४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

कोरोनामा डा. शेखरले देखाए सक्रियता, भन्छन– ‘राज्य नभएको जस्तो देखियो’



विराटनगर१८, वैशाख / कोरोना महामारीका कारण देश अस्तव्यस्त भइरहेको बेला नेपाल कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सरकारबाट भइरहेका कामको जानकारी र स्वास्थ्य सरोकारवाला निकायहरुसंगको अन्तरक्रियामा छन ।

सरकार र कम्युनिष्ट पार्टीहरु सत्ताको दाउपेचमा रुमलिएका बेला कांग्रेस नेता डा. कोइराला भने गृह जिल्ला विराटनगरमा बसेर १ नंं. प्रदेशका स्वास्थ्य संस्थाले कोरोना रोकथाम र नियन्त्रणमा गरेका कामको बारेमा जानकारी लिन र आवश्यक राय सुझाव दिन व्यस्त रहेका हुन ।

डा. कोइरालाले प्रदेश १ मा कोभिड–१९ को दोश्रो भेरियन्ट नियन्त्रण, न्यूनिकरण र रोकथाममा भइरहेका कामका बारेमा जानकारी लिँदै आवश्यक सुझाव राखेका उनको सचिवालयले जनाएको छ ।

 

बिराटनगरस्थित कोइराला निवासमा मोरङका जिल्ला जनस्वास्थ्य प्रमुख डा. सुरेश मेहता, नेपाल मेडिकल एशोसिएसन कोशी अञ्चल अध्यक्ष डा. फरवार्ड सिलवाल, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. सागर पौडेल र बिराटनगर महानगरका जनस्वास्थ्य प्रमुख रमेश कार्कीसँग परामर्श गर्दै डा. कोइरालाले यो महामारीबाट जोगाउन अपनाउन सकिने सबै खाले उपायहरु अवलम्बन गर्न अनुरोध गरे ।

उनले राज्य संयन्त्र र सर्वसाधारण नागरिकहरु स्वयं अहिलेको महामारी र विश्वजगतमा भइरहेको नोक्सानीका बिषयमा गम्भिर हुनुपर्ने सुझाव दिए । डा. शेखरले अहिले राज्य संयन्त्रको मुख्य काम जनताको जिउधनको सुरक्षा गर्नेतर्फ हुनु पर्ने बताउँदै भने ‘कुनैपनि दुखः पिडा र महामारीबाट जनताको जिउधनको सुरक्षा गर्ने दायित्व राज्यको हुन्छ । अहिले राज्य नभएको देखिइहेको छ ।’

डा. कोइरालाले सरकारका निकायले कोरोना जोखिम न्युनीकरणमा गरेका कामहरुको जानकारी लिँदै आफ्ना राय सुझाब पनि दिएका थिए । कोरोनाबाट जोगिने सबैभन्दा सजिलो उपाय सामाजिक दुरी नै रहेको बताउँदै जनतामा सामाजिक दुरीका बोमा सचेतना फैलाउनु पर्ने, सरकारले सबै प्रकारका जनतालाई कोरोना भ्याक्सिन उपलब्ध गराउनु पर्ने, कोरोना संक्रमितको पहिचान, उपचारका लागि अस्पताल, भेन्टिलेटर, वेडहरु र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न सुझाएका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ३ : २६ बजे