९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

अन्त्यमा लेख्न बाध्य भए …..



ईसान काेच / आजको यो युग भागदौडले भरिएको छ । सबै जना आ–आफ्नो करियर बनाउने होडमा व्यस्त छन्। हुन त, यो आजको एक आवश्यकता पनि हो। किनकि आजको समयमा कोही पनि साथीभाइ, इष्टमित्र,पारिवारिक कुलकुटुम्ब भेट भइहालेमा“खबर के छ?”भनी सोधपुछारी गर्नु÷गरिनुको सट्टा “कहाँ के गर्दैछस् ?, कति कमाउँदैछस् ?”भनेर वचन प्रहार गरी सम्बोधन गरिएको पाइन्छ । यदि राम्रो जागिर अनि राम्रो सेलेरी भन्न नसकिने हो भने कताकता आफूमा एक किसिमको हिनताबोध भएको महसुस हुन पुग्छ । समयको माग भन्नु या अपरिहार्यता, पैसा अनि पोस्टको पछाडि सकी नसकी दौड्नु नै पर्ने बाध्य भएका छौँ हामी।

अन्य मानिसझैँ म पनि आफ्नै निजी जीवनमा रुमलिएर अस्त–व्यस्त नै थिएँ । तर मनमा भने एक किसिमको बेचैनीले सँधै नै सताइरहेको थियो । जसोतसो गरेर जीवनलाई ट्रयाकमा ल्याउन त सफल भएँ तर, मन भने भित्रभित्रै असन्तुष्टिले खाइरहेको थियो । अब गर्ने त के गर्ने? कि खायो, काममा गयो, कामबाट फर्केर फेरि खायो र सुत्यो मात्र हो बाँकी जीवन ?यही प्रश्नले मनमा गाँठो कस्यो। कताकता मनमा कति कुरा गुम्सिएर पाकेजस्तो लाग्यो। हो, त्यहि क्षण हाम्रो समाजप्रति मेरो ध्यानाकर्षण भयो। हाम्रो समाज यानी ‘राजवंशी’ समाज। अहिलेको केटाकेटीहरूमा एउटा बोली प्रख्यात छ, ‘प्राउड टु वि राजवंशी’। एकछिन त सोचमा परेँ कि आखिर उनीहरूको मस्तिष्कमा यो सोचको विकास कसरी भए होला त ?हिजोसम्म आफ्नो भाषा बोल्दा पनि हिनताबोध महसुस गर्ने उनीहरूको धारणा आज आएर कसरी एकाएक परिवर्तन भए होला त ? कि यो केवल एक सामाजिक सञ्जालको होडमात्र हो त? एकपछि अर्को गर्दै अनेकौँ प्रश्नहरू मनमा उन्न थालेँ तर मसँग उत्तर थिएन । कसैलाई सोधौँ कि भनेर सोचेँ, तर कसलाई ?यहाँ त हरकोही आ–आफ्ना निजी स्वार्थपूर्तिमा मात्र लिप्त देख्छु । समाजमा कहलिएका अग्रजहरू नै अलग–अलगग्रुप अनि गुठीमा विभाजित छन् । मेरो मनले कसैमाथि विश्वास गर्न इङ्गित गरेन। अन्त्यमा स्वयं नै सोच्न र लेख्न बाध्य भएँ ।

आज हामी जुन परिवेशमा आइपुगेका छौँ,त्यही परिवेशको समाजको विभिन्न विकासका चरणहरूलाई चार भागमा बाँडे । पहिलो चरण जसमा भाषा क्रान्ति अनि कोचिला राज्यको लागि पहल भएको थियो। दोस्रो जहाँबाट राजवंशीफलोवर बढ्न सुरु भए ।यसमा भाषिक गीत सङ्गीत, कला साहित्यमा संलग्नता एवं भेषभूषाको प्रदर्शनी र विभिन्न संघसंस्थाका उपलब्धीलाई समेट्नुपर्ने तय गरेँ । तेस्रो जब मनमनमा राजवंशीपन विस्तार हुँदै गएको थियो, जसमा भेषभाषाप्रतिको बढ्दो रुचि र गीत सङ्गीत एवं साहित्यमा विस्तार साथै संघसंस्थाका बढ्दो सामाजिक क्रियाकलापहरूलाई राखेँ । चौथो यानी आजको समय जब हामी राजवंशी नामप्रति नै गर्वान्वित भयौँ। आज हामी कहाँ छौँ, कति के गर्दैछौँ, मैले भन्नै नपर्ला । यी विभिन्न चरणमा महत्वपूर्ण योगदान दिनुभएको हरेक जनसमुदायप्रति आभार प्रकट गर्दछु। जसको दशकौंको प्रयास अनि लगन आज फलिफाप भएको छ ।

