१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुबईमा अलपत्र परेर घर फर्किएका गाैरीगंजका १० युवालाई रकम फिर्ता गर्न एजेन्ट सञ्जय महताे सहमत



गाैरीगंज १८, फागुन / वैदेशिक राेजगारका क्रममा दुवईमा अलपत्र परेका गाैरीगंजका १० जना युवालाई एजेन्टले रकम फिर्ता गर्न सहमत भएका छन् ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजमा दुवै पक्षबीच भएकाे छलफल पश्चात एजेन्ट सञ्जय महताेले जनही १ लाख ४२ हजार रूपैयाँ आज बुधबार पिडितहरूलाई फिर्ता गर्ने सहमति जनाएका हुन् ।
उनले पिडितहरूलाई जनही १ लाख ४२ हजार गरी १४ लाख २० हजार रूपैयाँ तीन किस्तामा असार मसान्त सम्म रकम फिर्ता गर्ने सहमत जनाएका छन् । एजेन्ट महताेले भिजिट भिसामा उनीहरूलाई माघकाे पहिलाे हप्तामा मासिक १२ सय ७५ रियाल तलबमा ग्यास प्लान्टमा काम लगाईदिने भनी दुवई पठाएका थिए ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ का नुर महम्मद मियाँ, दिपक कुमार साह, मोहम्मद नजिमाेदिन, महम्मद समिम हुसेन मियाँ, मोहम्मद मुन्ना मियाँ, मोहम्मद जसिम आलम, राकेश कुमार यादब, धिरज कुमार यादव, आजाद आलम, साजाद आलमलगायत दुबईमा भने बमाेजिम काम नपाएपछि अलपत्र परेका हुन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने सञ्जय महताेले भिजिट भिसालाई परिणत गरी बर्किङ्ग भिसामा मासिक १२ सय ७५ रियालमा काम लगाईदिने, ५ महिना पछि १ महिना छुट्टी हुने, घर अाउन जान प्लेन टिकट पनि कम्पनीले दिने भनी ती युवाहरूलाई प्रलाेभन देखाई जनही रू २ लाख लिएकाे पिडितहरूकाे दाबी थियाे ।
एजेन्टले भने बमाेजिम काम नपाएपछि घर फर्किएका ती युवाहरूले अाफुहरूले दिएकाे रकम फिर्ता पाउनु पर्ने भन्दै ईलाका प्रहरी कार्यालय गाैरीगंज पुगेका थिए । छलफलमा नेपाली कांग्रेस क्षेत्र नं. ५ प्रदेश (क)का सभापति जिवन कुमार राई, गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, गाैरीगंज -३ का वडा अध्यक्ष मखना महताे, नेपाली कांग्रेस पुर्व महासमिति सदस्य घनश्याम रिजाल, नेपाली कांग्रेस क्षेत्र नं. ५ प्रदेश ( क) उपसभापति आत्माराम राजवंशी, एमालेका जयनारायण दास, एमाले गाैरीगंजका सचिव श्रवण गिरी, पुर्व गाविस अध्यक्ष विजय अग्रवाल, विश्वराज रिजाल, नसिराेदिन मियाँ, माे. आसामुदिन मियाँलगायतकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : ५४ बजे