४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

झापामा कांग्रेस – माओवादी गठबन्धन कति घाटा, कति नाफा ?



झापा, जेठ १२ । झापामा स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा कांग्रेस–माओवादी गठबन्धन घाटामा देखिएको छ ।

कांग्रेस–माओवादीको भन्दा राप्रपा र एमालेसंगको कांग्रेसको गठबन्धन उपलव्धिमूलक छ । धेरै सिट जित्ने योजनासहित गठबन्धन गरेर निर्वाचन लडेका कांगे्रस र माओवादी दुवै पार्टीका लागि मत परिणाम अपेक्षित सफल बन्न सकेन । कांग्रेसले ‘ठीकठीकै’ परिणाम पाएपनि माओवादीको लागि चुनावी गठबन्धन ‘घाटैघाटा’ भएको छ । जिल्लामा अनपेक्षित मत परिणाम आएकै कारण गठबन्धनले अहिलेसम्म चुनावी समीक्षा गर्न सकेको छैन । पार्टीभित्रको व्याप्त अन्तरविरोधका कारण पार्टी र गठबन्धनले हार बेहोर्नुपरेपछि यतिबेला नेतृत्व डर र गुनासो लिएर बसेको छ ।

कांग्रेस र माओवादीले झापामा ११ वटा पालिकामा गठबन्धन बनाएर निर्वाचन लडेका थिए भने तीनवटामा मित्रवत प्रतिष्पर्धा गरेका थिए । ११ वटा पालिकामध्ये दमकमा राप्रपा पनि सामेल भएको थियो । त्यस्तै कचनकवलमा कांग्रेसले एमालेसंग ‘खुद्रा’ गठबन्धन गरेको थियो । माओवादीसंग कांग्रेसले प्याकेजमा गठबन्धन गरेको थियो । सहमति अनुसार कांग्रेसले जिल्लाका ११ वटा पालिकामध्ये १० वटा प्रमुख÷ अध्यक्ष , एउटा उपप्रमुख र ७३ वटा वडाध्यक्षको सिट पाएको थियो । तर, निर्वाचनमा कांग्रेसले गठबन्धनका तर्फबाट मात्र ४ वटा प्रमुख÷अध्यक्ष , एउटा उपप्रमुख र ३७ वटा वडाध्यक्ष जितेको छ ।

अरु पार्टीसंगको गठबन्धन र सिंगल प्रतिष्पर्धामा गरी झापामा कांग्रेसले ७ वटा प्रमुख÷ अध्यक्ष, २ उपप्रमुख , ५१ वडाध्यक्ष र १३६ वडा सदस्य गरी कूल १९६ सिट जितेको छ । माओवादीसंगको गठबन्धनबाहेक कांग्रेसले सिंगल प्रतिष्पर्धा र एमालेसंगको गठबन्धनबाट दुईवटा अध्यक्ष , एक–एकवटा उपप्रमुख र उपाध्यक्ष र १४ वटा वडाध्यक्ष जितेको हो ।

कांग्रेसले कहाँ कति गुमायो ?
माओवादीसंगको चुनावी गठबन्धनबाट कांग्रेसले पचास प्रतिशतमात्र सफलता हात पारेको देखिन्छ । उसले पाएको ११ वटा प्रमुख , उपप्रमुख र ७३ वटा वडाध्यक्ष गरी कूल ८४ सिटमध्ये ५ वटा प्रमुख , उपप्रमुख र ३७ वटा वडाध्यक्ष गरी ४२ सिट जितेको छ । जुन पचास प्रतिशत हो । कांग्रेसले पाएको भागवण्डा र प्राप्त नतिजा यस प्रकार रहेको छ ।

मेचीनगरमा कांग्रेसले प्रमुख र ११ वटा वडाध्यक्षमा निर्वाचन लडेकोमा प्रमुखमा हार बेहोर्दै मात्र ३ वटा वडाध्यक्ष जितेको छ भने बुद्धशान्तिमा अध्यक्ष र ६ वटा वडाध्यक्ष पाउँदा अध्यक्ष र ४ वटा वडाध्यक्षमा जित पाएको छ । बिर्तामोडमा प्रमुख र ८ वटा वडाध्यक्ष पाउँदा ३ वटा वडाध्यक्ष जितेर प्रमुख र ५ वटा वडाध्यक्ष हारेको छ । भद्रपुरमा प्रमुख र ७ वटा वडाध्यक्ष पाएकोमा प्रमुख र ४ वटा वडाध्यक्षमा विजयी हासिल गरेको छ । बाह्रदशीमा पाएको अध्यक्ष र ५ वटा वडाध्यक्षमध्ये ४ वटा वडाध्यक्ष मात्र जितेको छ । त्यस्तै शिवसताक्षीमा प्रमुख र ९ वटा वडाध्यक्ष पाउँदा ५ वटा वडाध्यक्ष जितेको कांग्रेसले कमलमा २ वटा वडाध्यक्षमध्ये एउटा वडाध्यक्ष र अध्यक्ष पद जितेको छ भने दमकमा उपप्रमुखमा जित हासिल गर्दै पाएको ४ वटा वडाध्यक्षमध्ये मात्र दुईवटा वडाध्यक्षमा जित निकालेको छ । त्यस्तै गौरादहमा प्रमुख र ५ वटा वडाध्यक्ष गुमाउँदै दुईवटामा मात्र जित हासिल गरेको छ । अर्जुनधारामा प्रमुख गुमाउँदै १० वटा वडाध्यक्षमध्ये ७ वटा जितेको कांग्रेसले गौरीगञ्जमा अध्यक्ष र दुईवटा वडाध्यक्ष जित्दा दुईवटा वडाध्यक्षमा हार बेहोरेको छ ।