मेरो उमेरले आज तेस्रो दशक पार गर्न लाग्दासम्म सम्झन प्रयास गरिरहे कि आखिर कुन चरणबाट म स्वयं पनि राजवंशीपनबाट परिचित भए भनेर । पहिलो चरणमा भएको भाषा क्रान्ति र कोचिला राज्य क्रान्तिले मेरो मनमा त्यो अनुभूति प्राप्त नभएको पाएँ । म दोस्रोमा गएँ । सायद यही चरण हो, जहाँबाट राजवंशी समाजलाई मैले तुलनात्मक रुपमा हेर्न सुरु गरेको थिएँ । सायद यहीँबाट मेरो मनमा राजवंशीपनको विस्तार हुँदै गएको थियो। याद आए ती दिनहरू जब हामी आफ्नै भेषभूषामा सजिएर संस्कृति झल्काउँदै उफ्रन, नाच्न थाल्यौँ। सायद म गलत पनि हुन सकुँला किनकि यो मेरो पर्सनल थिङ्किङ् मात्र हो। मेरो बुझाइमा जबदेखि हाम्रो संलग्नता गीत सङ्गीत अनि साहित्यमा बढ्न सुरु भयो, तत्पश्चात् मात्र होला उनै संगीतको धुनमा, तालसँग ताल मिलाउँदै हामी सांस्कृतिक भेषभूषामा सजिएको अनि तीनका प्रदर्शन कार्यमा बृहत संलग्नता जुटाउन पनि सफल भयौँ। मेरो बुझाईमा यो भयो कि तिनै साहित्यमा रम्दै अनि मधुर संगीतको धुनमा गुनगुनाउँदै भाषाप्रति स्नेह बढ्न गएको थियो त्यो बेला। आभारी छु ती संघसंस्थाहरूप्रति, ती आयोजकहरूप्रति जसको सहयोगले नै हाम्रा ती सम्पन्न झलक बृहत रुपमा प्रस्तुत हुनसके । हाम्रो जातीय संस्कृति, भेषभूषा एवं सम्पदाका बृहत प्रदर्शन र प्रचार उनीहरुकै अथाह प्रयास अनि सहयोगकै कारण त सफल भए।

के यो केवल मेरो विचारधारा हो? के मेरो विचारले वास्तविकताको केही अंशमात्र भएपनि छुन सक्ला त ? भए त ठीकै हो, नभएपनि मलाई के छ र, बालै फरर…। म झनै सोचमग्न भएँ । तर केही हदसम्म भने अब मेरो मनमा प्रसन्नता छाइसकेको थियो। यदि म सहि छु भने अब अरू के त? यो प्रश्न उब्जेसँगै म अझ खोतल्न थालेँ । कहाँबाट सुरु गर्ने भन्ने कुरालाई लिएर अन्योलमा थिएँ। किनकि म आफू वर्तमानमा रहेर अतितमा झाक्दै थिएँ । म आफ्नो निजी सन्तुष्टिको परिपूर्तिको लागि विगतमा झाक्दै आफैसँग लड्दै थिएँ । गुगल र युट्युबमा खोजीकार्य जारी थियो। अनेकौ प्रसङ्गहरू भेटिए पनि, तर मेरो यस लेखलाई अगाडि बढाउन भने कुनै एक सरल विषय वा पात्रमात्र पाए पनि पुग्ने थियो।

