४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंजमा पुस २८ गते प्रथम ऐतिहासिक आदिवासी जनजाति फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम हुने



नेपाल आदिवासी जनजाति महासंघ गौरीगंजद्वारा आयोजित पत्रकार सम्मेलन

गौरीगंज २२, पुस / झापाको गौरीगंजमा प्रथम ऐतिहासिक आदिवासी जनजाति फुड फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । आदिवासी जनजाति महासंघ गौरीगंजको आयोजनामा पुस २८ गते शनिवार विहान ८ बजेदेखि शुरु हुने फुडफेस्टिवल तथा सांस्कृतिक कार्यक्रम आज आइतवार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज माविको प्राङ्गणमा हुने फेस्टिबलमा स्थानीय १२ वटा भन्दा बढी जातजातिको मौलिक लोक नृत्यसहितको खानाका परिकार रहनेछ । आदिवासी जनजाति महासंघ गौरीगंजका अध्यक्ष गंगाप्रसाद राजवंशीका अनुसार गौरीगंज गाउँपालिकाको आर्थिक सहयोगमा हुने कार्यक्रममा खानाका परिकार, जातिय नृत्यसहित सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति समुदायका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहनेछ । आदिवासी जनजाति जेष्ठ नागरिक सम्मान संगै निर्वाचित गाउँपालिका अध्यक्षहरूको सम्मान, आदिवासी जनजाति सेल्फी बोर्ड समेत राखिने छ । कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
राजवंशी, ताजपुरिया र गन्गाई जातिको भाक्का, पिठ घुम्नीमुरी, गुन्जुर र सिद्ल (शिध्रा), नेवारको यमरी, सन्थालको खिचडी,राई जातिको तरूल, मकै र कोदो , फापरको रोटी, सेलरोटी, लिम्बुको फिलिङ्गेको अचार, मेसुको अचार, तामाङ्गको सखरखण्ड, संथालको खिचडीलगायतका मौलिक परिकारको स्वाद निशुल्कमा लिन सक्नु हुन्छ भने संगै मौलिक नृत्य र आदिवासी जनजाति आधुनिक गीत र नृत्यहरूको प्रदर्शन गरिने छ ।
कार्यक्रमलाई व्यवस्थित बनाउन ३ सदस्यीय आर्थिक समिति समेत बनाइएको छ । आदिवासी जनजाति महासंघका उपाध्यक्ष आत्माराम राजवंशीको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । समितिको सचिवमा अशोक कुमार ताजपुरिया र कोषाध्यक्षमा सायरा श्रेष्ठ, राजेन्द्र राई रहेका छन् ।
गौरीगंजमा भएका आदिवासी जनजातिहरुको एकता कायम गर्ने, स्थानीय जातजातिको खानपिन र संस्कारसँगै उनीहरुको संस्कृति र भेषभुषाहरुको जगेर्ना र संरक्षण गर्ने, खानाको बजारीकरण गरी व्यवसायमा सहयोग गर्ने, आदिवासी जनजातिहरुको नेतृत्व विकाश र शसक्तिकरणमा सहयोग पुर्याउने अध्यक्ष राजवंशीले बताए । सत्तरी प्रतिशत भन्दा बढी आदिवासी जनजाति बसोबास रहेको गौरीगंज गाउँपालिकामा राजवंशी, ताजपुरिया, गन्गाई, सन्थाल, नेवार, राई, लिम्बु, तामाङ्ग, मगर, भुजेललगायत आदिवासी जनजातिहरु छन् । पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गंगा प्रसाद राजवंशी, उपाध्यक्ष आत्माराम राजवंशी, सचिव अशोक कुमार ताजपुरिया, सहसचिव राजेन्द्र राई, राजवंशी समाज विकास समितिका गौरीगंज अध्यक्ष गोपाल प्रसाद राजवंशीसमेत उपस्थिति थिए । कार्यक्रममा सम्पुर्ण मानुभावहरूले आफ्नो जातिय पहिरनमा सहभागी भएर कार्यक्रमलाई भव्य र सभ्यरूपमा सफल बनाईदिन हुन हार्दिक अनुरोध गर्दै आयोजकले निमन्त्रणासमेत गरेको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  ६ : २९ बजे