१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राप्रपा बाहेकको गठबन्धनमा पनि झापा ५ मा ओलीलाई चुनौती, यस्तो छ तथ्यांक




दमक ५, असााेज/
आसन्न मसिंर ४ गते हुने तय भएको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैंलाई चुनाव जित्न चुनौती देखिएको छ । अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ मा रहेका पालिकाहरुमा भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुखमा एमाले इतरले पाएको कुल मत भन्दा एमालेले पाएको मत कम्ती रहेकाले ओलीलाई चुनाव जित्न कठिन पर्ने आंकलन शुरु भएको हो ।
यो क्षेत्र अन्तर्गतका चार पालिका मध्ये एउटा गौरादह नगरपालिका बाहेक अन्य पालिकामा एमालेले गएको निर्वाचनमा नेतृत्व गुमाइसकेको छ । दमक, गौरादह , कमल र गौरीगञ्ज गरी चारवटै पालिकाको प्रमुखमा एमालेले पाएको कूल मत ४२ हजार ७ सय ९८ छ भने यिनै पालिकामा एमाले इतरमा रहेको कांग्रेस , माओवादी र राप्रपाले पाएको मत ४७ हजार ५ सय ६६ रहेको छ ।
पालिका प्रमुखमा एमाले गठबन्धन भन्दा करिब ५ हजार मतले पछाडी छ भने यो तथ्याकंमा दमकमा एमाले इतरमा कांग्रेस, माओवादी र राप्रपा समेतले पाएको मत मात्रै समावेश छ । गौरादहमा कांग्रेस , माओवादी र जसपाले मात्रै पाएको मत समावेश छ । त्यस्तै कमलमा कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धनले पाएको मत समावेश छ तर राप्रपाले पाएको मत यसमा समावेश छैन । राप्रपाले ७ सय ८२ मत पाएको थियो । त्यस्तै गौरादहमा राप्रपाले १ हजार ५ सय ९० मत पाएको थियो । गौरीगञ्जमा गठबन्धनरहित चुनाव भएको थियो । जहाँ कांग्रेसले ५ हजार ६ सय ८९ मत ल्याएर अध्यक्ष पदमा जितेको थियो । सो पालिकामा एमालेले ३ हजार ३ सय ३० ल्याएर दोश्रो र राप्रपा ३ हजार ३ सय ७ ल्याएर तेस्रो भएका थिए भने माओवादी केन्द्र चौथो भएको थियो । यो क्षेत्रमा पर्ने कमल गाउँपालिकामा एमाले र गठबन्धनका उम्मेदवारबीच सबैभन्दा बढी अर्थात ३ हजार २ सय १५ मतान्तर रहेको थियो । यि पालिकाहरुमा भएको निर्वाचनको परिणामलाई केलाउँदा आसन्न निर्वाचनमा एमालेका ओली भर्सेस अन्य राप्रपासहितको गठबन्धन हुने हो भने ओली १० हजार मतले पछि पर्ने संकेत देखिन्छ राप्रपा मात्रै अलग रहने र दमकको उपप्रमुखमा कांग्रेसले पाएको मतलाई आधार मानेर जाने हो भने एमाले र राप्रपाबाहेकको मोर्चाबन्दीमा समेत गठबन्धन माथि पर्ने तथ्याकंले देखाएको छ । देशभर राप्रपासंग आसन्न चुनावमा एमालेले सहकार्य गर्न सक्ने आंकलन भइरहे पनि यो क्षेत्रका राप्रपाका नेताहरु भर्खरै एमालेका उम्मेदवारसंग आमने सामने भएर चुनाव लडेका कारण कार्यकर्ता र राप्रपाका मतदाताहरु एमालेसंगको दुरीमा छन । उनीहरु कांग्रेससहितको गठबन्धनमा प्रत्यक्ष संलग्न नरहेपनि यो क्षेत्रमा गठबन्धनका उम्मेदवार विरुद्ध एमालेसंग तालमेल गरेर जान सक्ने सम्भावना नरहेको राप्रपाका स्थानीय नेता कार्यकर्ताहरुको बुझाई छ ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : २६ बजे