दिन हप्तामा बदलिए अनि हप्ता महिनामा तर प्रगति भने केही भएन। अचानक मेरो फेसबुक वालमा धेरै जनाले सेयर गरेका एउटा लिङ्क आयो। त्यो लिङ्क भर्खरै रिलिज भएको ‘तुइमोर फूलमनी’टाइटल्ड एउटा राजवंशी गीतको थियो। यसैमा मेरो ध्यानाकर्षण भयो। किनकि यहाँ मैले, मेरो लेखलाई अगाडि बढाउन एक मात्र नभई दुई पात्र पाएको थिए। “गोपाल राजवंशी”अनि“बलबहादुर राजवंशी”। कारण सामान्य थियो किनकि आजको दिनमा आएर राजवंशी समाजको साङ्गीतिक क्षेत्रमा नेतृत्व गर्ने सबैभन्दा ठूला नामहरूमध्ये एक नाम“गोपाल राजवंशी“हो भने अर्को अर्को “बलबहादुर राजवंशी“पनि हो। मलाई अझ सहज यो कुराले पनि गरायो कि अडियो क्यासेटको त्यो युगदेखि अहिलेको यस डिजिटल युगमा आइपुग्दा पनि उनीहरूका अधिकांश गीति कृतिहरूमा भने सहकार्य अझै पनि उस्तै नै रहेको पाउन सकिन्छ । अझै पनि दुबै एक अर्काका पूरक जस्तै देख्छु म त । तर मेरो यस लेखनको पहिलो अंशलाई अगाडि बढाउन भने मलाई केवल एक पात्रमात्र भएपनि पुग्ने थियो। त्यसैले मैले सुरुवात“गोपाल राजवंशी” बाट गर्ने निर्णय गरेँ ।

पछिल्लो समय राजवंशी समाजमा“गोपाल राजवंशी” केवल एउटा नाममात्र नभई एउटा ब्रान्ड नै बन्न सफल भएको छ, राजवंशी भाषिक साङ्गीतिक क्षेत्रमा“वरिष्ठ रचनाकार गोपाल राजवंशी”। वर्षेनि रिलिज हुनेमध्ये सर्वोत्कृष्ट गीति रचनाहरूमा अधिकांश उनका रचनाहरू नै समावेश हुने गर्दछन्।

तत्पश्चात् मेरो लेखको पात्र त तयार भयो तर सुरु कहाँबाट गरूँ भन्ने अन्योलमा परँे । मलाई याद आयो गोपाल राजवंशीको रचनामा भएको त्यो अडियो म्युजिक एल्बम सिडि जसबाट यहाँ म मात्र होइन, सायद पूरा समाज नै प्रभावित भएका थियौँ, त्यो हो– “बेदना”। मलाई लाग्छ हिजोकै दिनमा गरेको भएपनि आजको परिवेशलाई समेत छुने गरी तयार पारिएको रहेछ ‘बेदना’एल्बम । समयले परिवर्तनका नाममा विशाल छालहरु पार गरिसक्दा पनि यसका केही गीत त आजको युवाहरूमा समेत अझै गुन्जने गरेको पाउन सकिन्छ ।

आधुनिकताले छोइसकेको नयाँ पुस्ताका युवा वर्ग एवं बालबालिकाहरू त्यो बेला फरक फरक जोनरका बलिउड, इङ्ग्लिस र नेपाली गीतहरू मात्र सुन्नमा अभ्यस्त भएका थिए । यता राजवंशी लोकभाका, लोक नृत्यहरू जस्तै ‘गाउन’, ‘ढुल्की’ ‘हुदुरधुरा’आदि इत्यादिमा घट्दो रुचिको एक प्रमुख कारण भाषामा असमानता थियो। गाउँघरमा पनि नेपाली र इङ्ग्लिस पढ्न र बोल्न बढी जोड दिइएकाले पनि होला भाषा नै बुझ्न गाह्रो भएपछि त्यो अवस्था आएको बुझ्न सकिन्छ । त्यसैले त्यो परिवेशमा परिवर्तनको एकदम खाँचो थियो। केही नयाँपन भित्र्याउन पनि जरुरी हुनगयो। हाम्रो भाषामा देखिएको असमानताको कारणले निम्त्याएको समस्याको समेत न्यूनीकरण जरुरी थियो। हामीलाई त्यस्ता शब्द, संगीत र स्वरमा गीतहरू चाहिएका थिए ,जुन बुझ्नमा सरल, भावमा गहन र सुन्दा मधुर लाग्ने होस्। हो यी सबैको संगम बन्न पुग्यो ‘बेदना’। म आभारी रहनेछु ती सम्पूर्णप्रति जो जो पनि यस म्युजिक अडियो एल्बम निर्माणमा खटिनु भएको छ । यसले भविष्यतर्फ एक कदम चालेर समाजमा गुम्दै गरेको आत्मीयपन फर्काउन पक्कै पनि ठूलो मद्दत पुग्ने छ ।

“काहाए छोक तोर आप्नार रे मन,
काहाए तोर मित…
छरिए दे देहा मोर, त्यागिए दे प्रित”


