३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

‘यो वर्ष वडामा शीपमुलक तालिममा विशेष वजेट छुट्टाएका छौ’ – वडा अध्यक्ष राजवंशी




गौरीगंज १२, असोज / प्राथमिक उपचार घरैमा गर्न सकुन् भन्ने उद्देश्यले गौरीगंज गाउँपालिका वार्ड नं.१ मा ७ दिने प्राथमिक उपचार स्वास्थ्य कार्यकर्ता तालिमको विहिवार समापन गरिएको छ ।
वडा भित्रका विपन्न तथा आदिवासी जनजाति र अन्य विपन्न समुदायको सहभागिता रहेको तालिमको समापन वडा अध्यक्ष कार्तिकलाल राजवंशीले गरेका थिए । त्यसैगरी गौरीगंज गाउँपालिका वार्ड नं. १ ले आयोजना गरेको ७ दिने मकैको खोष्टाको फूल बनाउने तालिमको पनि समापन गरिएको छ । गरिवी निवारणका लागि लघु उधम विकास कार्यक्रम अन्तर्गत विहिवार ५ दिने तालिमको समापन गरिएको थियो ।


अघिल्ला वर्षहरुमा वडा कार्यालयले भौतिक पूर्वाधार निर्माण, सडक निर्माण, कृषिलगायत क्षेत्रमा विशेष वजेट विनियोजन गरेता पनि यस वर्ष भने रोजगारमुलक शीप सिकाईमा विशेष वजेट विनियोजन गरेको वडा अध्यक्ष राजवंशीले बताए । प्राथमिक उपचारबारे ज्ञान नहुँदा प्रेसर जचाउँन समेत स्वास्थ्य क्लिनिक, मेडिकल वा अस्पताल नै पुग्नुपर्ने बाध्यताको न्युनिकरण तथा आकस्मिक रुपमा हुने चोटपटकको प्राथमिक उपचार गाउँ घरमै गर्न सके संभावित दुर्घटनाबाट बच्न सकिने बताउँदै तालिममा सिकेको सिपलाई सदुपयोग गर्न वडा अध्यक्ष राजवंशीले आग्रह गरेका थिए । वडा अध्यक्ष राजवंशीले समापन कार्यक्रममा पछिल्लो समय उच्च रक्तचापको समस्या बढेपनि समयमै त्यसको पहिचान हुन नसक्दा मानिसको ज्यान नै जोखिममा पर्ने गरेको बताउँदै त्यस्ता समस्या समाधान लागि तालिम उपयोगी हुने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्तिकलाल राजवंशीले स्थानिय उत्पादनलाई प्रयोगमा ल्याउनु पर्ने बताए । उहाँले नेपालमा भारत, चिन लगायतका मुलुकबाट आयात भएको प्लाष्टिकका फूल भन्दा स्थानीय कच्चा पदार्थ प्रयोग गरि उत्पादन गरिएको सामाग्री प्रयोगमा जोड दिनु पर्ने बताए । यस्तै उहाँले स्थानीय उत्पादनलाई बाहिरका बजारमासमेत बिस्तार गर्नु पर्ने धारणा राखेका थिए । समयलाई खेर नफाली उत्पादनमुखी कार्यमा लाग्न सबैलाई आग्रह गरेका वडा अध्यक्ष राजवंशीले तालिममा सहभागी पश्चात उद्यम गर्न चाहे वडा कार्यालयले साथ सहयोग गर्नेसमेत बताए ।


कार्यक्रममा वडा सदस्य राजभत्त सुनुवारले प्राथमिक उपचार स्वास्थ्य तालिमले प्रारम्भिकरुपमा नागरिकको ज्यान बचाउने तालिम भएकोले अत्यन्तै उपयोगी तालिम भएको बताए । कार्यक्रममा वडा सदस्यहरु राजभत्त सुनुवार , रेखा राजवंशी, दुर्गा परियार, कृष्ण महतो, गोपाल चन्द्रसिंह राजवंशी, नमस्ते टेक्निकल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीका अध्यक्ष डिएल राजवंशी, कार्यक्रम संयोजक राजकुमार राजवंशीलगायतको सहभागिता भएको समापन कार्यक्रममा करिब ४० जना युवायुवतीहरु तालिममा सहभागी थियो । नमस्ते टेक्निकल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको प्राविधिक सहयोग रहेको थियो । यस अघि वडा कार्यालयले सावुन, हर्पिक तथा फिनेल बनाउने तालिमको आयोजना गरेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : ०६ बजे