१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्रीमती १५ दिनदेखि बेपत्ता, खाेजिदिन चन्द्र राजवंशीकाे आग्रह


५ मंसिर २०७७, शुक्रबार  

0
Shares

विर्तामोड ५, मंसिर / 

आफ्नी बिवाहित श्रीमती, त्यसमा पनि दुई सन्तानकी आमा, एक्कासी बेपत्ता हुनु र मान्छे फर्केर आउनुको साटो आफूले लगाएको लुगा मात्र फिर्ता गरिदिँदा श्रीमानलाई कस्तो पीडा होला !

ठीक यस्तै घटनाले पीडा भएको छ– झापाको कचनकबल गाउँपालिका–२ सुकनाडिगी निवासी चन्द्र राजवंशीलाई । केही दिनअघि बेपत्ता भएकी राजवंशीकी श्रीमती हिरमनी राजबंशीको भित्रिबस्त्रसहित लगाएको कपडा फिर्ता आएपछि राजबंशीको जीवनमा यस्तो अतिशय पीडाबोध भएको हो ।

बिर्तामोडमा भाडामा लिएर सिटी रिक्सा चलाउँदै आएका ३० वर्षीय चन्द्र राजवंशीका अनुसार गत असोज २३ गते बैंकबाट पैसा निकालेर आउँछु भन्दै भद्रपुर हिँडेकी उनकी श्रीमती घर फर्केर नआएपछि फोन गर्दा दमक पुगेको र त्यहीं एक साहुको घरको काममा लागेको र केही दिनमा फर्केर आउने बताएकी थिइन् । राजबंशीले भने– ‘त्यसपछि फोनमा दशैंमा आउने भनेपछि केही दिन फर्केर आउलिन् भनेर बाटो हेरें तर उनी नआई केवल शरीरमा लगाएको लुगा र केही खाद्यान्न अरुमार्फत प्राप्त भयो । यस्तो के भएको हो !’

फोनमा आफू घर साहु भएको भन्दै अपरिचित पुरुष बोलेर चिन्ता नलिनु भनेको भए पनि लगत्तै फोन सम्पर्क हुन नसकेको पीडित राजबंशी बताउँछन् । दमकसम्म पुगेर प्रहरीलाई जानकारी गराई खोजी गर्दा समेत पतो नलागेको उनले बताए । हराएको १५ दिनपछिदेखि ती महिला सम्पर्कविहीन भएको बताइएको छ ।

राजबंशीले श्रीमतीलाई फोनमा कसैसँग पोइला गएको भए भन्नु म खोजी गर्दिनँभन्दा श्रीमतीले त्यस्तो नभएको र आफू चाँडै आउने भनेको बताए । कुनै दलालले कब्जामा लिएको र बेचबिखन हुनसक्ने आशंकामा बेपत्ता श्रीमतीको खोजीगरिदिन जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराइसकेको उनले बताए ।

बेपत्ता ३६ वर्षीया हिरमनीका १२ र ८ वर्षीया दुई छोरी रहेका छन् । अरुको जग्गामा बसोबास गर्दै आएका राजबंशीका आमा बेपत्ता भएपछि छोरीहरु रोइरहेकाले सम्पूर्ण मानवअधिकार कर्मी, महिला अधिकारकर्मी, प्रहरी, सञ्चारकर्मी सबैलाई श्रीमतीको खोजी गरिदिन उनले आव्हान गरेका छन् ।

(पुर्वाञ्चल डटकम अनलाईनबाट )

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ५७ बजे