४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भोलीदेखि सरकारी कार्यालयहरु खुल्ने, ३ बजेदेखि बजार बन्द



गाैरीगंज १४, असार / जिल्ला प्रशासन कार्यालय झापाले कोरोना संक्रमणका कारण लगाएको निषेधाज्ञा थप खुकुलो बनाएको छ ।
जिल्लास्तरी कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले गरेको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाद्धारा आज ( सोमबार) जारी निषेधाज्ञा सम्बन्धिको आदेशमा आउँदो एक साताका लागि भोली ( १५ असार) देखि लागू हुने उल्लेख छ । हाल व्यापार व्यवसायका लागि दिउँसो १२ बजे सम्म मात्रै खुल्ला छ ।

आज ( सोमबार) जारी आदेश संगै मंगलबार ( भोली) देखि बेलुका ३ बजे सम्म व्यापार व्यवसाय सञ्चालन हुनेछ भने सरकारी तथा सार्वजनिक संस्था, बीमा संस्था लगायतका कार्यालयहरुले आलोपालो प्रणालीबाट भिडभाड नगरी स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेर कार्य सम्पादन गर्न पाउनेछन । व्यापार व्यवसायको हकमा होटल तथा रेष्टुरेँन्टहरुले यस अघिकै टेक अवे सेवा मात्रै सञ्चालन गर्न पाउनेछन भने अत्यावश्यक बाहेकका सवारी साधनहरु बाहेक निजी सवारी साधन, सिटी सफारी र अटो रिक्सा आवश्यक सुरक्षाका मापदण्ड अपनाएर जोरबिजोर प्रणालीमा सञ्चालन हुनेछन । बैंक तथा वित्तिय संस्थाहरु सञ्चालन हुनेछन ।

सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीसीएमसीले गरेको छ । अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कम्पनीलगायतका कार्यालयले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालय सञ्चालन गर्न आग्रह गरिएको छ ।

बैठकले अत्यावश्यकसेवाहरु बाहेकका सबै प्रकारका नीजि सवारी साधन, सिटीसफारी, अटोरिक्सा जोरविजोर प्रणाली अन्तरगत झापा जिल्ला भरी सञ्चालन गर्न पाउने निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । हवाई यात्रा गरेका /गर्ने यात्रुहरुलाई हवाई टिकट वा बोडिङ पास देखाएर विमानस्थलसम्म जान तथा विमानस्थलबाट गन्तव्यसम्म जान ट्याक्सि प्रयोग गर्न पाउने निर्णय गरेको छ । धान रोप्ने समय सुरु भएकाले खेत जोत्न प्रयोग हुने ट्रयाक्टर सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । प्रशासनले बैंक तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालन गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ३३ बजे