४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

ओलीको गृह जिल्लामै आन्तरिक विवाद चुलिँदो, चुनावमा असर पर्ने संकेत





दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमाले भित्रको आन्तरिक विवाद मत्थर हुन सकेको छैन । एकपछि अर्को गर्दै पार्टी तथा भातृ संगठनहरुमा नेतृत्व चयनदेखि निर्वाचनमा नेता, कार्यकर्ताहरुको परिचालन, सांगठनिक इमान्दारिता र अनुशासन उल्लंघनको बिषयलाई लिएर विवाद चुलिँदो छ । पार्टी अध्यक्ष ओली आफैंले उदघाटन गरेको अधिवेशन पनि पूर्ण रुपमा सम्पन्न नगरी स्थगित भएको छ ।
एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) झापाको नवौं जिल्ला अधिवेशन नेतृत्व चयन गर्न नसकि स्थगित भएको हो ।
जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने कूल १४९ जना सदस्य सर्वसम्मत चयन गरेको सो अधिवेशनमा जिल्ला अध्यक्षसहित पदाधिकारीहरुको चयन नगरी स्थगित भएको अनेमसंघ सम्बद्ध स्रोतले जनाएको छ ।
संघको जिल्लाको पूर्ण कमिटी १५१ जनाको हुने व्यवस्था रहे पनि २ जना सदस्य पहिलो बैठकबाट मनोनित गरिने भएकाले १४९ जनाको चयन सर्वसम्मत भएको हो । पदाधिकारीमा सर्वसम्मत नभएपछि निर्वाचनको अवस्था सिर्जना भएकाले पार्टी नेतृत्वले हस्तक्षेप गरेको हो ।
संघको जिल्ला अध्यक्षमा उम्मेद्वार एमाले जिल्ला कमिटी उपसचिव समेत रहेकी चन्द्रा श्रेष्ठ, संगठन इञ्चार्ज पवित्रा पाठक र पार्टी जिल्ला कमिटी सदस्य समेत रहेको तत्कालिन जिल्ला सचिव लिला ढुंगेल दाहालको दाबी रहेको बताइएको छ । तीन जना आकांक्षीहरुलाई मनाउन नसक्दा पार्टी नेतृत्वले अधिवेशनमा निर्वाचन प्रकृयानै स्थगित गरेको बताइएको छ । सो अधिवेशनको ४ भाद्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका थिए ।
एमालेबाट माधवकुमार नेपालको नेतृत्वमा एउटा समुहनै अलग भएर एकीकृत समाजवादी स्थापना गरेपनि ओलीको गृह जिल्ला झापामा पार्टीको संस्थापन पक्षभित्रै विभिन्न गुट उपगुटहरु हाबी हुँदा पार्टीको दमक नगर कमिटीदेखि जनवर्गीय संगठनहरुमा समेत आन्तरिक विवाद चुलिँदो छ । विशेष गरी पार्टी अध्यक्ष ओलीको गृह जिल्लामानै एमाले भित्र को ओलीको विश्वास पात्र बन्ने ? भन्ने होडबाजी छ भने पार्टी भित्र योगदान र सक्रियताको मुल्याकंन नभएको गुनासो व्याप्त छ ।
अध्यक्ष ओली आउँदा झापामा रहेका पार्टी भित्रका समुह एक अर्को समुहलाई छेउ पर्नै नदिने कसरतमा लाग्ने गरेको चर्चा छ ।
जिल्लामा पूर्व जिल्ला कमिटी सचिव रहेका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, पार्टी जिल्ला इञ्चार्ज अग्नी खरेल, जिल्ला अध्यक्ष दिपक कार्की, ओलीका विश्वास पात्र मानिने युवा संघका नेता एवं पार्टी केन्द्रीय सदस्य गोविन्द थापा लगायतको समर्थन प्राप्त समुहहरु क्रियाशील छन ।
तिनै समुहका नेताहरु आआफनै प्रभाव देखाउने र आफनो अनुकुलको नेतृत्व चयन गर्ने कसरतमा लाग्ने गरेका छन ।
भर्खरै युवा संघ नेपालको जिल्ला कमिटी अध्यक्षमा शिवसताक्षीका फुर्वा लामालाई पार्टी नेतृत्वले जिम्मेवारी दिएपछि त्यसको विरोधमा युवा संघका कतिपय जिल्ला तथा केन्द्रस्तरका नेताहरुले नै सामाजिक सञ्जाल मार्फत त्यस्तो निर्णयको विरोध जनाए । पार्टी अध्यक्ष ओलीको गृह नगर दमकमा पार्टीको नगर अधिवेशन समेत पूर्ण रुपमा नेतृत्व चयन नगरी गत स्थानीय चुनावमा होमियो ।
पार्टी अधिवेशनले गेहनाथ पोखरेलको अध्यक्षतामा अन्य पदाधिकारी तथा सदस्यहरुको चयन गरेपनि उपाध्यक्षका दाबेदारद्धय मेदनी खरेल र दिपेश दाहाल मध्ये को ? भन्ने बिषयमा निक्र्यौल नगरी पार्टी स्थानीय चुनावमा होमिएको थियो । चुनावमा दाहाल आफैं दमक ८ बाट वडाध्यक्षको उम्मेदवार थिए । उनीसहित नगरका ७ जना वडाध्यक्ष र बहुमत सदस्यहरुले चुनाव जित्दै गर्दा नगर प्रमुख र उपप्रमुखमा भने एमालेले हार खेप्यो । पार्टी संगठन परिचालनमा कमजोरी भएको कारण स्थानीय चुनावमा हार ब्यहोर्नु परेको विश्लेषण पार्टी भित्र भइरहेकै छ ।
यसैबीचमा पार्टी अध्यक्ष ओली श्रावणको तेस्रो साता दमक आएर कार्यकर्ताहरुको भेलामा चुनाव हारको कारण कार्यकर्ताहरुलाई नै सोधे । घुमाउरो शैलीमा उनले आफनैले चुनाव हराएको संकेत गर्दै अर्कालाई चुनाव जिताउँदा पार्टीलाई नोक्सान भएको उल्लेख गरे ।
उनको झापा आगमनका क्रममा कैंयौं कार्यकर्ताहरुले भित्र भित्रै स्थानीय चुनावमा अन्तर्घात गर्ने समुह विरुद्ध आवाज उठाउन खोजेपनि नेतृत्वले मसिंरमा हुने माथिल्लो तहका निर्वाचनलाई नकारात्मक असर पार्ने बुझेर अन्तर्घातको बहस चल्नै दिएनन । कतिपय कार्यकर्ताहरुले ओली झापा आउँदा अपेक्षा गरिए अनुसारको काम हुन नसकेको भनि अध्यक्ष ओलीप्रति ब्यग्यं प्रहार गरेका थिए । पछिल्लो समय पार्टी नेतृत्वप्रति कार्यकर्ताहरुमा बढदो आक्रोश र निराशाले आगामी निर्वाचन परिणाममा अध्यक्ष ओलीलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पार्ने संकेत देखिएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : २० बजे