१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

अठार वर्ष भन्दा कम उमेरमै विवाह हुनेको संख्या पनि उत्तिकै


३ भाद्र २०७७, बुधबार  

0
Shares

bibaha1

आत्माराम राजवंशी
गौरीगंज ३, भाद्र / किशोर या किशोरी कति वर्ष पुग्यो भने कानुनीरुपमा विवाह गर्ने योग्य हुन्छन् ? अधिकांशले यसको जवाफ सजिलै दिन सक्छन् – २० वर्ष । धेरैजसो अभिभावकलाई विवाहको सहि उमेर पत्तो भएपनि यहाँ १८ वर्ष भन्दा कम उमेरमा विवाह हुनेको संख्या  पनि उत्तिकै देखिन्छ ।

गौरीगंज गाउँपालिकामा हालै विवाहित पुरुष र महिलाहरुमा गरेको एक सर्वेक्षणले १८ वर्ष भन्दा कम उमेरमा विवाह गर्ने पुरुष भन्दा महिला वढी देखाएको छ । गौरीगंज गाउँपालिकामा कुल विवाहित महिला १० हजार ३ सय ३३ महिलामध्ये ३ हजार २ सय ४१ महिला अर्थात ३१ दशमलव ३७ प्रतिशत महिला १८ वर्षभन्दा कम उमेरमा विवाह भएको तथ्यांकमा उल्लेख छ जबकि कुल विवाहित पुरुष ९ हजार २ सय ४६ मध्ये ६ सय ३२ जना अर्थात ६ दशमलव ८४ पुरुषमात्र १८ वर्ष भन्दा कम उमेरमा विवाह भएको तथ्यांकले देखाएको छ । हाल विवाहितमध्ये १९ दशमलव ७९ प्रतिशत जनसंख्याले १८ वर्ष भन्दा कम उमेरमा विवाह गरेको पाइएको छ । गौरीगंज गाउँपालिकाको यो सर्वेक्षण आर्थिक वर्ष २०७५/ ७६ मा विर्तामोड स्थित एन.एन. फाउण्डेसनले गरेको हो ।

गौरीगंज गाउँपालिकामा गरिएको सर्वेक्षणमा वालविवाहको तथ्यांक 
bibaha2

मुलुकी ऐन, २०२० जारी हुदाँका बखत १४ बर्ष नपुगेकी स्वास्नी मानिस र १८ वर्ष नपुगेको लोग्ने मानिसले विवाह गर्न नपाउने व्यवस्था गरिएकोमा पछि स्वास्नी मानिसको उमेर १६ वर्ष कायम गरियो । तत्पश्चात मुलुकी ऐनको एघारौं संशोधनबाट महिला र पुरुष दुवैको उमेर संरक्षकको मञ्जुरीले १८ वर्ष र संरक्षकको मञ्जुरी नभए २० वर्ष तोकियो ।

पछिल्लो पटक केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन,२०७२ ले मुलुकी ऐन, २०२० मा भएको संशोधन गरी विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकेको छ । उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा वालवालिकाको उमेर अनुसार बढीमा तीन वर्षसम्म कैद र दश हजार रुपैंयासम्म जरिवाना गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।

कानुनमा २० वर्ष विवाह गर्ने उमेर तोकेपनि गौरीगंजमा १८ वर्ष भन्दा कम उमेरमै विवाहित जनसंख्यामध्ये १९दशमलव ७९ प्रतिशत जनसंख्याले विवाह गरेका छन् ।
एक अध्ययन अनुसार मधेसी समुदायमा गुप्ता, कुर्मी, लोध, यादव, हरिजन, मिश्रा, बाजिया, कलवार, पासी, पासवान, मौर्य लगायतका जातिमा बालविवाह एउटा प्रथा र परम्पराको रुपमा रहेकोे देखाएको छ । यद्दपि वालविवाह केवल मधेसी समुदायमा मात्र नभई अन्य विभिन्न जातजातिमा पनि उत्तिकै व्याप्त छ ।

धेरै अभिभावकहरु छोरी शारीरीकरुपमा सुन्दर छ भने भागेर विहे गर्ने तथा तुलनात्मक रुपमा कम आर्कषक छ भने दुलाहा नपाउने जस्ता डर र परिवारको इज्जत जाने जोखिम बाट बच्नका लागी पनि छोरीको विहे गरी छिट्टै टुङ्गो लगाउने चाहनाले महिलाको वालविवाह दर बढेको हो ।
जुन किशोरीको विद्यालयको नतिजा सकारात्मक हुदैन, त्यसको वदलामा परिवार तथा आफन्तहरु पनि विवाहको विकल्प खोज्न शुरु गर्छ । विवाह कहिले र कसरी गर्ने भन्ने कुरा दाइजोले पनि निर्धारण गर्ने गरेको पाईएको छ ।
वालविवाह उच्च रहेका मुलुकहरु मध्ये नेपाल अग्रपंक्तिमा रहेको छ । दक्षिण एशियामा नेपाल ,बंगलादेश र भारत पछिको तेश्रो स्थानमा रहेको छ । २०६८ मा गरिएको जनगणना अनुसार विवाहित जनसंख्याको तथ्याङ्कले १० देखि १९ वर्ष भित्र विवाह गर्नेको संख्या जम्मा विवाहित जनसंख्याको ४८.९५ (महिलाको संख्या ५८.२ र पुरुषको संख्या ३७ ) देखाएको छ ।
बाल विवाहले समाजमा धेरै जोखिमता निम्त्याएको छ ।

बालविवाहले उनीहरुलाई शिक्षावाट वञ्चित गराउनुको साथै अर्निणयको बन्दी बनाएको छ । मातृ स्वास्थ्य तथा उनीहरुको स्वास्थ्यमा असर गरेको छ भने घरेलु हिंसा बढाउन उत्तिकै भुमिका खेलेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ११ : ३४ बजे