१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मुल्याङ्कन कार्यकर्ताहरुले गरिरहेकै छन् – नेका सभापति ढुण्डीराज भण्डारी


२० श्रावण २०७७, मंगलबार  

0
Shares

20200804_143355

नेपाली कांग्रेस आसन्न १४ औं महाधिवेशनको तयारीमा छ । पार्टीको केन्द्रिय समितिले सार्वजनिक गरेको तालिका अनुसार यतिबेला पार्टीको क्रियाशील सदस्यता नविकरणका लागि धमाधम नविकरण फारम भर्ने काम भईरहेको छ ।
यससंगै कांग्रेस वृत्तमा निक्कै चहलपहल शुरु भएको छ । नेताहरु तल्लो तहदेखिनै कार्यकर्ताबाट अनुमोदित हुँदै आउने प्रकृया पनि हो महाधिवेशन । महाधिवेशनको रापले झापाको निर्वाचन क्षेत्र नं ५ लाई पनि तताएको छ ।
नेताहरु क्रियासील सदस्यता नविकरणको निहुँ पारेर पुराना तिता मिठा सम्झनाहरुसहित कार्यकर्ताहरुका घरदैलोमा पुगिरहेका छन । क्षेत्र नं ५ मा नेपाली कांग्रेसको नेतृत्वले अलि फरक किसिमको महत्व राख्ने गर्दछ ।
राजनीतिमा प्रतिस्पर्धी दल कम्युनिष्ट पार्टीको दबदबा भएको क्षेत्र हो झापा ५ । पार्टी अध्यक्ष एवम् बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली यहि निर्वाचन क्षेत्रबाट चुनिएर गएका हुन यसैको कारण पनि यहाँ प्रतिपक्षको भुमिकाको विशेष महत्व र चर्चा हुने गर्छ । यसैसन्दर्भमा नेपाली कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीसंग आगामी पार्टी अधिवेशन र समसामयिक बिषयमा केन्द्रित रहेर कुराकानी गरिएको छ प्रस्तुत छ निष्कर्ष न्यूजमा नेता भण्डारीसंगको कुराकानीको निष्कर्ष –

झापा ५ मा कांग्रेसलाई अधिवेशनको रापले छोएको हो ?
स्ववभाविक हो, पार्टीको केन्द्रिय निर्वाचन कार्यतालिका अनुसार यतिबेला हाम्रो पार्टीका क्रियासील सदस्यहरुको सदस्यता नविकरणको काम भईरहेकाले कार्यकर्ताहरुले यसमा चासो राख्नु र नेताहरुले नेतृत्व लिने एउटा अवसर भएका कारण त्यसमा कसरत गर्नुलाई म स्वभाविक रुपमा लिन चाहन्छु ।
पार्टी सदस्यसंग कांग्रेस अरु बेला नपुग्ने अधिवेशनमा मात्रै दौडधुप गर्ने गर्छ भन्ने गुनासो कार्यकर्ताहरुबाट सुनिन्छ नि ?
अवश्य पनि । धेरै ठाउँमा यो अवस्था छ, हाम्रै ठाउँमा पनि कतिपय नेता कार्यकर्ताहरुबीच निक्कै ग्यापिङ भएको हामीले महसुस गरेका छौं । नेताहरुले कार्यकर्ताहरुसंग आफ्नो कार्यक्षमता देखाइसक्नु भएको छ खाली स्मरण गराउन मात्रै कार्यकर्ताको घर दैलोमा पुगिरहनु भएको छ भन्ने मलाई लाग्छ ।
अधिवेशनमा मात्रै कार्यकर्ताहरु सम्म नेता पुग्दा कांग्रेस नेताको जिम्मेवारी पुरा हुँदैन । कार्यकर्तालाई साह्रो गाह्रो र अप्ठ्यारोमा सम्झिने , प्रतिस्पर्धी दलसंग बैचारिक बहस र तर्क गरेर पार्टीका एजेण्डाहरु राख्न सक्ने र समाजमा स्वच्छता र स्वस्थ प्रतिस्पर्धाको भावना राखेर अघि बढ्ने नेतृत्वको खाँचो हुन्छ त्यो कुरा कार्यकर्ताहरुले बुझ्नु भएको छ ।
कसले पार्टीलाई आवश्यक परेको बेला कस्तो भुमिका निर्वाह गर्यो ? कार्यकर्ताहरुमाझ कुन रुपमा आफ्नो जिम्मेवारीबहन गर्यो ? जस्ता प्रश्नहरुको उत्तर कार्यकर्ताहरुसंगै छ त्यसकारण अधिवेशनमा कोही भेटघाटका लागि आउनु जानु स्वभाविक हो , वास्तविक मुल्याङकन कार्यकर्ताहरुले गरिराख्नु भएकै छ । मुल्याङकनको नतिजा अधिवेशनमा छर्लङग हुनेछ ।

