५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

गाैरादह नगरपालिकाका प्रशासकिय अधिकृत ओझा रतुवामाईमा सरूवा, प्रशासनिक कार्यमा नयाँ आयाम


१ आश्विन २०७७, बिहिबार  

0
Shares

गाैरादह १, असाेज / गौरादह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा सरूवा सरूवा भएका छन् । उनी माेरङ्ग रतुवामाई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा सरूवा भएका हुन् ।

गौरादहमा पटक पटक विवाद, अपारदर्शीता र नकारात्मक चर्चाको पर्यायको रुपमा धुमिल परिचय बोकेको प्रमुख प्रशासकीय अधिकृत पदको चुनौती सामना गर्न ओझा गत कार्तिक २७ गते गाैरादह नगरपालिका आइपुगेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र, तथा राष्ट्रिय राजनीतिमा दख्खल राख्न सक्ने थुप्रै शक्ति केन्द्रहरुको गृह नगरमा जिम्मेवारी सम्हाल्न आइपुगेका ओझाले गौरादहको बिग्रिएको छबी सुधार गर्न सफल कति भए त ? त्यसकाे लेखा जाेखा र मुल्यांकन गर्न जरूरी छ । ओझाको हाजिरी भएसंगै उनलाई यो वा त्यो शक्ति केन्द्रले आफ्नो अनुकुल गर्न गराउन प्रयास भने नभएकाे हाेईन ।


खेम राज ओझा कर्मचारी बृत्तमा झापाकोलागि परिचित नाम हो । झापाको स्थायी बासिन्दा उनले झापा जिल्लामा तत्कालीन स्थानीय बिकास अधिकारी (एलडिओ)को जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । अनुभवका कारण ओझाको आगमन संगै गौरादहको बेथितिमा सुधारको आसा गरिएकाे थियाे ।

गौरादहमा अगाडिका प्रमुख प्रशासकीय अधिकृतद्वारा विकसित गरेका बेथितिहरु – कार्यपालिकाको बैठक सकिएको महिना दिन पछिसम्म पनि सदस्य सचिबले माइनेट नलेख्ने र पछि तोडमोड गरेर लेख्ने , मेयर र उपमेयर बीच दुरी बढाउने प्रपन्छ रच्ने , कार्यलयमा धेरै अनियमित हुने र नियमित कार्यसम्पादन प्रभावित गर्ने, निजी काममा कार्यलयको स्रोत साधनको दुरुपयोग गर्ने, केही जनप्रतिनिधि र अदृश्य शक्ति केन्द्र प्रति उत्तरदायी भइ कार्यपालिकालाई छायामा पार्ने, अपारदर्शी आर्थिक र प्रशासकीय गतिविधिमा रमाउने, कार्यालयलाई सूचना तथा सञ्चार मैत्री बन्न नदिने र सूचना लुकाउने , चालू खर्चमा असुहाउँदो बजेट बिनियोजन गराइ मोज गर्ने , कार्यालय समयमा प्रमुख प्रशासकीय अधिकृतको कक्ष तथा कुर्सी भन्दा बाहिर बस्ने र सन्दर्भ भन्दा बाहिर ठट्टा शैलीबाट नागरिकका समस्या र गुनासालाई सतहीरुपमा लिने जस्ता बेथितिहरूलाई प्रशासकिय अधिकृत ओझाले करिब १० महिनाकाे अन्तरालमा तुल्नात्मकरूपमा सहजै विट मारेका छन् ।
उनकाे अनुभव र कार्यकुशलताले नगरपालिकाकाे नियमित बैठक बस्ने, निर्णयहरू कार्यान्वयन गर्ने , मेयर, उपमेयरसहित अन्य जनप्रतिनिधिहरूसंगकाे सम्बन्ध सुमधुर कायम गर्ने, कार्यालयका कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन अनुगमनमा सदैव चासाे लिई ठेकेदारहरूलाई विनियाेजित रकम अनुसारकाे समयमै काम गराउने र नियमित अनुगमन गर्ने लगायतका कार्यहरूमा सफल भएका छन् ।

नगरपालिकाकाे कार्यसम्पादन गर्ने क्रममा छिटपुट घटना बाहेक अघिल्ला प्रशासकिय अधिकृतहरू भन्दा तुलनात्मकरूपमा अब्बल देखिएका छन् । उनकाे कार्यशैलीले नगरपालिकाकाे कर्मचारी र राजनीतिक वृतमा उनी अझ १ बर्ष यसै नगरपालिकामा प्रशासकिय अधिकृतकाे रूपमा रहे नगरपालिका अझ सुधारकाे लयमा अघि बढ्नेसमेत चर्चा हुँदै आएकाे थियाे ।

नगरसभा समयमै सम्पन्न गरि नयाँ – नयाँ याेजना छनाैट गरि प्रत्येक वडामा कम्तीमा नगरबाट एउटा कालाेपत्रे सडक निर्माण गर्ने , कृषि र पशुसेवामा उल्लेखनिय बजेट विनियाेजन गरेकाे, अघिल्ला नगरसभामा १० लाख रूपैयाँ भन्दा बढी खर्च हुँदै आएकाेमा उनी अाएपछि १ लाख भन्दा कम खर्चमा नगरसभा सम्पन्न गरी अार्थिक अनुशासन कायम गरेकाे, २/३ महिनादेखि कार्यपालिकाकाे बैठक नबसिरहेकाे अवस्थामा सबैलाई रिझाएर नगरपालिकालाई सहि गतिमा ल्याएकाे, लकडाउनका समयमा पनि अधिकतम याेजनाहरू सञ्चालन गर्न सफल भएकाे, अार्थिक वर्ष २०७४/७५ देखिका अधुरा याेजनाहरू सम्पन्न गराउन सक्नु , स्थानियतहमै गाैरादहमा आईसाेलेसन सेन्टर स्थापना गर्न सक्नु कार्यगत क्षमताले सबै कार्य गर्न सम्भव भएकाे हाे ।

कार्यालयको काममा जवाफदेहिता हुने र राजनीतिक संरक्षणको तागतमा मनखुसी गर्ने प्रवृत्ति सुधार गरी सेवाग्राहीकाे प्रशासनिक कार्यमा नयाँ आयाम थपेकाे ओझालाई नगरवासी, जनप्रतिनिधि तथा कर्मचारीहरूले उच्च मुल्यांकन गरेका छन् ।

दुहबी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट फूलमाला अबिर लगाइ हासिखुसी सरुवा भएर करिब १० महिना अघि गौरादह नगरपालिका आइपुगेका ओझा निःसन्देह विवादरहित गौरादहका नागरिकको प्यारो एवं प्रसंशायाेग्य बनेर कार्यकाल पूरा गरेका छन् ।

 

प्रकाशित मिति : १ आश्विन २०७७, बिहिबार  १ : ३८ बजे