४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरीगंज गाउँपालिका अध्यक्ष श्रेष्ठद्वारा सरकारबाट पाएकाे सेवा सुविधाकाे रकमबाट स्तम्भसहित शालिक निर्माण





गाैरीगंज १७, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. २ मा बगाहा चाैधरी महाराजकाे शालिककाे आज शनिवार अनावरण गरिएको छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले आफ्नाे बुवा स्वर्गीय भाईराजा श्रेष्ठ र आमा स्वर्गीय खेम कुमारी श्रेष्ठकाे समृतिमा स्तम्भसहितकाे शालिक अनावरण गरेका हुन् ।
आफ्नै व्यक्तिगत खर्चमा उत्त बगाहा चाैधरी महाराजकाे स्तम्भसहित शालिक निर्माण गरिएकाे गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराजा श्रेष्ठले बताए । उनले भने – ‘राज्यबाट आफुले पाएकाे सेवा सुविधाकाे रकम यसै शालिक निर्माणमा लगाएकाे हुँ । जुन चुनावका बेला मैले राज्य काेषबाट कुनै सेवा सुविधा लिन्न भनेकाे थिए ।’
स्थानिय ठाउँ र सांस्कृतिक धराेहरलाई संरक्षण गर्नु प्रत्येक नागरिककाे कर्तव्य भएकाेले साेहि अनुरूप आफुले पनि बगाहा चाैधरी महाराजकाे शालिक र स्तम्भ निर्माण गरी यस ठाउँकाे ईतिहासलाई जाेगाई राख्न सानाे सहयाेग गरेकाे अध्यक्ष श्रेष्ठले बताए ।

गाैरीगंज गाउँपालिका वार्ड नं. २ बगाहा चाैधरी बजार दक्षिण छेउमा निर्माण गरिएकाे उत्त स्तम्भ स्थापना गर्न ५ लाख २५ हजार रूपैयाँ खर्च भएकाे वार्ड नं. २ का वडा अध्यक्ष अघ्नुप्रसाद राजवंशीले बताए ।

बगाहा चाैधरी महाराजकाे नाममा महाराजथान स्थापना गरी शक्ति पीठकाे रूपमा स्थानिय आदिवासी समुदायले पुजाअाजा गर्दै आएकाे ऐतिहासिक देवस्थल हाे । वगाहा चाैधरी महाराज कै नामले उत्त स्थानकाे नाम बगाहा चाैधरी बजारकाे नाममा प्रचलित छ । स्थानिय भीमप्रसाद राजवंशीका अनुसार बगाहा चाैधरी नामकाे मान्छे थिए । उत्त मानिसकाे मृत्यु हुँदा समेत केही दिनमा जिउँदाे भई फेरि मानवकाे रूपमा प्रकट हुन्थे । उनलाई माटाे मुनि गाड्दासमेत पुन: प्रकट भई जिउँदै हुने गर्थे ।
उनकाे अदृश्य शक्तिले स्थानियवासीहरूले आफ्नाे गाउँ -टाेलकाे रक्षा गर्ने भएकाेले ती मानिसलाई महाराजकाे रूपमा पुज्ने गरेकाे जनविश्वास रहेकाे राजवंशीले बताए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ का अध्यक्ष अघ्नुप्रसाद राजवंशीकाे सभापतित्वमा भएकाे कार्यक्रमकाे स्वागत वडा सदस्य अरूण प्रसाद राजवंशीले गरेका थिए ।
कार्यक्रममा कार्यपालिका सदस्य जेठा मुर्मु, वडा सदस्य नेत्र राजवंशी, राप्रपा गाैरीगंज अध्यक्ष गणेश पाेख्रेललगायतले मन्तव्य राखेका थिए । स्थानिय युवा तथा शिक्षक राजकुमार ठाकुरले सञ्चालन गरेकाे कार्यक्रममा स्थानिय पार्टी प्रतिनिधि एवं स्थानियहरूकाे उल्लेखनीय सहभागी रहेकाे थियाे।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  २ : ३० बजे