३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

“कृषिमा यान्त्रिकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ”, अध्यक्ष राजवंशी



गौरीगंज ३१, भदौ /

कृषिमा यान्त्रिकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले गाउँपालिकाले कृषि उपकरण अनुदानमा दिएको गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले बताएकी छन् । जापानको ७ दिने कृषि अध्ययन तथा भ्रमणबाट फर्केपछि अध्यक्ष राजवंशीले एक साक्षात्कारमा किसानलाई खेती गर्न सहज होस् भनेर कृषि उपकरण प्रदान गरिएको बताइन् ।

“किसानले गोरु पाल्न छाडे । परम्परागतरूपमा खेती लगाउँदा समय धेरै लाग्छ”, अध्यक्ष राजवंशीले भनिन् “खेतीलाई सरल र सहज बनाउन कृषि उपकरण दिएका हौँ । यसले समय कम लाग्छ । खर्च पनि कम हुन्छ ।” कृषिमा यान्त्रिकरण, व्यावसायीकरण र बजारीकरण गर्नुपर्नेमा उनले जोड दिएकी छन् । “कृषिमा यान्त्रिकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ”, अध्यक्ष राजवंशीले भनिन् ।

गौरीगंज गाउँपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । गाउँपालिकाले करिब ४० लाख ७० हजार १ सय पैतिस रुपैंयाँ बराबरको कृषि उपकरणहरु वितरण गरेको हो ।

गाउँपालिकाले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरूलाई यसको प्रयोगबारे जानकारीसमेत दिएको छ । चालु आर्थिक वर्ष २०७९ र८० को बजेटबाट ८०, ७५,६० र ५० प्रतिशत अनुदानमा विभिन्न उपकरण वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ ।
गाउँपालिकाले कृषि शाखामार्फत सिंचाई मोटर ७५ थान,पावर स्प्रे ट्याङ्क ६० थान, पावर टिलर ८ थान, मकैं छोडाउने मेसिन २६ थान, साना सिंचाई मोटर र बोरिङ्ग कार्यक्रम अन्तर्गत ५० थान, तोरी खेती प्रर्वद्वन कार्यक्रम अन्तर्गत बोरिङ्ग १३ थान र तोरी खेतीको लागि सिंचाई मोटर ४२ थान, रोडा बेटर १ थान र थ्रेसर १ थान अनुदानमा उपलब्ध गराएको छ ।

कृषि शाखाले गौरीगंज गाउँपालिकाका ६ वटै वडाका कृषकलाई मागका आधारमा ती उपकरण प्रदान गरेको हो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : १६ बजे