‘बेदना’ के हो त?असलमा भन्नुपर्दा मेरो मनमा यो प्रश्न नउब्जेसम्म मलाई म स्वयंलाई पनि कुनै आइडिया थिएन। गहन भएर बुझ्न खोजेँ । मैले त दुई–चार जनालाई सोधेँ पनि। सबैले आ–आफ्नै बुझाइमा जवाफ दिए। ‘बेदना’लाई सरलमा भन्नुपर्दा पीडा हो। ‘बेदना’मनको गहिराइमा बल्झेको घाउ हो। ‘बेदना’मनमा चोट अनि पीडाको सागर हो। बेदना हृदयको रोदन हो। यसरी फरक फरक निष्कर्षहरू मैले जवाफको रुपमा पाएँ । ‘बेदना’बुझ्न जति गहन भएता पनि शाब्दिक खेल र सङ्गीतको संगमले यस एल्बमलाई सहजै स्वीकारोक्ति मिल्न गयो। ‘काहाए छोक आप्नार रे मन’बोलको पहिलो गीतले नै हृदयभित्रका ती अथाह चित्कारले भरिएका भावहरूबाट परिचित भए भने ‘देख्ते देख्ते आझि’ र ‘जलेचे जलेचे’ दुई गीतहरूले हृदयका घाउहरूलाई कोट्याइदिए । ‘तुइ मोर जीवन’बोलको गीतले प्रेमको गहिराइ खुलाइदियो। बाँकी तीन‘ओ गे माइ एलिशा’, ‘हे काल चेंग्र्री गे’ र ‘गौरीगञ्जेर बजारत’बोलका गीतहरूका चुट्के ताल र चुट्के भावले मनमनै नाच्न उत्साहित नै बनायो। अहिले आएर निष्कर्ष निकाल्नुपर्दा त्यति बेला हरकोहीको लागि यो म्युजिक एल्बम सिडि एउटा कम्प्लेट प्याकेज भइदियो। किन कि यसमा माया प्रेमका कुरा थिए, यसमा बेदनाका सागर थिए, सँगसँगै यसमा चिलआउट हुन चाहिने धमाकेदार नाच्ने अनि झुमाउने गीतहरू पनि समावेश थिए।

ममा अब पर्खने धैर्यता बाँकी रहेन। मैले लगतै गोपाल राजवंशीद्वारा रचित बेदनाको दोस्रो भाग“बेदना–२”एल्बमलाई एकरूप भइ सुन्दै गएँ । सारा गीत सकिन्थे, म पुनः लाउथे। यो चक्र छ÷सात पटक चल्यो होला। अचम्भित भएँ । टिकटके चटकले प्रभावित अहिलेको युगमा मान्छेहरू त मिनटमै चार–पाँच वटा फरक स्रोतहरू खोज्ने गरेका हुन्छन्। अहिलेको यो फास्ट फरवार्ड युगमा पनि लगातार म्युजिकको एक–एक बिट सुन्न सक्ने धैर्यता कहाँबाट पलायो कुन्नि ममा। सायद यो मेरो स्रोतको विषय भएर पनि हुन सक्छ, मेरो खोजीको विषय भएर हुन सक्छ । त्यतिबेला मेरो मातृभाषाप्रतिको लगाव महसुस गर्दै थिएँ । म आफ्नो स्वभावमा, मेरो सोचमा, मेरो धारणामा, मेरो बोलीमा अनि मेरो व्यवहारमा त्यो बदलाव महसुस गर्दै थिएँ ।

“पूरूवे सकाले सूरूज हाँसिए उठिचे
रङचङ बागाने फूल भप्लिए फूटिचे
तोरबिना रहिबेना जीवन मोर
कल्पेचे कल्पेचे मन मोर कल्पेचे”


वाह ! शब्द समायोजनमा अभूतपूर्व साहित्यिक रसको अनुभूति भयो। जतिपटक सुने नि धित नमर्ने। शब्द–शब्द बुझि गए त झन्…गोपाल राजवंशीलाई मनैमन नमन गर्न पुगेछु ।

प्रेम के हो?
प्रेम एक कविको काव्य हो। प्रेम एक शायरको शायरी हो। प्रेमलाई उनीहरु लेखेर बयान गर्दछन् ।
प्रेम एक सङ्गीतकारको मिठो गीत हो। प्रेम एक गजलकारको मधुरगजल हो। प्रेम त्यो मधुर स्वर हो जुन उनीहरुका मनमा हरबेला गुनगुनाउने गर्दछ ।
प्रेम भाव हो। प्रेम भावना हो। प्रेम पूजा हो। प्रेम साधना हो।
प्रेम अर्पण हो। प्रेम समर्पण हो।
प्रेम सागर हो। प्रेम महासागर हो।
हैन ! हैन ! प्रेम त महासागरभित्रको पनि महासागर हुने रहेछ,किनकि महासागरको गहिराई बरु नापिएला, तर प्रेम नाप्नै सकिन्न।

