४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

‘पहिचानसहितको प्रदेशको नामाकरणमा कोचको पनि नाम राखियोस् होइन भने लिम्बुवान किराँत मात्र मानिदैन ।’- संयोजक त्रिनारायण राजवंशी



गौरीगंज १, भाद्र / कोशी प्रदेशको नामाकरणबारे चौतर्फी विरोध भईरहेको बेला कोचिला संघर्ष समिति झापा संगठित हुन थालेको छ । झापा मोरङ्ग सुनसरीलाई कोचिला प्रदेश नामाकरण गर्नुपर्ने माग राख्दै झापाको विभिन्न स्थानिय तहहरुमा समिति विस्तार गरेर संगठित हुन थालेको हो । झापाको गौरीगंजमा आज शुक्रवार कोचिला संघर्ष समितिले वृह्त अन्तरक्रिया छलफलको आयोजना गरेको छ । कोचिला संघर्ष समिति झापाका अध्यक्ष त्रिनारायाण राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न जातिय संगठनका प्रतिनिधि तथा अगुवाहरुले झापा, मोरङ्ग र सुनसरी जिल्लालाई पहिचानको आधारमा कोचिला प्रदेश नामाकरण गर्नुपर्ने जोड दिएका थिए । संघर्ष समितिका संयोजक राजवंशीले प्रदेश नं. १ को नाम कोचिला प्रदेश राख्नु पर्ने बताउँदै कोचहरु त्यसका लागि संगठित हुनुपर्ने बताए ।

‘कोचिला राज्यका लागि हामी संग सबै ऐतिहासिक दस्तावेज छन्’ संयोजक राजवंशीले भने –‘ यदि पहिचानसहितको प्रदेशको नामाकरण हुन्छ भने कोचको पनि नाम राखियोस् होइन भने लिम्बुवान किराँत मात्र मानिदैन ।’ ‘झापा, मोरङ्ग र सुनसरी जिल्ला कोचहरुको थातथलो र भुमि भएको दाबी गर्दै उनीहरुको पहिचान मेट्ने काम कहिँकतैबाट नहोस् सरकारलाई आग्रह गर्न चाहन्छु,’उनले थपे । कोच अभियन्ता विद्यानन्द राजवंशीले कोच राज्य प्राप्तका लागि विभिन्न कालखण्डमा कोचहरुले वलिदानी पूर्ण संर्घष गरेको स्मरण गराउँदै झापा, मोरङ्ग र सुनसरीलाई कोचिला प्रदेश नामाकरण गर्नुको विकल्प नरहेको बताए । उनले भने –‘इतिहास र पहिचानको आधारमा कोचहरु नै यहाँका भुमि पुत्र हुन् त्यसको विकल्प अरु हुन सक्दैन् ।’

राजवंशी समाज विकास समितिका गौरीगंज अध्यक्ष गोपाल प्रसाद राजवंशीले ऐतिहासिक दस्तावेजका आधारमा हेर्दा झापा, मोरङ्ग र सुनसरी कोचहरुकै पहिचानसंग जोडिएको भुमि भएकोले यो भु भागलाई अन्य अरु नाम राखे स्वीकार्न नसकिने बताए । ताजपुरिया कल्याण परिषदका अध्यक्ष कामदेव ताजपुरियाले कोचहरुको आदिमकालदेखि बसोवास र थातथलो रहेकोले यो भु-भागको नाम कोचिला प्रदेश राख्नु पर्ने बताए ।
स्थानिय समाजसेवी श्याम राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी देवी प्रसाद राजवंशी, कोच अभियन्ता तथा संघर्ष समितिका जिल्ला सदस्य दिनेशचन्द्र राजवंशी, दिनेश्वर राजवंशी, शिवसताक्षी नगरपालिका संघर्ष समितिका संयोजक पल्टन ताजपुरिया, राजेन्द्र प्रसाद ताजपुरिया, विजय ताजपुरिया, विशाल वावाजीलगायतले बोलेका थिए भने संघर्ष समितिका जिल्ला सदस्य सत्यनारायण राजवंशी (टाईगर) ले कार्यक्रम सञ्चालन गरेका थिए ।
समिति गठन
कार्यक्रममा राजेन्द्र प्रसाद ताजपुरियाको संयोजकत्वमा कोचिला संघर्ष समिति गौरीगंज तदर्थ समिति गठन भएको छ । सहसंयोजकमा विरचन्द बाबाजी र दिपेन्द्र राजवंशी रहेका छन् । त्यसैगरी सचिवमा रुकमणी राजवंशी, सदस्यहरुमा गंगाप्रसाद राजवंशी, मेनुका राजवंशी, विजय ताजपुरिया, राजकुमारी राजवंशी, सोमनाथ राजवंशी, कृष्णप्रसाद राजवंशी, सत्यनारायण राजवंशी र भिम राजवंशी रहेका छन् । समितिले आवश्यकता अनुसार पदाधिारी तथा सदस्य पद विस्तार गर्ने बताएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  १० : ५७ बजे