५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

राजवंशी समुदायमा विवाह गर्ने पद्धति थरिथरिका


५ श्रावण २०७७, सोमबार  

0
Shares

20200720_163331

सामाजिक अभियन्ता लखन राजवंशीकाे फेसबुकबाट तस्बिर लिईएकाे हाे ।

आत्माराम राजवंशी /
गौरीगंज ५, साउन / हाम्रो समाजमा कति प्रकारको विवाह गर्ने चलन होलान ? कसैले तपाईलाई सोध्यो भने उत्तर हुन सक्छ – मागी, प्रेम अथवा कानुनी विवाह । तर, हामो समाजमा विवाह गर्ने चलन यति मात्रै छैनन । समाजमा यस्तो पनि समुदाय छ, जसको विवाह गर्ने चलन छ आठ प्रकारको छ ।

झापा, मोरंग, सुनसरी जिल्लामा बसोवास गर्ने राजवंशी समुदायमा यो चलनबाट विवाह भएको देख्न सकिन्छ । यस समुदायमा मागी विवाह (बरबुध पक्षबीच समझदारीमा भएको विवाह), धन्निमा विवाह (कन्याकेटीको घरमा वर आएर विवाह गरेर बस्ने), डाङ्गुआ विवाह (विधवासंग घरमा लोग्ने मान्छे आइ घर जम गर्ने), दामेदुमाे विवाह (कन्या केटी आर्थिक अभावका कारण बरको घरमा ल्याई विवाह गर्ने), घरढुक्का विवाह (केटाकेटी मन पराएर केटीले आफूखुशी केटाको घरमा गई बस्ने), भातार धरा विवाह (केटाकेटी मन पराइ बाहिर नै विवाह गर्ने), किआ विवाह (विधवा महिलालाई केटाको घरमा ल्याई विधि विधान गरी घरजम गराइदिने विवाह), र जाँघ विवाह वा समद विवाह ।
राजवंशी समुदायको विवाह संस्कार आफ्नै मौकिलतामा आधारित भएको राजवंशी समुदायका अगुवा पर्वत  राजवंशी बताउँछन् । ‘सुन्दा त अनौठो लाग्न सक्छ तर संस्कार भन्ने कुरा नराम्रो होइन राजवंशी भन्छन् –‘यसलाई जर्गेना गर्नुपर्छ ।’
राजवंशी समुदायमा विवाह गर्ने चलन धेरै भएपनि वर्तमान अवस्थाका त्यस्तो नरहेको राजवंशी युवाहरु बताउँछन् । काेचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष तथा सामाजिक अभियन्ता अभय राजवंशी भन्छन्– ‘पहिलाको जमानामा यी संस्कार थिए तर हिजो आज हराउँदै गएका छन्  ।’ हाल राजवंशी समुदायमा मागी विहेको नै बढी चलन रहेको उनले बताए ।
मागी विहे गर्ने चलन रहे पनि नयाँ पुस्ताका युवा युवतीहरु प्रेम विवाह गर्न रुचाउँछन् । उनीहरु पारिवारिक डरका कारणले प्रेम विवाहको प्रस्ताव घर परिवारमा राख्न सक्दैनन् ।
मागी विहे परम्परादेखि चलिआएकाले यस समुदायका मानिसहरु प्रेम विवाहलाई सहजै स्वीकार्दैनन् । मागी विहेमा कन्या (बेहुली) र दुलाहा (बेहुला) को खोजी गरी दुवै परिवारको विवाहमा सहयोगीको भूमिका खेल्ने मध्यस्त कर्ता हुन्छ जसलाई कारुवा (लमी) भनिन्छ । करूवाले मागी विवाहमा अहम भूमिका खेलेको हुन्छ । करूवाले शुभदेखा तिलक र डालीखरा यी तीन प्रमुख कार्यमा सहयोगीको भूमिका खेल्छ । विवाहमा दुलहा दुहलीले आफ्नै परम्परागत पोशाक लगाउँछन् । आफ्नै परम्परागत ढोल ढाल (बाजागाजा)का साथ बैरात (जन्ती) जाने गर्छन् ।

विवाहमा आफ्नो गच्छे अनुसार नाता कुटुम्बलाई निमन्त्रणा गरी भोज खुवाइन्छ । विवाह सम्पन्न गराएको उपलक्ष्यमा लमीलाई नयाँ लुगा फाटा किनिदिने प्रचलन छ । यस समुदायले बैशाख, जेठ, असार र साउन महिनालाई विहे गर्ने महिनाको रुपमा लिएको पाइन्छ । तर, पछिल्लो समयमा पुस, माघ र फागुन महिनामा पनि राजवंशी समुदायले विवाहवारी गर्ने गरेका छन् ।
विवाह गरेको सालको भदौ महिना बेहुलीले माइतमा गएर बस्नुपर्ने प्रचलन रहेकाे छ । मागी विवाहमा बेहुला र बुहेलीको पोरुआ (कुलदेवता) हेरेर मात्र विवाह हुने गरेको छ । दुवै (बेहुला बेहुली)को घरको कूल देवता एउटै भए बैबाहिक जीवन सुखमय हुने विश्वास रहेकाे पाईन्छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १२ : १२ बजे