वाह गज्जब ! यो गीतलाई सबैले आ–आफ्नै हिसाबले बुझेका होलान्। मैले पनि मेरो हिसाबले बुझेँ । विचारमा शुद्धता भए कुरा जता लगे नि निष्कर्ष त एउटै हुने हो, हैन र ?यो गीत मैले पहिला नै नसुनेको पनि हैन, तर किन हो कुन्नि अहिले सुन्दा बिल्कुलै फरक महसुस गर्दैछु । अरूको कुरा त भन्न सक्दिनँ, तर पर्सनली भने म यो गीतबाट अब अति नै प्रभावित भएको छु । धेरैले त प्रेमको असल परिभाषा समेत जानेका छैनन् यहाँ। वास्तवमा बुझ्नुपर्दा हाम्रा सच्चा लगावका विषयवस्तु, काम कुरा या त प्राणीहरू नै हाम्रा प्रेम भएको थाहा पाएँ । मानिसहरू कुनै पनि काम कुराहरूप्रति यदि सच्चा लगाव राख्न सके, त्यसको प्राप्तिका निम्ति पक्कै पनि हरेक मुम्किन कोशिस गर्ने थिए, हैन त ?हो, यही त हो प्रेम।

बिगतमा झैँ यसपटक पनि‘काहाँर दुख काहाँय जाने’, ‘कि करिम हाल खेती’ र ‘मनडत मोर दिए दागा’बोलका तीन फरक गीतहरूका शब्द, संगीत समायोजन र स्वरको प्रभावले फरक फरक तीन खालका मानसिक बेदनाका लहरहरु बहदै गए। कति त रोएका पनि थिए होलान् यी गीतहरू सुन्दा– एक जो व्यवहारमा हारे, दोस्रो जो एक्लो अनि असहाय बने र तेस्रो जो प्रेममा धोका पाए । ‘पूरूवे साकाले’ बोलको गीतले मेरो भाषिक साहित्यप्रतिको प्रेमलाई अझ प्रगाढ बनाइदियो। यस गीतका एक–एक शब्दले मेरो हृदय प्रफुल्लित हुन थाल्यो। बाँकी ‘मञ्जलि गे मञ्जलि’ र ‘धकधक’बोलका गीतहरूमा त अझै पनि सांस्कृतिक कार्यक्रमहरूमा नाच्ने र नचाउने भइनै रहेको छ।

“ओ मोर प्राण सखी रे, सखी जाचु आझि, घरबारी छरिए
ना कान्दिस् सखी तुइ, बिदा करेक सुमन हाँसिए !
ओ मोर प्राण स्वामीगो, स्वामी जाचिस् आझि, छरिए देश दुरे
केनङे बुझिबे हिया स्वामी, रहे एख्लाए सुना घरे !!”

आह ! ती उनिएका शब्द, त्यसमा पीडादायी सङ्गीत अनि त्यसमाथि ती भावविभोर युगल गलाको समायोजन ! मैले ठ्याक्कै मुनामदनको कथालाई सम्झेँ । त्यही भाव, सायद उति नै पीडा तर पात्र अनि भाषा भने फरक । मैले आफूलाई रोक्न सकिरहेको थिइनँ, त्यसैले गोपाल राजवंशीद्वारा नै रचित अनि सफलएल्बम ‘बेदना’को तेस्रो संस्करण “बेदना भाग–३” का गीतहरू पनि पुनः सुन्न थाले। सुन्ने क्रममा जब ‘ओ मोर प्राण सखी रे’ बोलको गीत बहन सुरु मात्र के भएको थियो, म स्वयम् नै भावविभोर भई एकछिन त मौन हुन पुगेछु । मुनामदनको कथाको दृश्य मेरा आँखा अगाडि झलझली चल्न थाले। म शिथिल भएँ । मैले यसपटक बेदनाको अर्को परिभाषा भेटेको थिएँ । जहाँ केवल मायामा धोका, सम्बन्धमा फिकापन अनि एक्लोपनको कटकटाहट मात्र नभई बेदनाको अर्को स्वरूप प्रगाढ माया पनि बन्न सक्छ भन्ने थाहा पाएँ । आज आएर मैले यो कुरा पनि थाहा पाएँ कि हाम्रो समाजमा गोपाल राजवंशीलाई नै वरिष्ठ रचनाकारको उपाधि किन दिइएको छ । खुसी छु अनि गर्वान्वित पनि कि हाम्रो समाजको एक महान व्यक्तित्व अनि अनमोल गहनालाई मेरो यस लेखको पात्रको रूपमा पाएको छु।

