१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

राजवंशी समाज विकास समितिको विवाद मिलाउन देवी प्रसाद राजवंशीको संयोजकत्वमा समिति गठन




गौरीगंज २३, असोज / राजवंशी समाज विकास समिति गौरीगंजको आज मंगलबार बसेको वृहत भेलाले केन्द्रिय समितिको विषयमा उत्पन्न विवाद समाधानका लागि वार्ता समिति गठन गरेको छ ।
गोपाल प्रसाद राजवंशीको अध्यक्षतामा केन्द्रिय भवनको सभाहलमा बसेको वृृहत वैठकले केन्द्रिय समितिको विवादलाई मिलाउन दुवै पक्षसंग वार्ता गरी एकताको सन्देश दिन राजवंशी समाज विकास समितिका पूर्व केन्द्रिय सल्लाहाकार देवी प्रसाद राजवंशीको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिको सदस्यहरुमा गोपाल प्रसाद राजवंशी, आत्माराम राजवंशी, तिलक प्रसाद राजवंशी र पर्वत राजवंशी रहेका छन् ।
राजवंशी समाज विकास समितिको नाममा राजवंशीहरु दुईवटा समूहमा विभाजित भएपछि त्यसको असर समुदाय स्तरमा परेको छ । राजवंशी समाज विकास समिति केन्द्रिय कमिटिको कटहरीमा आयोजित अधिवेशनमा उत्पन्न विवादले राजवंशी समाज विकासनै दुई चिरामा विभाजित हुन पुगेको हो । एउटै संस्थामाथि दुईवटा समूहले दावी गर्दै आएका छन् । आधिकारिकरुपमा एउटा समुहले राजवंशी समाज विकास समितिको केन्द्रिय अध्यक्ष सुवन्त राजवंशी हो भनी दावी गर्दै आएका छन् भने अर्को समुहले भने आधिकारिरुपमा अभय राजवंशी केन्दिय अध्यक्ष हो भनी दावी गर्दे आएको छ ।
आधिकारिकताको विवाद जिल्ला प्रशासन कार्यालय झापामा पुगेको थियो । झापा प्रशासनले त्यस विवादलाई मिलाउन नसकेपछि अहिले अदालतमा विचाराधिन रहेको छ । फैसला अदालतबाट नभएपछि कानुनीरुपमा कुन समितिलाई मान्यता दिने भन्ने समाजमा अन्यौलता सिर्जना भएको छ भने राजवंशी समाजका अगुवा तथा बुद्विजीवीहरु चिन्तित बनेका छन् ।
हालै बिर्तामोडमा आयोजित राजवंशी समाज विकास समिति झापाको आठौ जिल्ला अधिवेशन भनेर राजवंशी समाज विकास समिति झापा जिल्लामा दुई वटा समिति गठन भएको छ ।
दुई चिरामा विभाजित हुनु दुखद भएको अधिकांश राजवंशी बुद्विजीविहरुले बताएका छन् । उनीहरुले दुईवटा समूहले अलग अलग रुपमा अधिवेशन गर्नुभन्दा एकता अधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : ४७ बजे