३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

‘ व्यवसायिक क्षेत्रमा निरन्तर संघर्षका लागि मेरो उम्मेदवारी ’–राजु न्यौपाने



विर्तामोड ३, फागुन / विर्तामोडस्थित विर्तामोड उद्योग वाणिज्य संघको आसन्न फागुन १४ गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी राजु न्यौपानेको उम्मेदवारीले व्यवसायीहरुमाझ चर्चा परिचर्चा शुरु भएको छ ।
लोकतान्त्रिक व्यवसायीहरुको प्रतिनिधित्व गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिएका व्यवसायी नेता राजु न्यौपानेले व्यवसायिक हक अधिकारको पक्षमा संघर्षको निरन्तरताका लागि भएको बताएका छन ।
१४ बर्ष अघिदेखि संघको विभिन्न पदमा जिम्मेवारी सम्हालिसकेको बताउँदै संघको नेतृत्वबाट बाहिरिनु पर्ने वा नेतृत्व लिनुपर्ने दुई बिकल्पका अगाडी एक पटक नेतृत्वमा पुगेर व्यवसायिक हक अधिकारको लागि निर्णायक संघर्ष गर्ने अठोटसहित उम्मेदवारी दिएको न्यौपानेको भनाई छ ।
संघको कार्यसमिति सदस्य हुँदै वरिष्ठ उपाध्यक्ष सम्मको नेतृत्व सम्हालिसकेका सरल र स्पष्ट विचार राख्ने कुशल नेतृत्व न्यौपानेले व्यवसायिक क्षेत्रकै हक अधिकारका लागि पटक पटक संघर्ष गरेको स्मरण गरे ।
व्यवसायीहरुकै माग बमोजिम आफू संघको अध्यक्षका लागि चुनावी मैदानमा उत्रिनु परेको अध्यक्षका प्रत्यासी न्यौपानेको भनाई छ ।
यहाँ राजनीति गर्नैका लागि वाणिज्य संघमा को आइरहेको छ र को शुद्ध व्ववसायिक क्षेत्रमानै लागिपरेको छ भन्ने कुरा व्यवसायीहरुलाई बुझाइरहनु पर्छ जस्तो मलाई लाग्दैन सबै कुरा व्यवसायीहरुमाझ छर्लगं छ – चुनावी दौरानमा रहेका अध्यक्षका उम्मेदवार न्यौपानेले बिहिबार विर्तामोडको व्यवस्त बजार माझ पत्रकारहरुसँगको कुराकानीमा भने ।
न्यौपाने नेतृत्वको प्यानलको इतरमा रहेको अर्को प्यानलले स्वतन्त्र व्यवसायीहरुको प्यानल भनि दाबी गरे पनि त्यहाँ आधा दर्जन पार्टीहरुबीच भागवण्डामा उम्मेदवार बनाएको पाइएकाले व्यवसायीहरु त्यस किसिमको राजनीतिक दलीय भागवण्डाको विपक्षमा रहेको उनको भनाई छ ।
न्यौपानेले स्थानीय सरकार विर्तामोड नगरपालिका, प्रहरी प्रशासन, कर कार्यालय जस्ता व्यवसायीहरुसँग प्रत्यक्ष सरोकार राख्ने निकायमा आफ्नो उपस्थिती र व्यवसायीहरुको कानुनी पक्षमा संघर्ष गरेको आफनो विगतलाई मतदाता व्यवसायीहरुले न्याय गर्नेमा आफु ढुक्क रहेको उल्लेख गरे ।
आफनो विरुद्धका प्रतिस्पर्धी उम्मेदवारलाई लक्षित गर्दै न्यौपानेले भने , व्यवसायीकै ढाड भाँच्ने गरी स्थानीय सरकारले बढाएको करमा सहमति जनाएर त्यसलाई ढाकछोप गर्न विज्ञप्तीबाजी गर्ने उम्मेदवारका बिषयमा व्यवसायीहरु जानकार रहेकाले त्यसको जवाफ मतदान मार्फत व्यवसायीहरुले दिनुनै हुनेछ भन्नेमा म विश्वस्त छु ।
पत्रकारहरुसँगको चुनाव लक्षित अन्तरक्रियामा विर्तामोड उवासंघका पूर्व अध्यक्ष समेत रहेका लोकतान्त्रिक व्यवसायीहरुको प्यानलका प्रचारप्रसार समिति संयोजक बलराम कार्कीले विगतदेखिनै नगरपालिकाले व्यवसायीहरुमाथी लगाएको करका विरुद्ध विर्तामोड उवासंघको नेतृत्वमा रहेका व्यवसायीहरुले कडा संघर्ष गरिरहेको उल्लेख गर्दै अहिलेको बिषम आर्थिक संकटमा व्यवसायीलाई साथ दिने नेतृत्वको आवश्कयता भएको बताए ।
उनले त्यस्तो नेतृत्व गरेर सबै वास्तविक व्यवसायीहरुलाई न्यौपाने नेतृत्वको प्यानलले समेटेको हुँदा सो प्यानलको समर्थनमा आफूहरु लागेको उल्लेख गरे ।

नेपाली कांग्रेस समर्थक लोकतान्त्रिक ब्यवसायीक प्यानलको तर्फबाट अध्यक्षमा राजु न्यौपाने, बरिष्ठ उपाध्यक्षमा सञ्जिव घिमिरे, उद्योग उपाध्यक्षमा बिशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल हुमागांई, महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, बाणिज्य सचिवमा राजकुमार शाह, कोषाध्यक्षमा दीपक मित्तल, सह–कोषाध्यक्ष तिलोत्तमा खत्रीको उम्मेद्वारी घोषणा गरिएको छ ।
त्यसैगरी सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, अरुण जैन, डिल्ली कोइराला, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशिला बस्नेत कार्की र निशा शाह गुप्तालाई उम्मेद्वारको घोषणा गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहिबार  ९ : ०९ बजे