यस एल्बममा समावेश गीतहरूको कुरा गर्नुपर्दा ‘दागा दिए केनङ’ र ‘तुहे कह मोक’बोलका गीतले बेदनाका उही लहर कायम राख्नमा सफल साबित भए ।‘मने मने आझि’गीतले एकतर्फी मायाको खुलेर बयान गर्यो भने ‘ओ मोर प्राण सखी रे’ ले अथाह माया अनि अथाह पीडाको आभास गराएर भावविभोर बनायो। त्यसैगरी ‘लदीर सभाङ बाना वर्षा’ बोलको गीतले समाजलाई व्यक्तिगत चरित्र निर्माणमा सहयोग पुर्याउन चाहे। यसले प्रकृतिका हरेक अंशहरूका आ–आफ्नै अलग विशेषता रहेको र एक अर्काका लागि कति महत्वपूर्ण छन् भन्ने सन्देश छोडेको छ । साथै अन्तिम एक ‘सुन्दरी सुन्दरी’ बोलको गीतको चर्चा नै के गरूँ, यसले त अझै पनि हरेक सांस्कृतिक कार्यक्रमहरूकास्टेज हल्लाइनै रहेको छ ।

“चानेर चकमके, तारो टिलपिल करेचे
निसुन राते… सिरसिरियाऽ बाऽ चलेचे !
पथहारा दिशाहिन मानुष मुइ,
दुई नयन मोर तहके छाबेचे !!”


हेर्दाहेर्दै म स्वयंलाई बेदनामा डुब्दै नै गइरहेको पाएँ ।गोपाल राजवंशीका ती रचनाहरूमा डुबेको महसुस हुन थाल्यो। तर जे भने नि त्यो आभास एकदम आनन्दमय थियो। यस्तो लाग्न थालेकोे थियो मानौ, मैले मेरै समाजलाई भर्खरै मात्र जान्न थालेको छु। जस्तै कि म कुनै अबोध बालक हुँ। जस्तै मात्र किन म वास्तवमै बालक नै त हुँ। मानिस उमेर बढेर मात्र कहाँ नै पो ठूलो हुन सक्छ र, हैन त ?व्यक्ति जबसम्म आफू स्वयंको आधार, अस्तित्व अनि उद्देश्य जानेर सक्दैन तबसम्म ऊ एक अबोध बालक नै त हो। हो म त्यही पथमा अग्रसर छु। आफू र आफ्नो समाजलाई बुझ्ने कोशिसमा छु। यदि म यसमा सफल हुनेछु भने थोरै श्रेय गोपाल राजवंशीलाई पनि जाँदो हो। थाहै नपाई म बेदनाको चौथो संस्करण “बेदना भाग–४”मापो आइपुगेको थिएँ । त्यो बेला म शब्द–शब्दमा केन्द्रित भएको थिएँ । यस एल्बममा समावेश क्रमशः‘चानेर चकमके’, ‘सबुर धरेना’ र ‘नुतन नुतन’बोलका गीतहरूले त ’युट्युब’ ’रिलिज’ पछि तहल्का नै मच्चाएका थिए। परिवेश त उही छँदै नै थिए तर प्रस्तुतीमा कलाकारिताको भरपूर सदुपयोग गर्नसके मरुभूमि नै पनि जीवन्त देखिने रहेछ भन्ने कुरा मैले थाहा पाएँ । मैले माने कि एउटा कलाकारले चाहेमा ढुङ्गामा पनि प्राण भर्न सक्दो हो भने आँधिबेरीको वेगलाई पनि शिथिल बनाइदिन सक्ने रहेछ । त्यो अद्भुत आभासलाई सायद मैले लेखेर बुझाउन नसकुँला तर मन यति तृप्त भयो मानौ मरुभूमिमा एउटा प्यासाको तृष्णा मेटिएको हो।

“कल्पनाते, बाठे तोक मुइ पाचु
सपनाते, रातेदिन तहके देखेचु !
थामेचे तहरे ठिना, नयनेर डामाल
प्राण छिस् तुहे, जैखुना सांस मुइ लिचु !!”