त्यस्तै मित्रवत प्रतिष्पर्धा गरेको कांग्रेसले झापा गाउँपालिकामा सबैभन्दा बढी सफलता हात पारेको छ । त्यहाँ अध्यक्ष , उपाध्यक्ष र ५ वटा वडाध्यक्ष जितेको हो भने हल्दिबारीमा कमजोर सावित भएको छ । ५ वटा वडा रहेको हल्दिबारीमा कांग्रेसले एउटा मात्र वडाध्यक्ष जित्दै अध्यक्ष र ४ वटा वडाध्यक्ष पदमा हार बेहोरेको हो । त्यस्तै सिंगल चुनाव लडेको कनकाईमा पनि कांग्रेसले क्षति बेहोरेको छ । प्रमुखमा शेरबहादुर थापाले बागी उम्मेदवार बनेर चुनाव लडेपछि कांग्रेस उपप्रमुख र दुई वटा वडाध्यक्षमा सीमित भएको हो । त्यहाँ कांग्रेसले प्रमुखसहित ९ वटै वडामा निर्वाचन लडेको थियो । तर सिंगल चुनाव लडेको बाह्रदशी १ मा उसले वडाध्यक्षसहित सेट नै जित्दै शतप्रतिशत नतिजा ल्याएको छ

। एमालेसंग गठबन्धन गरेको कचनकवलमा भने दुवै दलले पूर्णरुपमा सफलता हात पारेका छन् । कांग्रेसले अध्यक्षसहित ६ वटा वडा जित्दा एमालेले उपाध्यक्षसहित एउटा वडा जितेको छ । अन्यत्र नभएपनि कमलमा गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीले एउटा वडाध्यक्ष र लिम्बुवानले एउटा सदस्य पद जितेका छन् ।

माओवादीलाई बढी घाटा
साझेदार माओवादीलाई चुनावी गठबन्धनबाट कांग्रेसभन्दा बढी घाटा लागेको छ । जिल्लाका १० वटा पालिकामा उपप्रमुख÷ उपाध्यक्ष र २३ वटा वडाध्यक्ष भागवण्डामा पाएको माओवादीले एउटै पनि उपप्रमुख÷ उपाध्यक्ष जित्न सकेन । त्यस्तै मात्र ७ वटा वडाध्यक्षमा चित्त बुझाउनुपर्यो । कांग्रेसले ५० प्रतिशत जित निकाल्दा माओवादीले २१ प्रतिशत जित हासिल गरेको तथ्यांकले देखाएको छ । माओवादीले जितेको पद यस प्रकार रहेको छ ।

माओवादीले मेचीनगरमा उपप्रमुख र ४ वटा वडाध्यक्ष पाउँदा केवल एउटा वडाध्यक्ष जित्न सक्यो भने बुद्धशान्तिमा उपाध्यक्ष र एउटा वडाध्यक्ष पाएकोमा निर्वाचनमा निल खानुपर्यो । त्यस्तै बिर्तामोडमा पनि पाएको उपप्रमुखसहित दुईवटा वडाध्यक्षमा निल खानुपर्यो । भद्रपुरमा उपप्रमुख र तीनवटा वडाध्यक्षमध्ये एउटा वडाध्यक्ष मात्र जित्न सकेको माओवादी बाह्रदशीमा पनि निल भएको छ । उपाध्यक्ष र एउटा वडाध्यक्षमा निर्वाचन हारेको हो । त्यस्तै शिवसताक्षीमा उपाध्यक्ष गुमाउँदै एउटा वडाध्यक्ष जितेको माओवादीले कमलमा उपाध्यक्ष र एउटा वडाध्यक्षमा हार बेहोर्दै एउटा वडाध्यक्ष जितेको छ ।

