१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चर्चित ढोलकवादक राघव राजवंशी ‘फूपा’ लाई आर्थिक सहयोग जुट्दै


१८ भाद्र २०७७, बिहिबार  

0
Shares

 

मोरङ १८, भदौ /  उपचारको अभावमा थला परेका चर्चित ढोलकवादक राघव राजवंशी ‘फूपा’ लाई आर्थिक सहयोग जुट्न थालेको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गर्न आएका राघव

उनको समस्यालाई बुझेर विभिन्न सहयोगीहरुले सहयोग गरेका हुन् । हिजो एकैदिन राघवको उपचारका लागि १ लाख ७१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । राघवको घर पुगेर कुवेर सुवेदी , बिक्रमश्री वाँस्तोलालगायतका पण्डितहरुले ६२ हजार , बेलबारी ७ का वडाध्यक्ष नगेन्द्र खड्काले नगरपालिकाका तर्फबाट २५ हजार , नेपाल कम्युनिष्ट पार्टी बेलबारीबाट ३३ हजार गरी १ लाख ७१ हजार रुपैयाँ प्रदान गरिएको हो ।

सो खर्चले कलाकार राघव उपचार गर्न आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल आएका छन् । बिर्तामोडकै क्यान्सर हस्पिटलमा आएर एकजना सहयोगीले ६ हजार रुपैयाँ सहयोग गरेको उनले बताए । उनी पेटमा जमेको पानी निकाल्न क्यान्सर अस्पताल आएका हुन् ।
मोरङ बेलबारी ७ निवासी ५५ वर्षिय राजवंशी लिभरको क्यान्सर रोगले थलिएका हुन् ।

खर्च नभएर चर्चित ढोलकवादक र नालवादक राजवंशीले उपचार गर्न सकिरहेका छैनन् । उनको उपचारका लागि एक आर्थिक संकलन समिति गठन गर्न लागिएको स्थानीय सहयोगी बिक्रमश्री वाँस्तोलाले बताए । डेढ दशकदेखि भक्ति संगीतमा समर्पित कलाकार राघव उपचारको अभावमा थला परेको समाचार प्रतिदिन दैनिकले प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहिबार  ८ : ०४ बजे