शब्द उही साधारण बोलचालमा अत्यधिक प्रयोगमा आउने, तर तिनका समायोजन फरक । फरक समायोजनसँगै तिनले दिने भावमा फरक गहनता । वाह !गोपाल राजवंशीले शब्द समायोजन र साहित्यमा त्यति धेरै गहन अभ्यास गर्नु हुँदो हो सायद।

वर्तमान समय विल्कुल फरक परिवेशमा आइपुगेको थियो। यो डिजिटल युग हो। डाइरेक्ट युट्युबको युग हो। यहाँ अडियो कैसेट अनिसिडि–डिभिडी सबै नै लुप्त भइसकेका छन्। मैले युट्युबमा“बेदना भाग–५”बाट सार्वजनिक भैसकेका दुई गीतहरु भेटे। ‘फेसबुकेर जालत’ र ‘कल्पनाते’। लाखौंमा’भिउज’ समेत बटुल्न सफल यी गीतका सफलताले नै बुझ्न सकिन्छ कि राजवंशी समाजले बेदना सिरिजलाई सुरुवातदेखि नै कति धेरै रुचाएका रहेछन् भनेर।

बेदनाबाहेक पनि गोपाल राजवंशीका अन्य दर्जनौ एल्बम तथा एकल गीति रचनाहरू उति नै लोकप्रिय छन्। खोज्दै जाने क्रममा मैले पाए कि ‘मनेर फूल’टाइटल्ड एल्बम त्यो पहिलो एल्बम रहेछ जसमा गोपाल राजवंशीको करियरकै पहिला तीन रचनाहरूः‘दादाभाई’, ‘तुइ जैखुना’ र ‘चखुसे चखु’ समावेश थिए । यसमध्ये ‘दादाभाई’ बोलको गीतको त शब्द–शब्द पक्कै पनि राजवंशी समाजमा हरकोहीको मुखमा यथावत नै छ होला ! त्यसैगरी एल्बम‘याद आसेचे’ को रिलिजसँगै यसमा समावेश उनका गीतहरू ‘फूलेर महके’ ‘चन्चल’ र ‘मन रे’ त्यो बेलाखुबै रूचाइएको थियो। एल्बम‘तोर बिना’मा पनि‘तोर बिना’, ‘चैत बैसागेर धुपेर चुटे’, ‘सखीरे’, ‘ए सुन्दरी’ बोलका उनका रचनाहरू उतिकै लोकप्रिय भए भने त्यो बेला ‘तोर सङे जीवनमोर’ बोलको गीत औधी रुचाइएको थियो जुन कि अझै पनि गुन्जयमान नै छ। उनका अन्य एकल गीति रचनाहरू जस्तैः ‘साल बगानेर’, ‘आइ लव यु कोहोना’, ‘बेहार ढोल’, ‘हलुवा, सुनगे चेंग्री’, ‘टिलपिल’, ‘मनडत मोर’, ‘मन मोर’, ‘जानुना’, ‘उराते उराते’, ‘दिलेर धडकन’, ‘नजरसे तुइ’, ‘कि कर्नु’, ‘केनङ माया’, ‘भमरार गुन्जने’, ‘तुइमोक फसालो’, ‘गर गर गाल’आदि इत्यादि बोलका गीतहरूले एकपछि अर्को सफलता हात पार्दै गइरहेका नै थिए भने रचनाकै माध्यमले पुरा समाजलाई नै मौलिक भाषागत सांगीतिक क्षेत्रमा रूचि बढाउनुमा आफ्नो महत्वपूर्ण योगदान पनि दिइरहेका थिए।आज आएर राजवंशी साङ्गीतिक क्षेत्रमा फरक– फरक स्वाद पस्केर सिङ्गो समाजले नै यो क्षेत्रलाई हेर्ने एउटा फरक दृष्टिकोण समेत सेट गर्न गोपाल राजवंशी सफल कहलिएका छन्।

