५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सद्भाव र एकतासहित दमकमा विश्व आदिवासी दिवस मनाईने



दमक/ विश्व आदिवासी दिवस सम्पूर्ण जातजाती र भाषा भाषीबीचको सदभाव र एकतासहित आदिवासी अग्राधिकारमा जोड दिदैं मनाउने कार्यक्रम तय भएको छ ।
यस बर्षको २८ औं विश्व आदिवासी दिवस मनाउन संयुक्त राष्ट संघले आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा महिला सहभागिता भन्ने मुल नारा तय गरेको छ भने नेपालमा आदिवासी जनजाती महासंघले पहिचान, पहुँच , प्रतिनिधित्व र समावेशीकरणका लागि आदिवासी जनजाती आन्दोलन, जाती भाषा धर्म र संस्कृति संरक्षणा लागि देशव्यापी राष्टिय जागरण भन्ने नारासहित यो दिवस मनाइँदैछ । हरेक बर्ष ९ अगष्टका दिन विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।
दमकमा नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषदको मुख्य आयोजना र नगरमा रहेका २२ वटै जातजातीको सहभागितामा यहि २४ श्रावण अर्थात मंगलबार यो दिवस मनाउन लागिएको हो । महासंघ नगर समन्वय परिषदले आज (आइतबार) पत्रकार सम्मेलन मार्फत आदिवासी दिवस मनाउने कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा जनाइए अनुसार सो दिन २२ वटै जातजातीको सहभागितामा आआफनो परम्परागत भेषभुषा र बाजागाजासहितको झाँकीले नगरको महत्वपूर्ण भाग परिक्रमा गर्नेछ ।
सो झाँकी प्रदर्शनपछि आयोजना हुने आदिवासी जनजातीहरुको भेलालाई आदिवासी जनजाती महासंघका नेता, अन्तराष्टिय श्रम संगठन आइएलओ सम्बन्धिका जानकारहरु तथा स्थानीय सरकारका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको महासंघका नगर समन्वय परिषद सचिव मणिराज धिमालले जानकारी दिए । महासंघ नगर समन्वय परिषदका अध्यक्ष गुमानसिंह तामागंले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा आदिवासी हक अधिकार सुनिश्चितता र जातीय एकताको सन्देश दिने नाराहरु समेत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : १८ बजे