३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सीमा बन्दका बाबजुद गौरीगञ्ज नाकाबाट रातारात तस्करी


१८ कार्तिक २०७७, मंगलबार  

0
Shares

दमक १८, कार्तिक /अन्तराष्ट्रिय सीमा नाका बन्द रहेको अवस्थामा पनि भारतसंग सीमा जोडिएको झापाको गौरीगञ्ज गाउपालिका अन्तर्गतका नाकाहरुबाट प्रतिबन्धित सामानहरुको समेत ओसारपसार भइरहेको छ ।
गौरीगञ्ज गाउपालिका वडा नं १ कुञ्जिबारीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट आसपासका क्षेत्रमा रातीको समयमा भारतबाट दैनिक उपभोग्य सामानसहित प्रतिबन्धित पटाका, बारुद आदी भित्रिने गरेको हो । दशैं शुरु भएदेखिनै सो नाका भएर सामान भित्रयाउने व्यवसायिक गिरोह सक्रिय भएको स्थानीयहरुले बताएका छन । दशगजा नजिकै रहेको सशस्त्र प्रहरीको नियमित चेकिङ हुने गर्छ । चेकिङस्थलको दुई तर्फ नै खोला छ ।
तस्करहरुले खोलाको किनारलाई सुरक्षित बाटोका रुपमा प्रयोग गर्ने गरेका छन । सशस्त्र प्रहरीका अतिरिक्त जनपथ प्रहरीको टोली समेत दिनहु साझको समयमा गस्ति गर्दै हिडने गरेका भएपनि तस्करीको क्रम भने कायमै रहनुले तस्करसंग सुरक्षाकर्मीको मिलेमतोको आशंका छ । त्यस्तो ओसारपसारमा दैनिक ज्यालादारी गर्ने सर्वसाधारण युवाहरुनै संलग्न हुने गर्छन । उनीहरुलाई सो क्षेत्रमा लामो समयदेखि तस्करीको धन्दा गर्ने गिरोहले सबै सेटिङ मिलेको छ, पुलिसको आखा छलेर सामान ल्याउनु भन्दै खटाउने गर्छन । पुराना केही नामुद तस्करहरुको भरियाका रुपमा सोही ठाउका बेरोजगार युवाहरु ओसारपसारमा संलग्न हुने गर्छन । होक्कलबारी, कुञ्जीबारी , लालमाटी, रंगियाथान लगायतका एरियामा मनोज, विनोद लगायतका नाम गरेका नामुद व्यापारीहरु प्रतिबन्धित बस्तुहरु पटाका, खैनी सूर्ति आदि भित्रयाउनमा सक्रिय छन् । कतिपय तस्करहरुको बसोबास नेपाल भारत दुवै तर्फ रहेको पनि समाचार स्रोतको दाबी छ । दुवैतर्फ बसोबास हुनुले उनीहरुसंग दोहोरो नागरिकता हुन सक्ने पनि अनुमान स्थानीयहरुले गर्ने गरेका छन । त्यस्ता नामुद व्यापारीले लाइन मिलाएर मात्रै यो सब काम गर्न सक्ने हुन –एक जना स्थानीयले भने – यो लाइन यहा मात्रै बुझाएर हुदैन । तस्करहरुले लाइन बुझाएको भन्नाले सुरक्षाकर्मीलाई नियमित नजराना बापत बुझाउने पैसा हो । कारोबार र सिजन अनुसार पैसाको लेनदेन हुने गर्छ । दशैंको बेला तिहारका लागि चाहिने पटाकाको लाइन मिलिसकेको तस्करहरुले प्रयोग गर्ने गरेका बेरोजागर युवाहरुनै बताउँछन । दशैं यता सशस्त्र प्रहरीले त्यहाँ आवतजावतमा कडाइ गर्नुका पछाडी ठुला तस्करीको हस्तक्षेप प्रमुख कारक रहेको बताइएको छ । ठुलो कारोबार गर्ने व्यापारीले त्यहा साना तिना व्यापारीसंग कुनै साँठगाँठ नगर्न भन्दै एकाधिकार जमाउन खोजेपछि तस्करीमा संलग्न समुहबाट यस किसिमको रहस्य बाहिर आएको हो । समाचार स्रोतले त्यहा नेपालको जमिन लिजमा लिएर खेती गर्न आउने भारतीय किसानसंग समेत सीमामा सुरक्षाकर्मीका घुमुवाले पैसा उठाउने गर्छन । सशस्त्र प्रहरीको विभागले भने यस अघिनै कहिं कतै घुमुवा नराखिएको जनाएको थियो । तर सीमा क्षेत्रमा घुमुवाकै नाममा पैसा असुल्ने काम रोकिएको छैन ।


के भन्छन सशस्त्र प्रहरीका इन्स्पेक्टर ?
कुञ्जिबारीस्थित बोर्डर आउट पोष्टका इञ्चार्ज सशस्त्र प्रहरी निरिक्षक अरुण तिम्सिना भने दुधले धोएको मान्छे कोही नहुने बताउछन । आफूहरु रातैभर नियमित डिउटीमा खटिएपनि तस्करहरु अनुभवी भएका र हिडने बाटो, लुकाउने, छक्याउने तरिका सबै जानिसकेका भएका हुनाले लुकिचोरी सामान भित्रिएको हुन सक्ने तिम्सिना बताउछन । तिम्सिना भन्छन– नाका रुपमा बन्द नै छ , यो नाका भनेको सानो हो । यहाँ ठुला व्यापारी पनि छैनन । पारितिर ठुलो बजार पनि छैन । त्यस्तो तस्करीको सम्भावना नै के हुन्छ र यहाँ ?
उनले दशैंको भोलीपल्ट लाममाटीमा तस्करले सामान लुकाएर राखेको भन्ने आफूलाई पनि सूचना आएकको तर त्यहा छापा मार्दा केही नभेटिएको उनको भनाई छ । उनले भने – जिल्लाबाटै खबर आएको थियो तर सामान केही भेटिएन जिल्लामा पुगेको सूचना नै फेक रहेछ । खुल्ला सीमा क्षेत्र ठुलो भएकाले पनि त्यहा सुरक्षाकर्मीलाई मुश्किल परिरहेको पनि उनले बताए । सो बीओपी अन्तर्गत २० किलोमिटर क्षेत्र भारतसंग जोडिन्छ । कुञ्जीबारी बीओपी अन्तर्गत लालमाटी, आमगाछी र बगाहा चौधरीमा नायव निरिक्षक र सहायक निरिक्षकको कामण्डमा टोली राखिएको उनले बताए । सो बीओपी अन्तर्गत हाल ६५ जना कार्यरत छन् । छिट्टै आमगाछीमा नया बिओपी स्थापनाको तयारी भइरहेको पनि निरिक्षक तिम्सिनाले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ८ : १५ बजे