तपाइँ पनि कुनै पदको दाबेदार हुनुहुन्छ हो ?
म यहि ठाउँबाट आफ्नो राजनीतिक यात्रा शुरु गरेको मान्छे हुँ । मैंले वडादेखि क्षेत्रको सभापति सम्म जिम्मेवारी सम्हाल्दै गर्दा मैंले निर्वाह गरेको भुमिकाका बिषयमा यहाँका सबै नेता कार्यकर्ताहरु जानकारनै हुनुहुन्छ त्यसकारण मैंले अब लिनुपर्ने जिम्मेवारीका बिषयमा पनि उहाँहरुलेनै भन्दै हुनुहुन्छ । पहिला यो क्षेत्र अलि सानो थियो । भौगोलिक हिसाबमा माथिल्लो भेग मात्रै समेटिएको थियो अहिले तल्लो भेग गौरीगञ्ज सम्म यो क्षेत्र निर्धारण भएको छ ।
मैंले आफ्नो क्षेत्रमा जिम्मेवारी सम्हाल्दै गर्दा सके सम्म सबै ठाउँमा पुगेर कार्यकर्ताहरुको भावना बुझ्ने प्रयास गरेको छु । तलदेखि माथि सम्मनै सबैको भावना आगामी निर्वाचनमा उम्मेद्वार को बन्ला ? नबन्ला त्यो अलग राखेर पार्टीलाई विजयी गराउने सशक्त नेतृत्वको आवश्यकता महसुस गरिरहनु भएको छ । पार्टीलाई व्यक्तिगत स्वार्थ वा स्वार्थ राख्ने समुहका लागि उपयोग गर्ने परिपाटीले कांग्रेस अहिलेको हालतमा पुगेको छ ।
हामी सबैले अन्तरमनदेखि यो कुरा मनन गर्न सक्नु पर्छ । हामीभित्र पक्कै केही समस्या भयो, एक अर्कामा असहयोगको भावना बढ्यो, फलानाको उम्मेद्वार, ढिस्कनाको उम्मेद्वार भन्ने भावना जाग्यो त्यसैकारण पनि चुनावको परिणाम हाम्रो पक्षमा आउन सकेन । यस्तो बेला हामीले गम्भिर भएर आत्मसमिक्षा गर्नु आवश्यक छ । वास्तवमा पार्टी भित्र नेतृत्व परिवर्तनको खाँचो छ । मैंले आत्मसमिक्षा गर्दै कार्यकर्ताहरुमाझ पुग्दा मलाई क्षेत्रीय सभापति बन्नका लागि आग्रह भईरहेको छ । आम कार्यकर्ताहरुको सल्लाह र सुझावका आधारमा म अघि बढ्छु ।

तपाइँ स्थानीय चुनावमा उम्मेद्वार पनि हुनुभयो चुनावी परिणाम लज्जास्पद आयो कारण के थियो ? अब किन फेरी पार्टी नेतृत्वका लागि दौडिरहनु भएको छ ?
हामी सबैलाई थाहा छ मैंले पार्टीले टिकट दिएका आधारमा निर्वाचनमा मेयरको उम्मेद्वार बन्ने अवसर पाएँ । निर्वाचन हुनु अघि, निर्वाचन माहोल तातिँदै गर्दा र सम्पन्न हुँदै गर्दाका तीन अवस्थालाई मैले सुक्ष्म ढंगबाट तर फराकिलो मन बनाएर मुल्याङकन गरेको छु ।
निर्वाचन परिणाम हामीले पुरा पुरी आफ्नो पक्षमा ल्याउन सकेनौं, यसका पछाडीका कारणहरुबारे पनि हामी जानकार छौं । निर्वाचन ताका र निर्वाचनपछि पनि हाम्रो प्रतिस्पर्धी दल कम्युनिष्ट पार्टीसंग हाम्रो पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुको निकटता, उठबस र खुलेआम समर्थनले हामी कुन धरातलमा रहेछौं भन्ने प्रष्ट भइसकेको छ ।
चुनावमा हामीले प्राप्त गरेको मत संख्यालाई वडागत रुपमा विभाजन गरेर हेर्यौ भने पनि प्रष्ट हुन्छ । यो कुरालाई पनि कार्यकर्ताहरुले नजिकबाट नियाल्नु भएको छ । फेरी पनि ति सबै कुराको लेखाजोखा गर्दै पार्टीलाई सशक्त बनाएर लैजाने अवसर पनि हो यो अधिवेशन । त्यसकारण कार्यकर्ताहरुले ति सबै कुराको एकमुष्ट जवाफ अधिवेशन मार्फत दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।
अबको तपाइँको एजेण्डा चाहिं के हो ?
यो मेरो मात्रै एजेण्डा होइन अधिवेशनमा मेरो तेरो एजेण्डा स्थापित हुने कुरा पनि होइन समग्रमा पार्टी नेतृत्व परिवर्तनको पक्षमा आम कार्यकर्ताहरु रहेको मैंले पाएको छु । आम कार्यकर्ताको भावना भन्दा बाहिर म पनि जान सक्दिन त्यसकारण अबको १४ औं अधिवेशन मार्फत पार्टी भित्रका सबै तिक्तताहरुलाई मेट्दै गुटगत अभ्यास तोड्दै सिंगो पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीसंग मुकाबिला गर्न सक्ने सक्षम नेतृत्व स्थापित गरौं, यो मेरो मात्रै होइन सिंगो कांग्रेस कार्यकर्ताको एजेण्डा हो ।

निष्कर्ष न्युजबाट

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ८ : ५९ बजे