१७ जेष्ठ २०८१, बिहिबार | Thu May 30 2024

गाैरादहकाे दहगाउँमा मनै लाेभ्याउने केरावारी


१ आश्विन २०७७, बिहिबार  

0
Shares

विष्णु पौडेल / (बैगुन्धुरा, गौरादह) 
पूर्वपश्चिम राजमार्गमा पर्ने पाडाजुँगी चोकबाट सोझै लगभग १८ किलोमिटर दक्षिण पूर्वमा पर्छ गौरादह नगरपालिकाको ९ नम्बर वडामा पर्ने साविक बैगुन्धुरा गाविसको दहगाउँ ।
यो भुगोल साविकको बैगुन्धुरा गाविस हुँदा पनि वडा नं ९ मै पथ्र्यो । दहगाउँका बीचमा बग्ने स्थानीय कमल खोलाको आसापासमा रहेको बाँझो काँसघारी । देशमा कोरोना संक्रमणको त्रास छाउँदै गर्दा करिब ८ महिना अघि यो गाउँमा पुगेका हुन मोरङको सुन्दरहरैचाबाट ३ जना पौरखी किसान । उनीहरुले यहाँको १० विगाहा डाँडो जग्गामा लगाएको माल्भक केराको बगानमा पुग्ने जो कोहीको मन राम्रैसँग भुलिन्छ । मनै लोभ्याउने त्यहाँको केरा बगानको बीच भागतिर भेटिए ति पौरखी किसान ।
सुन्दरहरैचा ६ नम्बर वडा ठेगाना भएका विनोद तामाङ, बल बहादुर राई र इन्द्रबहादुर विश्वकर्मा हात हातमा सिक्कल ( जंगल फाँडन प्रयोग हुने फलामको एक किसिमको हतियार) लिएर गोडमेलमा व्यस्त थिए ।


भदौको टन्टलापुर घाममा हातले पसिना पुछदै केरा बगानको गोडमेलमा लागेका यि पौरखी किसानले यहाँ ७ महिना अघि ( गत फागुन)देखि शुरु गरेका हुन व्यवसायिक केरा खेती । उनीहरुले त्यसबेलादेखि स्थानीय ३ जनाका अलग अलग नाममा रहेको यो खोला बगर जस्तो देखिने यो जग्गामा काँसघारी फाँडेर केराखेतीको जमिन तयार गरे । आवश्यकता अनुसार खनजोतमा अरु कृषि मजदुरको पनि सहारा लिए । यहाँ गत फागुनदेखि लगाइएका माल्भक केराका विरुवा अहिले वयस्क भइसके । यि विरुवा उनीहरुले कतैबाट किनेर वा अनुदान पाएर ल्याएका होइनन । सुन्दरहरैचामा रहेको आफनै केरा बगानमा उत्पादन गरेका हुन् ।
तामाङ भन्छन– हामी आफनै बगानमा विरुवा बनाउँछौं, दुई विगाहा बगानबाट निकालिएका विरुवाले यहाँको लगभग १० विगाहा जग्गालाई पुग्यो ।
उनकै भनाईलाई आधार मान्ने हो भने एक कठठा जमिन बराबर ८० विरुवा रोपिएका छन । स्थानीय बाबुराम दाहाल र गोपाल तामाङबाट पाँच बर्षे ठेक्का सम्झौता अनुसार प्रति बर्ष प्रति बिगाहा २० हजार रुपैयाँका दरले बुझाउने शर्तमा १० विगाहा जमिन जिम्मा बुझेका हुन । त्यसमध्ये ५/७ कठठा अलि गहिरो ठाउँ भएकाले धान रोपाइँ गरेका छन ।


मलजल र अपुग कृषि मजदुर आदिको खर्च जोडदा एक विगाहा बराबर लगभग दुई लाख रुपैयाँ खर्च हुन्छ । बलबहादुरले भने – सके सम्म हामी आफैं खटिन्छौं तर पनि आवश्यकता अनुसार यहाँका कृषि मजदुरको पनि सहयोग लिन्छौं, तर यसमा कडै मेहेनत पर्छ जो कोहीले काम गर्नै सक्दैनन् । रोपेको लगभग १८ महिना भित्रमा केराले उत्पादन दिन थाल्ने आफूहरुको अनुभव रहेको बलबहादुरले सुनाए ।
खेती गर्दा बस्नका लागि एउटा सानो झुप्रो पनि हालेका छन उनीहरुले । केरा बगानको ठाउँ –ठाउँमा लगाएको मौसमी तरकारीले उनीहरुको मात्रै होइन छरछिमेक र शुभचिन्तकहरुको भान्सा पनि धानेको छ । बोडी, करेला, भिण्डी , खुर्सानी यहि बारीमा फलेकोले तरकारी पनि पुगेको छ उनीहरुलाई । मुख्यरुपमा केराखेती लगाएका कारण यहाँ फलेको तरकारीचाहिं अहिले सम्म विक्री गरेका छैनन । त्यति मात्रै होइन केरा बगानको बीच बीचमा पलाएको झार, घाँसको पशुपालनमा पनि सदुपयोग भइरहेको छ । केरा बगानमा बिषादी हालिएको अवस्थामा घाँस लैजान रोकिने र अरु समयमा भने कुनै रोकटोक नलगाइएकोले त्यसको फाईदा स्थानीय किसानहरुले लिन सक्ने स्थानीय युवा चन्द्र बहादुर विष्ट बताउँछन ।
अनुदान पाएका झोले किसान होइनन
मेहनती यि तीन किसानले लगाएको केरा खेतीका लागि न त कुनै कृषि फर्म नै दर्ता गरेका छन न त कुनै सरकारी, गैह्रसरकारी अनुदाननै लिएका छन । आफनै ज्ञान, अनुभव र सीपमा रमाएका विनोद, बलबहादुर र इन्द्रबहादुरले सुनेका छन राज्यले कृषि क्षेत्रमा अनुदान दिन्छ भन्ने तर विश्वास कम लाग्छ । प्रायः झोलामा कागजात जुटाएर कृषि फर्म दर्ता गरेर ठुलाबडाका तिर धाउनेहरुले नै लगिहाल्छन हामी जस्तालाई कसले पत्याउँछ र लिनु अनुदान ? – विनोदले भने ।
बैगुन्धुरा स्थायी घर भएका पेशाले शिक्षक युवराज खतिवडा यि तीन मेहेनती किसानले लगाएको केरा बगान साँच्चिकै प्रशंसा योग्य भएको बताउँछन् । अनुदान वा सहयोग अवास्तविक किसानले नपाइरहेको ज्वलन्त उदाहरणका रुपमा यि केराखेती गर्ने किसानलाई लिन सकिने उनको भनाई छ । यस किसिमका वास्तविक मेहेनती किसानलाई प्रोत्साहन गर्न कुनै कञ्जुस्याइँ गर्न नहुने स्थानीयहरु बताउँछन् ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  ३ : १५ बजे