१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रदेश १ मा सबैभन्दा बढी युवा काेराेना संक्रमित


१ भाद्र २०७७, सोमबार  

0
Shares

20200528_210918

विराटनगर १, भदाै / ‘म युवा हुँ र तन्दुरुस्त छु, त्यसैले मलाई कोरोना लाग्दैन’ भन्ने भ्रम नपाल्नुहोला । किनभने प्रदेश १ सामाजिक विकास मन्त्रालयको विश्लेषणअनुसार यस प्रदेशमा सबैभन्दा बढी कोरोना संक्रमित हुनेमा युवा नै छन् । त्यो पनि २१ देखि ३० वर्ष उमेर समूहका ।

सामाजिक विकास मन्त्रालयले ३२ साउनमा प्रकाशित गरेको तथ्यांकअनुसार प्रदेश १ मा हालसम्म सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका एक सय ५६ महिला र पाँच सय ४० जना पुरुषमा कोरोना पुष्टि भएको छ । जब कि संक्रमणको सबैभन्दा बढी जोखिममा रहेको भनिएका ७० वर्ष नाघेका १० महिला र १४ जना पुरुषमा मात्रै संक्रमण देखिएको छ ।

तथ्यांकअनुसार संक्रमित हुने दोस्रो धेरै ३१ देखि ४० वर्ष उमेर समूहका ९७ महिला र चार सय २१ जना पुरुष छन् । तेस्रो उमेर समूह ४१ देखि ५० वर्षका ५३ महिला एक सय ९९ जना पुरुषमा हालसम्म संक्रमण देखिएको छ । यस्तै ५१ देखि ६० वर्ष उमेर समूहका २५ महिला ९८ जना पुरुष संक्रमित भएका छन् । ६१ देखि ७० वर्ष उमेर समूहका १४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ । ११ देखि २० वर्षे किशोर उमेर समूहका ५२ महिला र दुई सय ३३ जना पुरुष संक्रमित छन् । सबैभन्दा कम संक्रमित हुनेहरूमा १० वर्षसम्मका बालबालिका छन् । यो समूहमा २५ बालिका र ५४ बालक मात्रै संक्रमित छन् ।

यसकारण युवा बढी संक्रमित
प्रदेश १ सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासन महाशाखा प्रमुख डा. सुरेश मेहताका अनुसार युवामा बढी घुलमिल गर्ने, जोखिमलाई बेवास्ता गर्ने बानी हुन्छ । आपसी संसर्ग र सुरक्षित सतर्कता अभावले गर्दा नै उनीहरूमा बढी संक्रमण देखिएको हो । अर्कोतिर वैदेशिक रोजगारमा गएर फर्कनेहरू, फ्रन्टलाइनमा रहेर विभिन्न पेसा–व्यवसाय गर्नेहरू पनि सबै युवा नै हुन्छन् ।

डा. मेहताका अनुसार अर्कोतिर कोरोना संक्रमण भए पनि युवाले सहिजै जित्छन् भन्ने गलत सोच पनि छ । यसैले उनीहरू सुरक्षा सतर्कतामा उति चासो दिइरहेका हुँदैनन् । जसले गर्दा कोरोना संक्रमणलाई समुदायस्तरसम्म पुऱ्याउन सहयोग पुगिरहेको हुन्छ । प्रतिरोधात्मक क्षमता धेरै हुने भएकाले युवाको मृत्यु कम भए पनि अरूको ज्यान भने युवाहरूकै हेलचेक्रयाइँले गर्दा गइरहेको हुन सक्छ ।

(गणेश लम्साल/ नयाँ पत्रिकाबाट सभार )

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार  ३ : ३८ बजे