्निन थाले रगत परीक्षण गराइहाल्नु पर्ने उनको सुझाव छ। उनले भने , ‘ गाउँपालिकाले हाती पाइले रोग विरुद्वको औषधी खुवाइने अभियान सञ्चालन गरिसकेको छ । तपाईहरुले हालसम्म खानु भएको छैन भने कृपाया नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा अनिवार्य खानुहोला । ’

सरकारले उचित ध्यान दिन नसकी रहेको उपेक्षित उष्ण प्रदेशीय रोगहरू कुष्ठरोग, हात्तीपाइले, जुका, डेंगी र चिकनगुनिया, कालाजार, सर्पदंश, रेबिज, लुतो र फित्ते जुका निर्मूल पार्ने अभियान अन्तरगत सहारा नेपालले विश्वास परियोजना मार्फत काम गर्दै आएको सहारा नेपाल गौरीगंजकी सामाजिक परिचालक दिपा सिंहले बताइन् ।
विश्वास परियोजनाले हाल झापाका गाउँपालिकाहरू, झापा, बाह्रदशी, हल्दीबारी, गौरीगञ्ज, कचनकवल गाउँपालिका र नगरपालिकाहरू गौरादह, कनकाई, बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकामा काम गर्दै आएको छ । त्यसैगरी अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम संचालनका लागि अपाङ्गता भएका क्षेत्रमा काम गर्दै आएको करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत अंकित पाठकले बताए । जन्मजात हुने अपांगता न्युनीकरण, जन्म पश्चात् विकसित हुने अपाङ्गतामा रोकथाम र अपाङ्गता भएका ब्यक्तिको पुनः स्थापना लगायतका कार्यक्रम सञ्चालन गर्ने छ साथै अपाङ्गता भएका तथा अपाङ्गता भएका व्यक्तिको परिवारको जीविकोपार्जन, पहुँचयुक्त भौतिक संरचना, संस्थागत सुदृढीकरणका, शिक्षा, स्वास्थ्य तथा सहायक सामग्रीको व्यवस्थापन तथा विभिन्न क्षमता विकासका साथै विविध तालिम समेत प्रदान गर्ने करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत पाठकले बताए । कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, प्रमुख प्रशासकीय अधिकृत खेम थापा, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, करुणा फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत अंकित पाठक, सहारा नेपालकी सामाजिक परिचालक दिपा सिंहलगायत दुई दर्जन भन्दा बढी कुष्टरोगी विरामी र हाती पाइले पिडितहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ६ : २३ बजे