४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

खेलकुद पत्रकार मञ्चद्धारा पत्रकार महासंघलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान



बिर्तामोड १९,जेठ/ नेपाल खेलकुद पत्रकार मञ्च झापाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पत्रकारको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
बुधबार बिर्तामोडस्थित मञ्चको सचिवालयमा उक्त सामग्री प्रदान गरिएको हो ।
खेलकुद पत्रकार मञ्चको तर्फबाट अध्यक्ष हिमाल खरेल, कोषाध्यक्ष राजु पौडेल र सल्लाहकार इन्द्रजित मुखियाले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
मञ्चले एक सय थान सेनिटाइजर, एक हजार थान मास्क र फेससिल हस्तान्तरण गरेको हो ।
संकटको घडीमा सहयोग गरेकोमा महासंघका अध्यक्ष गिरीले खेलकुद पत्रकार मञ्चलाई धन्यवाद दिदै मञ्चसंग उद्देश्य मिल्ने अभियानमा सहकार्य गर्ने बताए ।
 कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कोषाध्यक्ष रञ्जित प्रसाईं, कार्यसमिति सदस्यहरु रञ्जित परियार लगायतको सहभागिता रहेको थियो ।
हालसम्म झापाका ३३ पत्रकार कोरोनाबाट संक्रमित भएको, त्यसमध्ये एक जनाको निधन भएको र हाल पाँच जना होम आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  २ : ४३ बजे