२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गौरीगंज वार्ड नं. १ द्वारा विद्यार्थीलाई आधारभूत कम्प्युटर तालिम र महिलाहरुलाई व्युटिपार्लर सम्बन्धी एडभान्स तालिम



गौरीगंज १०, वैशाख / व्युटिपार्लर सम्बन्धी डेढ महिने एडभान्स तालिम सम्पन्न भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १को आयोजनामा सञ्चालित तालिमको आज सोमबार एक कार्यक्रमबीच समापन गरिएको छ । तालिमको समापन कार्यक्रममा बोल्दै वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले व्युटिसियन व्यवसायीको क्षमता अभिबृद्धि गर्ने लक्ष्यसहित तालिम सञ्चालन भएको जानकारी दिए । सिकेको सिपलाई व्यावसायिक क्षेत्रमा प्रयोगमा ल्याउन उनले आग्रह गरे ।
एडभान्स तालिममा २६ जना सहभागीहरुलाई समापन कार्यक्रममा प्रमाणपत्रसमेत वितरण गरिएको छ । त्यसैगरी गौरीगंज गाउँपालिका वार्ड नं. १ वडा कार्यालयले विद्यार्थीलाई २ मिहने आधारभूत कम्प्युटर तालिम प्रदान गरेको छ । विद्यालय शिक्षा हासिल गरेका ती विद्यार्थीलाई स्वरोजगार बनाउन उक्त तालिम प्रदान गरिएको हो।
कम्प्युटर आधारभूत तालिम प्राप्त गरेकी विद्यार्थी विनिता राजवंशीले अत्यावश्यक रहेको कम्प्युटर शिक्षा प्राप्त गर्न सफल भएको र भविष्यमा काम गर्न सकिने बाटोसमेत खुलेको बताइन्। ज्ञानै नभएको विषयमा तालिम पाउँदा धेरै कुरा सिक्ने र काम गर्न सक्ने भएको बताउँदै उनले अब रोजगारीको समेत बाटो खुलेकोमा खुसीसमेत ब्यक्त गरिन्।

कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिक लाल राजवंशीले निकै उपयोगी तालिम भएकाले विद्यार्थीको गन्तव्य पहिचान गर्न सहज हुने बताए । कम्प्युटर शिक्षा आजको अपरिहार्यता रहेकोे र बालबालिकाको प्राविधिक सीपसम्बन्धी ज्ञान वृद्धि गर्न सञ्चालन गरिएको यो तालिम निकै प्रभावकारी र समय सान्दर्भिक रहेको अध्यक्ष राजवंशीले बताए । तालिममा ८० जना विद्यार्थीहरुले सहभागी थिए । सत्य कम्प्युटर इन्स्टिच्युडको प्राविधिक सहयोगमा सञ्चालित २ महिने आधारभूत कम्प्युटर तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा वडा सदस्य रेखा राजवंशी, दुर्गा परियार, प्रशिक्षकहरु सत्यनारायण राजवंशी र व्युटिशियन प्रशिक्षक रेणु राजवंशी, प्राविधिक संतोष ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव अजय साहले गरेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ८ : ३९ बजे