११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

सशस्त्र प्रहरी वलकाे स्थापनाले स्थानीयवासी हर्षित


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

20200216_140607
विर्तामोड / बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा निवासी भद्रसिंह राजवंशीलाई हातहतियारसहित भारतबाट आएका डाका समूहले हत्या गर्दै घरमा भएको सबै जायजेथा डकैती गरी लगे ।

कचनकबल गाउँपालिका–१ कुटी बजारमा सुन पसल गर्दै आएका सुनारेको पनि भारतीय डाका समूहले घरमै आगो लगाएर चार जनाको परिवारकै हत्या गरे । त्यस्तै कचनकवल गाउँपालिका निवासी भूमि राजवंशीको घरमा हातहतियारसहित डैकैतीका लागि आएका तीन जना डाका भने गाउँलेको प्रतिकारमा मारिए ।

दक्षिणी झापाको सीमावर्ती क्षेत्रमा २०५९ सालदेखि २०६२ सालसम्म घटेका यी प्रतिनिधि घटना मात्रै हुन् । यस्ता अनेकौं घटनामा भारतीय डाका समूहको आक्रमणमा परी धेरै नेपालीले अकालमा ज्यान गुमाएका छन् भने दिनदहाडै गरगहनासहित लाखौं रुपैयाँ लुटपाट गर्दा एकदशक अघिसम्म सीमावर्ती क्षेत्रका नागरिकले त्रासदीपूर्ण वातावरणमा जीवन निर्वाह गर्नुपर्ने बाध्यता थियो ।

२०६२/ ०६३ को जनआन्दोलनपछि मुलुकमा शान्तिस्थापना भएसँगै सीमा क्षेत्रका नागरिकले पनि शान्तिको महशुस गरेका छन् । अझ मुलुक संघीयतामा गएपछि स्थानीय तहको सरकार गठन भएसंगै सीमा क्षेत्रका नागरिकहरुले आफूहरु पूर्ण रुपमा सुरक्षित भएको महशुस गरेका छन् ।

बाह्रदशी गाउँपालिका–१का वडाध्यक्ष शम्भुसिंह राजवंशीको पहलमा अहिले आफ्नै वडामा सशस्त्र प्रहरी वलको वेस क्याम्प स्थापना गरिएको छ । जहाँ सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा १ प्लाटुन सशस्त्र प्रहरी तैनाथ छन् । योसंगै त्यस क्षेत्रका स्थानीयले आफूहरु सुरक्षित महशुस गरेका छन् ।

भारतीय डाका समूहको आक्रमणमा परी आफ्ना श्रीमान भद्रसिंह राजवंशीले ज्यान गुमाएपछि सशस्त्र प्रहरीको वेस क्याम्प स्थापनाका लागि सुशीला राजवंशीले निःशुल्क ५ कठ्ठा जमिन प्रदान गरेकी थिइन् । योसँगै घेरावारीमा सशस्त्र प्रहरी वल नेपालको बीओपी स्थापना भएको छ ।

राजवंशीले नै बाटो निर्माणका लागि अरु तीन कठ्ठा जमिन प्रदान गरेपछि वडा कार्यालयको अगुवाइमा १० कठ्ठा जमिनको व्यवस्थापन गर्दै भागुडुब्बामा सशस्त्र प्रहरीको वीओपी स्थापना गरिएको बाह्रदशी–१ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । उनले भने– सशस्त्र प्रहरी बलको वेश क्याम्प स्थापनासँगै वाह्रदशी र आसपासका क्षेत्रका नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति गरेका छन् ।

गाउँमै सशस्त्र प्रहरीको वेस क्याम्प स्थापना भएपछि आफूहरुको जीवनयापनमा समेत सहज भएको र समाजमा शान्ति स्थापना भएको बाह्रदशी– १का स्थानीयवासी खड्ग राजवंशीले बताए ।

यता स्थानीय सरकार गठन भएसंगै वाह्रदशी गाउँपालिकावासीले शान्ति सुरक्षा मात्र होइन हरेक कुरामा राहत पाएको स्थानीय दिलीप राजवंशी बताउँछन् । उनी भन्छन्– स्थानीय सरकार गठनसंगै शिक्षा, स्वास्थ्य र सुरक्षाको दृष्टिकोणले समेत बाह्रदशी–१ अगाडि छ ।

भारतीय डाका समूहको आक्रमणमा परी आफ्ना पतिले अकालमा ज्यान गुमाउनु परेको र भएको धन सम्पत्ति समेत डाकाले लुटेर लगेको बताउँदै गाउँ समाजको सुरक्षाका लागि आफूहले प्रहरी चौकी निर्माणका लागि निःशुल्क जमिन प्रदान गरेको जग्गा दाता सुशीलाको भनाइ छ । भागुडुब्बामा सशस्त्र प्रहरी वलको वेस क्याम्प स्थापनासँगै प्रहरीले अहिले गाउँको सुरक्षासंगै सीमाको समेत सुरक्षा गरिरहेको सशस्त्र प्रहरी निरीक्षक अमृतकुमार विकले बताए ।

पतिको स्मृतिमा समाजसेवी राजवंशीले सशस्त्र प्रहरीका लागि निःशुल्क जमिन प्रदान गरेपछि १ नम्वर प्रदेश सरकारको आर्थिक सहयोगमा एक करोड ५९ लाख रुपैयाँको लागतमा भवन समेत निर्माण गरिएको छ ।

१ नम्वर प्रदेश सरकारकै सहयोगमा भागुडुब्बासहित पृथ्वीनगर, घेरावारी, टाघनडुब्बा र कुञ्जिवारीमा समेत सशस्त्र प्रहरीको वीओपी स्थापना गरिएको सशस्त्र प्रहरी वल नेपाल २ नम्वर गणका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार थक्सूले जानकारी दिए ।

६ करोड ७१ लाख रुपैयाँको लागतमा अहिले झापाका सीमावर्ती पाँच स्थानमा बोर्डर आउटपोष्ट स्थापना गरिएसँगै स्थानीयवासीले शान्ति सुरक्षाको प्रत्याभूति गरेको पाउन सकिन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ८ : २७ बजे