३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

दमक र कमलमा कुष्ठरोग दिवस विशेष कार्यक्रम, दक्षिणी पालिकाहरूमा अधिक समस्या



दमक/ कुष्ठरोग निवारणका लागि आजैबाट पहल गरौं भन्ने मूल नारासहित १ नम्बर प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आइतबार विश्व कुष्ठरोग दिवसको अवसरमा दमक र कमलमा अलग अलग कार्यक्रम गरेको छ ।

दमकको आम्दा अस्पतालमा निर्देशनालयले आयोजना गरेको समन्वयात्मक बैठकमा निर्देशनालयका कुष्ठरोग निवारण सम्बन्धि कार्यक्रमका फोकल पर्सन तुलसी गुरागाइँले कुष्ठरोगको समस्या भएका देशभरका १६ जिल्लाको सूचीमा प्रदेश नम्बर एक निक्कै माथि रहेको तथ्याङक प्रस्तुत गरे । गुरागाइँले प्रदेश एकका झापा र मोरङमा कुष्ठरोगका बिरामीको संख्या उच्च रहेको र त्यसमध्ये झापाका झापा, गौैरीगञ्ज , कचनकवल लगायतका दक्षिणवर्ती पालिकाहरुमा यो समस्या चर्को रुपमा रहेको उल्लेख गरे ।

सो अवसरमा प्रदेश एकमा कुष्ठरोगको अवस्था चित्रण गर्दै गुरागाइँले यो प्रदेशमा ३४५ जना कुष्ठरोगका बिरामी सम्पर्कमा रहेर नियमित औषधीसेवन गरिरहेका बताए । प्रदेश एकमा प्रति एक लाख ६.९२ प्रतिशत जनसंख्यामा कुष्ठरोगको समस्या रहेको उनले जनाए । देशभर २३७३ कुष्ठरोगका बिरामी मध्ये ८३ जना १४ बर्ष मुनिका बालबालिका समेत रहनु दुखद भएको पनि उनले बताए ।

प्रदेश एकमा भने १४ बर्ष मुनिका बालबालिकामा यो रोग नदेखिनु सुखद पक्ष भएको कार्यक्रममा जानकारी गराइयो । कार्यक्रममा आम्दा अस्पतालमा कार्यरत छाला तथा कुष्ठरोग विशेषज्ञ डा. दिपायन पाण्डेले कुष्ठरोगका कारण शरिरका विभिन्न भागनै अंगभंग हुने खतरा भएकाले यो निक्कै जटिल समस्याका रुपमा रहेको उल्लेख गरे । उनले कुष्ठरोग निवारणका लागि समाजमा व्याप्त अन्धविश्वास , नागरिकहरुको स्वास्थ्य सेवामा पहुँचको कमि आदी मुख्य कारकका रुपमा रहेको पन िबताए । कार्यक्रमका सहभागी कुष्ठरोग तथा अपाङगताका क्षेत्रमा कार्यक्रमहरु गर्दै आएका सरोकारवालाहरुले स्थानीय सरकारबाट कुष्ठरोगलाई प्राथमिकतामा राखेर बजेट तथा कार्यक्रमहरु नराखिनु दुखद भएको बताए ।

आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डा. प्रकाश शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बराल, राष्ट्रिय अपाङग महासंघका मदनकुमार बोहोरा, कुष्ठरोगका क्षेत्रमा क्रियाशील एनएलएफका लभि शाक्य, पत्रकार विष्णु पोखरेल, अपाङ सहयोग समन्वय समितिका देवी बहादुर बस्नेत लगायतले सुझावहरु प्रस्तुत गरेका थिए । त्यसैगरी कमल गाउँपालिकाले यो दिवसरको अवसरमा आयोजना गरेको कार्यक्रममा कुष्ठरोगका कारण अपाङगता भएकाहरुलाई न्यानो कपडा वितरण समेत गरिएको थियो । कमल गाउँपालिकामा कुष्ठरोगका बिरामीको स्वयं हेरचाह कार्यक्रम समेत चालू रहेको जनाइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : १८ बजे