१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयकाे भवन निर्माण हुने आधार तयार




​​​​​​​गाैरीगंज २४ , पुस / राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयको भवन बन्ने आधार तयार भएको छ । झापा गौरीगन्ज गाउँपालिका–६ का जेष्ठ नागरिक धनञ्जयप्रसाद राजवंशी (बाबुलाल)ले सो संस्थाको भवन निर्माणका लागि ३० लाख रुपैयाँ बराबरको जग्गा दिने भएपछि भवन निर्माणको आधार तयार भएको हो ।

सञ्चारकर्मीसमेत रहेका आत्माराम राजवंशीका अनुसार समाजसेवी तथा धार्मिक व्यक्तित्व धनञ्जयले भवन निर्माणका लागि सोही ठाउँको तीन कठ्ठा जग्गा निःशुल्कमा दान दिने घोषणा गरेका छन् । उनले जग्गा दिने मञ्जुरीनामापत्र राजवंशी समाज विकास समितिका केन्द्रीय सल्लाहकार देवीप्रसाद राजवंशीलाई हस्तान्तरण गरेका छन् । 

धनञ्जयले भने, ‘जीवनभर केही ठूलो काम गर्न सकिएन, संस्थाको भवन निर्माणमा सहयोग गर्ने चाहनाले जग्गा उपलब्ध गराउन लागेको हुँ ।’ उनले उपलब्ध गराउने जग्गा संस्थाको नाममा पास गर्न तयारीमा संस्था जुटेको सल्लाहकार देवीप्रसादले बताए । 

जग्गा संस्थाको नाममा ल्याएपछि भवन निर्माणका लागि तयारी थालिने बुझिएको छ । भवन निर्माणका लागि संस्थाले लामो समयदेखि जग्गा दिने दाताको खोजी गरिरहेको थियो । 

जातीय उत्थानका लागि राजवंशी समुदायले संस्था नै खोलेर लामो समयदेखि विभिन्न गतिविधि गरिरहेको छ । विशेष गरेर सो समुदायको बसोबास पूर्वी नेपालको झापा , मोरङ र सुनसरीमा छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १ : ५५ बजे