१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा उद्योग वाणिज्य संघ गौरीगंजको नवनिर्मित भवन उद्घाटन



गौरीगंज ११, मंसिर / झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय गौरीगंजको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गौरीगंज गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको एक तले भवनको उद्घाटन गौरीगंज गाउँपालिकाकी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि फूलवती राजवंशीले आज सोमबार उद्घाटन गरेकी हुन् ।

लामो समयदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय गौरीगंजले ४० लाख ४४ हजार २२ रुपैयाँको लागतमा संघको भवन निर्माण गरिएको हो । झापा उद्योग वाणिज्य संघ शाखा कार्यालय गौरीगंजका अध्यक्ष मखना महतोको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाता केशव कुमार अग्रवाललाई खादा ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो । उनले १ कठ्ठा जग्गा निःशुल्क दान दिएका हुन् ।

कार्यक्रममा वाणिज्य संघका अध्यक्ष महतोले जग्गादाता अग्रवाललाई धन्यवाद ज्ञापन गरेका थिए । भवन उद्वघाटन कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष तथा वाणिज्य संघका सचिव श्रवण गिरीले भवनको पार्किङ्गका लागि जग्गा कम भएकोले अझ थप गरेर सहयोग गर्नुपर्ने जग्गादातासंग आग्रह गरेका थिए ।
यसै अवसरमा रत्तदाना कार्यक्रमसमेत गरिएको थियो । गौरीगंज गाउँपालिका वार्ड नं. ३ निवासी तथा नेपाल रेडक्रस सोसाइटी गौरीगंजका अध्यक्ष यादव रिजालले २७ औं पटक रत्तदान गरेका छन् ।

रत्तदान जस्तो अरु कुनै दान नभएको भन्दै उनले वाणिज्य संघको भवन उद्वघाटन कार्यक्रममा रत्तदान गरेका हुन् । कार्यक्रममा इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडामणी आँपगाई, गौरीगंज गाउँपालिकाका पूर्व अध्यक्ष बाबुराजा श्रेष्ठ, सशस्त्र सिमा सुरक्षा बल गौरीगंजका डिएसपी हरिकृष्ण घिमिरे, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक अरविन्द कुमार साह, ट्राफिक इन्चार्ज शंकर यादव, नेपाल रेडक्रस सोसाइटि गौरीगंजका सभापति यादव रिजाललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  १० : १४ बजे