गोपाल राजवंशीका हरेक गीति रचनाहरू अनुसरण गर्न म सदा नै तत्पर रहने गर्छु, किनकि मलाई उनका हरेक रचनाहरुमा एक नवीनतम् भाव प्राप्त भएको अनुभूति हुन्छ । कहिलेकाहीँ त समाजबाटै लुप्त भइसकेका शब्दहरू नवीन स्वरूपमा सिक्ने मौका मिल्छ भने कहिलेकाहीँ चलनचल्तीकै कतिपय साधारणभन्दा साधारण शब्दहरुलाई एक अर्कामा उनेर सुन्दर पाउहरूको निर्माणकला । यसरी यस लेखलाई अगाडि बढाउँदै जाँदा पनि कतिपय विल्कुलै नवीन शब्दहरू सुन्ने र जान्ने मौका पाएँ भने कैयन् शब्दहरू स्मृतिमा पुनः रिकभर हुन थाले। यसै क्रममा कैयौं शब्दहरूलाई त मेरो निजी शब्द कोषमा संकलन गरेर पनि राखेँ,किन कि यस्ता शब्दहरू सामान्य बोलीचालीमा पातलिँदै गइरहेका छन्। थाहा छैन कुन दिन यी शब्दहरु सामान्य बोलीचालीबाट हराएर शब्दकोषमा मात्रै सीमित पो रहने हो कि? यस लेखनकै क्रममा उनका रचनाका कैयौं गीति पंक्तिहरू पनि मेरो निजी‘डायरीमा’ सुरक्षित गरे। गीतका यी पंक्तिहरुलाई अरुले खै कसरी सुन्छन् वा बुझ्छन् होला त्यो त मलाई थाहा भएन, तर मैँले एक अद्भूत काव्यका अंशका रुपमा ग्रहण गरेँ। मलाई गोपाल राजवंशीको शब्द मेल गर्ने तरिका एकदमै नवीनतम् र जादुमय लाग्न थालेको छ, जसले हरबखत यो मनलाई लोभ्याउन पुग्ने गरेको छ। यस्तो लाग्न थाल्यो कि मानौँ मभित्रको त्यो अधुरो शाब्दिक तृष्णाको प्यास मेटाउन केहि हदसम्म भएता पनि गोपाल राजवंशीको रचनाहरुले हरेक पटक ठूलो सहयोग पुग्ने गरेको छ।

जिन्दगी पनि कति सानो रहेछ है! त्यसैले पनि होला यसलाई ‘केवल दुई दिनको घामछायाँ’ भनिएको। यसलाई पनि हामी भागदौड भागदौडमै सक्काउन लागिपरेका हुन्छौं। आफू र आफ्नो अस्तित्वलाई जान्न पाउँदा नपाउँदै कतिको त उमेर नै सकिने गर्दछ, हैन त?जीवन त सिक्ने नाम हो। जीवन त जिउने नाम हो। हो नि, हैन र? मैले अब भने थाहा पाएँ । म पनि थोरै थोरै सिक्दै अनि थोरै थोरै जिउने अभ्यास गर्दैछु।

मनमा प्रसन्नताका लहरहरू लहराउन थाले। मैले आजभन्दा अगाडि यसरी राजवंशी समाजलाई कहिल्यै पनि नियालेको थिइनँ या भनौ मनमा यसरी नियाल्ने सोच पनि कहिल्यै आएको थिएन । आजको हाम्रो समाज एक बिल्कुलै फरक परिवेशमा छ । अहिलेको यस डिजिटल युगसम्म आइपुग्दा राजवंशी भाषिक सांगीतिक क्षेत्रले पनि ठूलो कोल्टे फेरिसकेको छ भने अन्य पक्षहरू पनि निकै मजबुत बनेर विभिन्न विकासमुखी गतिविधिहरूमा संलग्न भई÷गराई स्थापित भइसकेका छन्। तर, यतिमै सीमित रहन मेरो मनले मानेन। यो त केवल मेरो सुरुवात हो। मलाई त यो बद्लावको जरासम्म पुग्नु छ। मेरो यो सुरुवातलाई परिवर्तनको यस चक्रको सुरुवातसम्म पु¥याउनु छ । हो मेरो यो प्रयास निरन्तर नै जारी रहनेछ । अन्त्यमा भन्नुपर्दा, गोपाल राजवंशीको बेदनाको अपार सफलतापछि यसको पाँचौ संस्करणसम्म पस्केर सिंगो समाजलाई सांगीतिक क्षेत्रमा पुर्याउनु भएको योगदान अकल्पनीय छ। साथै उनका अन्य दर्जनौ एल्बम एवं एकल गीति रचनाहरू राजवंशी सांगीतिक इतिहासमा सदैव नै अमर रहिरहने छन्।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ७ : १९ बजे