दमकमा पाएको चारवटा वडाध्यक्ष, गौरादहमा उपप्रमुखसहित दुईवटा वडाध्यक्ष र अर्जुनधारामा उपप्रमुखसहित एउटा वडाध्यक्ष सबैमा निल भएको छ । गौरीगञ्जमा उपप्रमुखसहित दुईवटा वडाध्यक्ष पाउँदा एउटा वडाध्यक्ष मात्र जित्न सकेको छ ।

माओवादीसंग मत नै रहेनछ
झापामा भएको स्थानीय तहको निर्वाचनमा गठबन्धनले हुवहु सफलता हासिल गर्न नसकेको कांग्रेसको निष्कर्ष छ । माओवादीभन्दा एमाले र राप्रपासंगको गठबन्धन सफल रहेको उसको ठम्याइ छ । निर्वाचनका क्रममा माओवादीसंग जनमत नभएको कुरा पुष्टि भएको कांग्रेसका जिल्ला सभापति देउकुमार थेबेले बताए ।त्योसंगै कांग्रेसभित्रको अन्तर्घातको चरण बढेपछि सोचेको सफलता हात पार्न नसकेको उनले स्वीकार गरे । माओवादीसंग चुनावी तालमेल गर्ने क्रममा कांग्रेसले पार्टीका आकांक्षीहरुलाई सही किसिमले व्यवस्थापन गर्न नसक्दा कतिपयले वागी उम्मेदवारी दिएका थिए भने निर्वाचनका बेला कतिपयले अन्तर्घात गरेका थिए । नेतृत्वले ठीक ढंगले टिकट वितरण गर्न नसक्दा आकांक्षीले वागी उम्मेदवारी दिएको र आफ्ना उम्मेदवारलाई अन्तर्घात गरेको कार्यकर्ताहरुको ठम्याइ छ ।

पार्टी सभापति भएको हैसियतले स्थानीय निर्वाचनको परिणामको आफूले जिम्मेवारी लिने थेबेले बताए । जिल्ला समितिले ७ वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट वितरण गर्ने जिम्मेवारी पुरा गरेको भन्दै उनले आफूहरुले टिकट वितरण गरेको ७ वटा पालिकामध्ये ५ वटामा सफलतापूर्वक जित हासिल गरेको जानकारी दिए । नगरपालिकाको लागि कांग्रेसको प्रदेश समितिले टिकट वितरण गरेको थियो । उनले आफू मतदाता रहेको झापा गाउँपालिकामा कांग्रेसले राम्रो सफलता हात पार्दै एमालेलाई निल बनाएको दावी गरे ।

त्यस्तै एमाले अध्यक्ष केपी ओलीको ठाउँ दमकमा लालकिल्ला भत्काउँदै कांग्रेसले उपप्रमुख र दुईवटा वडाध्यक्ष जित्न सफल बनेको बताए । त्यस्तै ओलीकै क्षेत्र गौरीगञ्ज र कमलमा पनि कांग्रेसले शानदार जित हासिल गरेको उनको भनाइ छ । समग्रमा झापामा गरिएको चुनावी गठबन्धनले इज्जत रहनेगरी मतपरिणाम हासिल गरेको उनले दावी गरे ।

कांग्रेसले इमान्दारिता देखाउन सकेन
गठबन्धनका साझेदार कांग्रेसले निर्वाचनमा इमान्दारिता देखाउन नसकेको माओवादीको ठम्याइ छ । यसको पछाडि कांग्रेसभित्र गुट व्यवस्थापन गर्न नसक्दा समस्या भएको माओवादीले जनाएको छ । बिर्तामोड नगरपालिकामा उपप्रमुखको उम्मेदवार बनेर पराजय बेहोरेका माओवादीका सहइन्चार्ज सीपी कडरियाले कांग्रेसभित्रको घात अन्तर्घातको घानभित्र आफूहरु परेको प्रतिक्रिया दिए । माओवादीले गठबन्धनलाई इमान्दारपूर्वक मतदान गरेपनि कांग्रेसले नगरेको उनको बुझाइ छ ।

‘हामीले गठबन्धनलाई ओभरल भोट दियौं ’ उनले भने ,‘ कांग्रेसको चाहिँ माओवादीप्रति अरुचि देखियो ।’ कांग्रेसको रुचि राप्रपातिर देखिएको उनले दावी गरे । बदर मतका कारण धेरै ठाउँमा गठबन्धनले हार बेहोर्नु परेको भन्दै उनले झापा , मोरङ र सुनसरीबाहेक समग्र देशको चुनावी गठबन्धन सकारात्मक रहेको प्रतिक्रिया दिए ।
(प्रतिदिनबाट साभार )

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ८ : ३३ बजे