१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

उद्योगी-व्यवसायीहरुकाे लकडाउनकाे निर्णय नगर्न आग्रह


१७ आश्विन २०७७, शनिबार  

0
Shares

काठमाडौं / दशैंअघि फेरि लकडाउन हुने चर्चा चलिरहेका बेला निजी क्षेत्रले लकडाउनको निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय व्यवसायिक पहल (एबीआई)को नेतृत्वमा पुगेको उद्योगी-व्यवसायीहरुको टोलीले शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई भेटेर लकडाउन नगर्न आग्रह गरेको हो ।

लामो समय बन्दाबन्दी हुँदा अर्थतन्त्र डामाडोल भएको र अझै लकडाउन गर्ने हो भने अर्थतन्त्र नराम्रोसँग तल झर्ने भन्दै उद्योगी-व्यवसायीहरुले अब लकडाउन गर्नु आत्मघाति निर्णय हुने बताएका थिए ।

छलफलपछि स्वास्थ्यमन्त्री ढकालले अब लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रतिक्रिया दिएका छन् । कोरोना नियन्त्रण गर्न सबै पक्ष एकजुट हुनु पर्ने धारणा राख्दै मन्त्री ढकालले यसका लागि लकडाउनको विकल्प खोज्ने पक्षमा सरकार रहेको बताएका छन् ।

भेटमा एनबीआईका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको टोलीमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवं राष्ट्रिय व्यवसायिक पहलका महासचिव सुरेन्द्रवीर मालाकार, चेम्बरका उपाध्यक्ष एवम् राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष दिपक मलहोत्रा, रेष्टुरेन्ट तथा वार एसोसिएसन नेपालका अध्यक्ष अरनिको राजभण्डारी लगायतका रहेका थिए ।

अध्यक्ष जोशीले कोरोना महामारी नियन्त्रणको लागि सरकारले जारी गरेको ६ महिना भन्दा लामो लकडाउनका कारण सम्पूर्ण व्यवसायिक क्षेत्र धरासायी भएको बताउँदै मुलुकले अब थप अनिश्चितकालीन बन्द थेग्न नसक्ने भन्दै यसको विकल्पमा ध्यान दिन सरकारसँग आग्रह गरे ।

मन्त्री ढकालले कोभिड १९ को नियन्त्रण र आर्थिक गतिविधीलाई सुचारु गर्न निजी क्षेत्रबाट प्राप्त सुझावलाई स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिएको र यसको कार्यान्वयनका लागि सम्वन्धित सवै निकायसंग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

लकडाउनको विषयमा आएको समाचारमा सत्यता नभएको बताउँदै सरकार अब लकडाउनलाई निरन्तरता दिने मनस्थितिमा नरहेको बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ४ : २६ बजे