१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमालेसंग खरो प्रतिस्पर्धा गरेर चर्चामा आएका हुकुमसिंह राई प्रदेश सदस्यकाे उम्मेदवार



दमक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा एमालेसंग खरो प्रतिस्पर्धा गरेर चर्चामा आएका नेपाली कांग्रेस झापाका युवा नेता हुकुमसिंह राईले प्रदेश अधिवेशनमा उम्मेदवारी दिने निश्चित भएको छ । कमल गाउँपालिकाको अध्यक्ष पदमा एमाले नेतृ मेनुका काफलेसंग (८२७५/८२७५ ) बराबर मत ल्याएका उनी गोलाप्रथाबाट बाहिरिएका थिए । कांग्रेस झापाको राजनीतिमा स्थापित भएका राईप्रति झापाली कांग्रेस नेता, कार्यकर्ताहरुले देखाएको सदासयता र विश्वासकै कारण हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा झापाको क्षेत्र नं ५ मा सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनी प्रदेशमा पार्टीको नेतृत्वका लागि आकर्षित भएका हुन । उनले यस क्षेत्रमा ४५२ मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका थिए ।

यही मसिंर १८ गते हुने कांग्रेसको प्रदेश अधिवेशनमा उनले आदिवासी जनजाती कोटाबाट १ नम्बर प्रदेश सदस्यमा उम्मेदवारी दिने निधो भएको जनाइएको छ । आज बुधबार विराटनगरमा झापा , मोरङ , सुनसरी, इलाम , पाँचथर लगायत १४ जिल्लाका कांग्रेस नेताहरुसंगको छलफलपछि उनको उम्मेदवारीको बिषय टुंगो लागेको हो ।
युवा पुस्ताको साथ र पाकाहरुको आशिर्वादलाई सर्वोपरी ठानेर कांग्रेस राजनीतिमा सक्रिय बन्दै आएका नेता राईले नेपाली राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न आफनो उम्मेदवारी रहेको बताएका छन । नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले राजनीतिसंगै सामाजिक क्षेत्रमा पनि उदाहरणीय कामहरु गरेर सर्वसाधारण नागरिकको मन जित्न सफल हुँदै आएका छन ।
राईको नेतृत्वमा स्थापना भएको सगुन युवा क्लब प्रदेश एकमा नै सबैभन्दा ठुलो राशीको राष्ट्रियस्तरको भलिबल प्रतियोगिता सञ्चालन गर्ने क्लबका रुपमा परिचित छ । राजनीति र सामाजिक सेवाको क्षेत्रलाई संगसंगै लैजानु आवश्यक ठान्ने गरेका राई भन्छन– युवा पुस्तामा राजनीतिप्रति एकदमै धेरै वितृष्णा छ कतिपय विचारबिहिन र लक्ष्यहीन समुहले आफनो निहित स्वार्थका लागि बदनाम गर्ने चेष्टा गरिरहेका छन , राजनीतिक संस्कार र शैलीमा परिवर्तन ल्याउन आवश्यक छ । उनी भन्छन– राजनीति समाजसेवाको एउटा माध्यम मात्रै नभएर राष्ट्रियता र लोकतन्त्रका निम्ती अनिवार्य तत्व हो । राजनीति भनेको सत्तारोहणको माध्यम मात्रै बन्नु हुँदैन जस्तो सुकै परिस्थितिमा पनि राजनीति जनतामा जोडिनु पर्छ भन्ने मान्यता राख्दै आएका राई अगाडी भन्छन– जनताको आशा र विश्वास टुटन नदिने वाचासहितको राजनीति हुनुपर्छ । उनी एकताका कांग्रेसमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधि पनि बनेका थिए । कांग्रेस झापाको तत्कालिन जिल्ला सदस्य समेत रहेका उनले संघीय संरचनाको कार्यान्वयनमा महत्वपूर्ण मानिएको प्रदेश अधिवेशनमा आफनो उम्मेदवारी आदिवासी जनजाती कोटाबाट प्रदेश कार्यसमितिमा रहेको भन्दै सहयोगका लागि नेता, कार्यकर्ताहरुसंग अपिल गरेका छन ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ६ : १९ बजे